काठमाडौँ— नेपाल प्रहरीले चामलको बोराभित्र लुकाएर ल्याएको लागुऔषधसहित दुईजनालाई पक्राउ गरेको छ ।

प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरले चामलको बोराभित्र लुकाएर ल्याएको लागुऔषधसहित सप्तरीको खड्क नगरपालिका–११ बनौली बस्ने ४७ वर्षीय रामलोचन मुखिया र सर्लाहीको बरहथवा नगरपालिका–११ का ४७ वर्षीय कमल अधिकारीलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

ब्युरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक रामेश्वर कार्कीले उपत्यका भित्रिने गाडीहरू नागढुङ्गा नाकामा जाँचका क्रममा चामलभित्र लुकाएर ल्याएको लागुऔषधसहित उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए । प्रहरीले नागढुङ्गामा मुखियालाई पक्राउ गरेपनि मुखियाको बयानका आधारमा काठमाडौँमा लागुऔषध बिक्री वितरणमा संलग्न अधिकारीलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक कार्कीले बताए ।

पक्राउ परेका व्यक्तिसँग प्रहरीले आठ सय ४२ एम्पुल डाइजेपाम, छ सय ८५ एम्पुल नुर्फिन, नौ सय ५१ एम्पुल फेनार्गन र तीन हजार तीन सय आठ ट्याब्लेट मनोद्दीपक पदार्थ नाइट्रोभेट बरामद गरेको छ ।

प्रहरीले पक्राउ परेका दुवैलाई लागुऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम जिल्ला अदालत काठमाडौँबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय