धनुषा— प्रथम मदन भण्डारी कप राष्ट्रिय महिला हक्की प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल आर्मीले उचालेको छ । आईतबार भएको प्रतियोगिताको फाइनल खेलमा आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीलाई स्तब्ध पार्दै त्रिभुवन आर्मी क्लव उक्त प्रतियोगिताको च्याम्पियन बनेको हो ।

आर्मीको जितमा सितामाया बल र सिमा खड्काले समान २–२ गोलको योग्दान गरे । आयोजक मदन भण्डारी एकेडेमीका लागि मधु राईले खेलको ४८ र ४९ औं मिनेटमा लगातार दुई गोल गरेपनि अन्य खेलाडीले टिमलाई सफलता दिलाउन भने सकेनन् ।

प्रतियोगिताको उपाधि चुमेका आर्मी टोलीले नगद १ लाख ५० हजार रुपैयासहित पुरस्कृत भए । उपविजेतामा सीमित आयोजक मदन भण्डारी स्पोट्स एकेडेमीले १ लाख रुपैया र शिल्ड पाउँदा प्रतियोगिताको तृतिय स्थान सुरक्षित गरेका सुदुरपश्चिमले ५० हजार रुपैया पुरस्कार पाए । तृतिय स्थानका लागि शनिवार भएको खेलमा सुदुरपश्चिमले लुम्बिनीलाई ५–० गोलले हराएको थियो ।

प्रतियोगिताका बिजेतालाई नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल, मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्य, नेपाल हक्की संघका अध्यक्ष अनिल शर्मालगायतले पुरस्कार प्रदान गरे ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी आर्मीकी सरस्वती तामाङ घोषित भए । आर्मीकै कुश्मा राना मगर प्रतियोगिताको उत्कृष्ट गोलकिपर विद्यामा पुरस्कृत भइन् । उत्कृष्ट रक्षकमा आयोजक टोलीकी सपना सिंह पुरस्कृत भइन् भने लुम्बिनीकी अनन्या वर्णवाल इमर्जिङ खेलाडीको उपाधिबाट पुरस्कृत भए ।

यस्तै आर्मीकी सितामाया बल, आयोजककी मधु राई र सुदूरपश्चिमकी बुलबुल कुमारीले सर्वाधिक गोल कर्ताको पुरस्कार पाए । उनीहरुलाई जनही १० हजार रुपैया नगद र मेडलसहित पुरस्कृत गरिएको जनाइएको छ ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा फाल्गुन १४ गतेदेखि धनुषाको महेन्द्रनगरस्थित क्षीरेश्वर जनता माध्यमिक विद्यालयको खेल मैदानमा सुरु भएको उक्त प्रतियोगितामा आठ टिम सहभागी थिए । कर्णाली बाहेक ६ प्रदेश, एक विभागीय टोली नेपाल आर्मी र एउटा आयोजकको गरी ८ वटा टिमले प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय