काठमाडाैं— धनुषामा एक व्यक्तिले श्रीमतीको हत्या गरेर घरभित्रै पुरेको ६ महिनापछि खुलासा भएको छ । हत्याको २० दिनपछि उनले घरभित्र गाडिएको शव निकालेर टुक्रा पारी अन्यत्र फालेका थिए ।

सहिदनगर नगरपालिका ७ नेमुवाटोलकी ५० वर्षीया रेखादेवी ठाकुर गएको कात्तिक १० गतेदेखि बेपत्ता थिइन् । 

उनी बेपत्ता भएको भन्दै छोराहरूले प्रहरीमा खबर गरेका थिए। त्यसपछि प्रहरीले रेखादेवीको खोजी सुरु गरेको थियो ।

तर, बेपत्ता भनिएकी रेखादेवीको उनकै श्रीमान् ५५ वर्षीय सुदीप ठाकुरले हत्या गरेको धनुषाका प्रहरी प्रमुख एसपी भुवनेश्वर तिवारीले बताए ।

गत कात्तिक १० गते पत्नी रेखादेवीको हत्या गरी घरभित्रै पुरेर उनी भारततर्फ भागेका थिए । २० दिनपछि फर्केर दाइसँग मिली शव निकालेर फालेको एसपी तिवारीले बताए । 

रेखादेवीको हत्या आरोपमा प्रहरीले उनका श्रीमान् सुदीप ठाकुर र सुदीपका दाइ ६० वर्षीय उदित ठाकुरलाई आइतबार पक्राउ गरेको छ । उनीहरूले हत्या गरेको स्वीकारेको प्रहरीले बताएको छ । 

त्यसपछि भारत भागेका उनीहरू २० दिनपछि फर्केर आएका थिए। र, कात्तिक ३० गते राति घरभित्रबाट शव निकाली टुक्रा बनाएर नजिकैको कट्टी नदी किनारको झाडीमा फालेर भारततिरै भागेको एसपी तिवारीले बताए । 

उनका छोरा २८ वर्षीय मोहन ठाकुरले घर पुगेर हेर्दा भुइँ लिपेको देखेपछि खाल्डो खनी हेरेका थिए । तर, त्यहाँ केही नभेटिएपछि उनीहरू चुप लागेर बसेका थिए ।

सुदीप र उदित फर्किएपछि छोराले नै सुराक दिएका थिए । मृतकका छोरा मोहन ठाकुरले बुवा र ठूलोबुबा घर फर्किएको सूचना दिएपछि प्रहरीले पक्राउ गरेर सोधपुछ गरेको थियो । 

सोधपुछका क्रममा उनीहरूले हत्या गरेको स्वीकार गर्दैै शव गाडेको र पछि निकालेर फालेको स्थान पनि देखाएका थिए । 

फालिएको ठाउँमा कंकाल फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले कर्तव्य ज्यानको कसुरमा अदालतबाट म्याद लिएर अनुसन्धान अगाडि बढाएको छ । 

कात्तिक १० गते राति १ बजे हत्या गरेर घरभित्रै पुरेको सुदीपले प्रहरीसँगको सोधपुछमा बताएका छन् । 

कात्तिक ३० गते राति १२ बजे घरभित्र पुरेको शव निकालेर काटेर टुक्राटुक्रा पारी कट्टी नहरको पूर्वपट्टिको खोल्सीमा फालेको बताएका छन् । 

आइतबार बिहान १० बजेतिर उनीहरूलाई घटनास्थलमा लिएर गएपछि प्रहरीले कंकाल र हत्यामा प्रयोग भएका हतियार बरामद गरेको छ ।

परपुरुषसँग सम्बन्धको आशंकामा उनले पत्नीको हत्या गरेको बयान दिएका छन् ।

यस्तो छ सुदीपको प्रारम्भिक बयान
मेरा ३ बहिनी छोरी र २ भाइ छोरा गरी ५ जना सन्तान छन् । छोरीहरूमध्ये जेठी शोभा ठाकुरको भारतको दरभंगामा विवाह भएको छ । माइली छोरी दीपा ठाकुरको बिर्ता डरखोरियामा विवाह भएको र कान्छी छोरी रूपा ठाकुर सखुवा दोनवारी टोलमा विवाह भएको थियो । 

जेठो छोराको विवाह भइसकेको छ, कान्छाको विवाह भएको छैन । छोराहरू जनकपुरस्थित सीताचोकमा कोठा भाडामा लिएर मजदुरीको काम गरी बस्दै आएका छन् ।

कहिलेकाहीँ घरमा आउँछन् । हामी श्रीमान्–श्रीमती घरमा राम्रैसँग बस्दै आएका थियौँ । पहिले त हाम्रो सम्बन्ध पनि राम्रै थियो । 

घरको आर्थिक अवस्थाको कारण १० वर्ष मलेसियामा काम गरेर म फर्किएको थिएँ । विदेशबाट फर्किएको पनि १५ वर्ष भइसक्यो । विदेशबाट फर्किएर सुुरुमा गाउँमै साइकल पसल खोलेको थिएँ। पछि घर बनाउन थालेँ । आफू घर बनाउनतिर लाग्दा पसल राम्रो चल्न छाड्यो र बन्द गर्नु पर्ने अवस्था भयो । 

त्यसपछि गाउँघरमै फर्निचरको काम गर्दै बसिरहेको थिएँ । त्यसैको आम्दानीले घरखर्च टारिरहेको थिएँ । 

श्रीमती रेखादेवी ठाकुर धेरै जसो छोरीहरूकै घरमा बस्थिन् । उनी छोरीहरूकोमा बस्न पालैपालो जान्थिन् । धेरैजसो कान्छी छोरीकोमा बस्थिन् । म काममा जान्थेँ, श्रीमती अर्कै पुरुषसँग नजिक भएको चाल पाएँ ।

त्यो थाहा पाएपछि मैले धेरै सम्झाएँ । त्यसपछि मैले श्रीमतीलाई कोरारी पोखरी नजिकको साइकल पसलमा राखेको थिएँ । त्यहाँ राखेपछि पनि उनको बानीमा सुधार आएन । उनलाई अर्कै पुरुषसँग फेला पारेँ । गाउँमा दुवै जनालाई कुटपिट गरेर सम्झाइबुझाई गरी त्यसपछि पनि आफैँसँग राखेको थिएँ । 

यहीबीचमा मेरी कान्छी छोरीको मृत्यु भयो । त्यता तिरबाट पनि उनको बारेमा राम्रो सुनिनँ । त्यसपछि पनि मैले उनलाई सम्झाइबुझाई गरेँ । 

मेरो र श्रीमतीको जतिबेला पनि झगडा परिरहन्थ्यो । हाम्रो सम्बन्ध बिग्रँदै गएको थियो । उनले बुहारीलाई पनि राम्रो गरिनन् । घरमा तनाव बढिरहेको थियो । 

हाम्रो घरमा ऋण पनि थियो । ऋण तिर्न पनि छोराहरूले सहयोग गरेनन् । 

घरजग्गा बेचेर अरु ऋण तिरेँ । ५/६ लाख रुपैयाँ तिर्न बाँकी थियो । ऋणको तनावले मलाई निद्रा लागेको थिएन । छोरालाई विदेश पठाएपछि घर खर्च उसले हेरेको थियो। घरजग्गा बेचेर ऋण तिर्नु पर्दा मलाई साह्रै पीर लागेको थियो। 

कात्तिक १० गते राति पनि श्रीमती र मेरो झगडा परेको थियो। घरमा हामी दुई जना मात्रै थियौँ। दिउँसो दाउरा चिरेर राखेको बन्चरो नजिकै थियो। रिसको आवेगमा मैले त्यसैले हानेर उनको हत्या गरेँ। श्रीमतीको घटनास्थलमै मृत्यु भयो। 

रातभरि म निदाउन सकिनँ। भोलिपल्ट बिहान घरभित्रै ५ फिट ५ इन्च जतिको खाल्डो खनी पुरिदिएँ। अनि घटनाको बारेमा दाजु उदितलाई जानकारी गराएँ । 

दाजुले सुरुमा मलाई किन यस्तो गरेको भनेर गाली गर्नुभयो । तर, त्यसपछि हामी दाजुभाइ नै भारतमा गएर काम गर्न थाल्यौँ । श्रीमतीको शवको बारेमा चिन्ता लागेर काम गर्न खासै मनै लागेन । घटनाको २० औँ दिन कात्तिक ३० गते हामी दाजुभाइ नै घर आयौँ । 

श्रीमतीको शव गाडेको ठाउँमा हेर्दा गन्ध आइरहेको थियो । त्यसपछि राति १२ बजेतिर खाल्डोबाट शव निकालेर टुक्राटुक्रा पा¥यौँ। अनि, २ वटा बोरामा दाजु भाइले लगेर नेमुवाटोल धबौली कट्टी सिँचाइको पारी खोल्सामा बोराबाट १/१ वटा टुक्रा निकालेर छरेर फाली दियौँ ।

त्यसपछि घर फर्किएर दाजुभाइले नै खाल्डो पु¥यौँ । सबै कोठाहरू राम्रोसँग लिपपोत गररेर नुहाइधुवाइ ग¥यौँ । अनि साइकलमा म कम्लैया बहिनीको घर गएँ । 

त्यहाँ साइकल राखेर टेम्पो चढेर भारतको जयनगर रेल्वे स्टेसन गएर साँझको सवा ५ बजे रेल चढेर दिल्ली गएँ । दिल्लीमा गएर भाँडा बनाउने कम्पनीमा काम गरेँ। त्यो कम्पनीमा काम गर्न मन नलागेपछि दाजुभाइ नै डेढ महिनापछि नेपाल भारतको सिमानामा आएर काठको काम गर्दै आएका थियौँ । 

मैले श्रीमतीको हत्या गरेको एक महिनापछि मंसिर ७ गते छोराबुहारी घर पुगेका रहेछन् । घरमा ताल्चा लागेको देखेपछि गाउँमा सोधेछन् । 

गाउँलेले छोरीहरूको घरमा गएको हुनसक्ने बताइदिएका रहेछन् । पहिला पनि हामी छोरीहरूको घरमा बस्दै आएका थियौँ । तर उनीहरूले घरको ढोका खोलेर हेर्दा घर लिपपोत गरेको देखेपछि उनीहरूलाई शंका लागेको रहेछ । 

छोराले प्रहरी बोलाएर घरभित्र खनेको स्थान देखाएछ । उनीहरूले लिपपोत गरिसकेको त्यो स्थानमा खनेर हेरेछन् । तर केही पनि फेला परेन । 

अनि हामी दुवै भारततिर गएको हुन सक्ने लागेर वास्ता नगरी बसेका थिए । तर आइतबार मलाई र दाजुलाई सँगै भेटेपछि उनले आमा सोधे । हामी केही पनि बोलेनौँ । त्यसपछि शंका लागेर प्रहरीलाई खबर गरेछन् । अनि, हामीलाई पक्राउ गरेर प्रहरीले ल्याएको हो । नेपालखबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय