२०४३ सालको सन्दर्भ हो– सामुदायिक विद्यालयमा कक्षा ८ मा पढ्न मासिक ९ र ९ पढ्न १० रुपैयाँ तिर्नुपथ्र्यो । त्यो शुल्क पनि तिर्न नसकेर कयौंपटक कक्षा बाहिर निस्कनु परेको त्यो समयको पीडा सम्झँदा अहिले पनि बाबुराम फुयाँलको आँखा रसाउँछ । भोजपुर याकुमा जन्मिएका बाबुराम गाउँमै एसएलसी उत्तीर्ण हुँदासम्म किताबसमेत किन्न पाएनन् । बाबुराम भन्छन्, ‘त्यतिबेला नि: शुल्क शिक्षा लागू थिएन । विद्यालयमा शुल्क तिर्नुपथ्र्यो । किताबहरू किनेरै पढ्नुपथ्र्यो । किनेर पढ्न सक्ने क्षमता हामीसँग थिएन ।’

६ कक्षासम्म नाङ्गै खुट्टा हिँडेर विद्यालय पुगेको बाबुराम सम्झन्छन्। गाईबस्तु बेचेर विद्यालयको शुल्क तिरेको उनी सुनाउँछन् । ‘१४ सयमा गाई पाइन्थ्यो । बाख्रापाठा चार–पाँच सयमा बिक्थ्यो। त्यो पनि व्यापारी गाउँमै आएर जति भन्यो, त्यतिमै बिक्थ्यो । नजिकमा बजार थिएन’, उनी भन्छन्, ‘केही बेच्नुपरे ८ घण्टा हिँडेर चम्पे र च्याङ्ग्रेबजार पुगेर बस्तुभाउ बेच्नुपर्ने बाध्यता थियो ।’

विपन्न परिवारमा हुर्केका बाबुराम पाइलापाइलामा हन्डर खाएर जसोतसो १० कक्षासम्म पढे । साथीकै किताबबाट पढेर उनी तृतीय श्रेणीबाट एसएलसी उत्तीर्ण गरे । ‘मभन्दा पनि कमजोर परिवारका १५–२० साथीले त पढ्नै पाएनन् । कतिपय साथी भोको पेट भएर पनि साक्षर भयौं’, उनी थप्छन्, ‘बुबाआमाले एसएलसीसम्म पढाउनुभयो। त्यसलाई म ठूलो उपलब्धि मान्छु ।’

एसएलसीबाट पढाइलाई अगाडि बढाउन बाबुरामले धेरै कोसिस गरे । तर, परिवारको आर्थिक अवस्थाले उनी रोकिन बाध्य भए । दुई वर्षसम्म उनले गाउँमै आफ्नो ८ रोपनी जग्गामा खेतीकिसानी गरे । खेतीबाट खासै उत्पादन भएन । त्यसले आर्थिक अवस्था सुध्रिएला जस्तो उनलाई लागेन । त्यसमाथि पढ्न नपाएको पीडाले बाबुरामलाई पोलिरहेको थियो । मावलीमा पढ्न पाइने आसमा २०४८ सालमा उनी तराई झरे । झापाको तोपगाछीमा रहेको मावलीको अवस्था पनि ठीक थिएन । त्यहाँ झन् पढ्न पाउने उनले कुनै छाँटकाँट देखेनन् । पढ्ने आसमा दुर्गमबाट तराई झरेका बाबुरामलाई निराश बनायो ।

बित्दो समयसँगै उनलाई आफ्नो पढाइभन्दा भाइबहिनीलाई पढाउने जिम्मेवारी थियो । झापामै अधियामा ८ बिघा जग्गामा खेतीकिसानी गर्न सुरु गरे । ‘त्यसपछि आमाबुवालाई पनि तराईमा ल्याए । पहाडमा उत्पादन थिएन । तराईमा अअिलि भए पनि गरेर खानुपर्छ भनेर ल्याएँ’, भारी स्वरमा बाबुराम भन्छन्, ‘घरको जेठो छोरा भएकाले मेरो काँधमा भाइबहिनीलाई पनि पढाउनुपर्ने जिम्मेवारी थियो । आफ्नो पढाइलाई रोकेर भए पनि सबै भाइबहिनीलाई एसएलसीसम्म पढाए ।’ जिम्मेवारीसँगै पढ्ने हुटहुटीमा बाबुराम २०५१ सालमा पहिलोपटक काठमाडौं आए । ‘कसैलाई नभनी घरबाट सय रुपैयाँ लिएर काठमाडौंका लागि निस्केको थिएँ । गाडीको सबैभन्दा पछाडिको सिटमा बस्दा ७० रुपैयाँ भाडाले पुग्थ्यो’, मुस्कुराउँदै उनी सुनाउँछन्, ‘एक्लो ज्यान काठमाडौं ओर्लिए। त्यतिबेला मसँग न झोलाझम्टी थियो न त फोनफान ।’

पहिलोपटक काठमाडौंमा पाइला टेकेका उनी कामको खोजीमा लागे । भद्रकालीमा ‘बाजेको चिया पसल’ प्रसिद्ध थियो । त्यहाँ चिया र पाउरोटीमा ७ रुपैयाँ खर्चिदा बाबुरामले कामको सुइँको पाए । बिहानको समय थियो, चिया पसलका बाजेले नजिकै जम्मा भएका युवाको समूह भेटाउँदै काम लाग्ने विश्वास दिलाए । बाबुराममा थोरै आस पलायो । ती युवा बागमतीमा रातभरि बालुवाको भारी बोक्थे । राति १२ बजेसम्म काम गर्नुपर्ने र भारी बोकेको आधारमा पैसा दिने सर्तमा बाबुरामलाई उनीहरूले कोटेश्वरतर्फ डोर्‍याए । ‘त्यहाँ एउटा झाप्रो र’छ । ८–१० जना बस्दा रैछन् । खाट पनि थिएन । त्यहीदिन काममा लिएर गयो मलाई’, बाबुराम भन्छन्, ‘बालुवा उठाउनु पथ्र्यो । राति १२ बजेतिर टिपर आएर लान्थ्यो । १ बोरा उठाउँदा ५० पैसा दिइन्थ्यो । साह्रै दु: ख कष्ट गर्दै १५ दिनसम्म काम गरें ।’ त्यो अवधिमा अढाइ सय रुपैयाँ कमाएको बाबुरामलाई सम्झना छ ।

त्यहाँबाट काँडाघारीमा एक टिपर बालुवा उठायो भने ७० रुपैया पाउने सुनाएछन्। बाबुरामलाई पैसाको खाँचो थियो– उनी त्यतैतिर लागे । ‘त्यहाँ दुई महिना काम गर्दा २ हजार ९ सय रुपैयाँ बचाएँ’, उनले भने । त्यसपछि उनले आफैं कोठाभाडा लिएर काम खोज्ने निधो गरे । डिल्लीबजारमा अगाडिबाट जस्ता मात्रै लगाएको र झ्यालढोका पनि नभएको घर । चिर्पटहरू जोडेर बनाएको खाट । ‘त्यही घरमा महिनाको १ सय ३० रुपैयाँ तिर्नेगरी बाबुरामले कोठाभाडा लिए । क्रमश:  ९ सय रुपैयाँका भाँडाकुँडा किनें,’ उनी भन्छन् । पढ्ने हुटहुटी उनमा थोरै पनि कम भएको थिएन । भन्छन्, ‘त्यतिबेला संयोग भनौं म बसेको कोठासँगै बस्ने विपिन दुलाल आरआर क्याम्पसमा पढ्दा रहेछन् । उहाँले मेरो इच्छा देखेर आरआर क्याम्पस पुर्‍याइदिनुभयो ।’

त्यतिबेला भर्ना शुल्क ४ सय ८० रुपैयाँ तिर्नु परेको उनी सम्झन्छन् । पहिलो सत्रको संगठनका साथीहरूले बाँकी फिस मिनाहा गराइदिए तर दोस्रो चरणमा फेरि भर्ना हुन १३ सय रुपैयाँ लाग्ने भए पनि रकम नभएकाले पढाइ नै छोड्नु पर्‍यो उनले । उनले गार्मेन्टमा काम सुरु गरे । उनले ३५ सय प्रतिमहिनाको दरले तीन वर्ष काम गरे । कामसँगै बाबुरामलाई विगतको पीडाले सामाजिक काम गर्नुपर्छ भनेर उक्साइरहेको थियो । त्यही क्रममा गार्मेन्टको काम छोडे । उनलाई २०५६ सालमा पशुपतिमा रहेको पुनस्र्थापना केन्द्रसँग जोडिए । संस्थाहरूलाई उनले स्रोत जुटाइदिने काम गरे । भन्छन्, ‘तर त्यो पारदर्शी भएन । मन टुट्यो ।’

द्वन्द्वकालमा धन्न ज्यान जोगियो  

२०५६ सालमा माओवादी र सेनाबीच द्वन्द्व भइरहेको थियो । त्यही समय बाबुराम काठमाडौंमा बेरोजगार भएर घेरिए । उनी कोटेश्वरमा व्यापारीसँग सहयोग माग्न पुगे । उनी भन्छन्, ‘त्यहाँबाट फर्किंदा नेपाल आर्मीले आँखामा पट्टी बाँधेर चारपाटा कसेर ६ महिना १३ दिन बन्दी बनायो ।’ बन्दीको बेला राति सुत्दा पनि सेनाले आफ्नो हात नखोलेको उनको भनाइ छ । ‘माओवादी हो भनेर निर्मम कुटपिट गर्‍यो । सेनाले कानमा लाठीले हिर्कायो । अहिले कान सुन्दिनँ । त्यो कहानी भनी साध्य छैन’, बोली लर्बराउँदै उनी थप्छन्, ‘लास्टमा निर्दोष भनेर सेनाले उनै कोटेश्वरका व्यापारी दाइलाई जिम्मा लगायो । मलाई तीनकुनेमा ल्याएपछिमात्र आँखाको पट्टी खोलिदियो । तर मेरो आँखै खुलेन । धन्न ज्यान चैं जोगिएछ ।’ घरमा ६ महिना आराम गरे उनले । २०५८ देखि उनले पुन:  गार्मेन्टमा काम थाले । ‘त्यो बेला गार्मेन्ट ठेक्का लिएर गरें, मासिक ४०–५० हजार कमाएँ’, उनी भन्छन् ।

पैसा पो थिएन  !  

आर्थिक विपन्नताका कारण बाबुराम विद्यालय पढ्दा विद्यार्थी लगाएर बाटो खनाउँथे । ‘८ कक्षा पढ्दै गर्दा बाटो खन्ने अभियान चलाएँ । त्यतिखेर भीरबाट खसेर हातखुट्टा भाँचिन्थ्यो’ बाबुराम भन्छन् ‘पछि शिक्षक पनि लाग्नुभयो। अनि हस्पिटल जाने बाटो खन्यौं । हरेक शुक्रवार विद्यार्थीलाई बाटोको अभियानमा लगाउँथ्यौं ।’ काठमाडौं पुग्दा पनि बाबुरामलाई गाउँका पीडाले तान्थ्यो । २०५६ सालसम्म काठमाडौंमा नबिक्ने खासाका कपडा मागेर उनी गाउँ लगेर बाँड्थे । ‘नबिकेका लुगाफाटा धनकुटासम्म लान्थें। त्यहाँबाट बोकेर पैदलै गाउँमा पुर्‍याएर गरिबहरूलाई कपडा बाँड्थें’, उनी सुनाउँछन् ।

आफू पढ्न पाएनन्, धेरैलाई पढाए  

पैसाकै अभावमा बाबुराम उच्च शिक्षा पढ्न पाएनन् । एसएलसीमै सीमित उनले धेरै बालबालिकालाई भने विद्यालय पुर्‍याए । ‘सुरुमा सडकपेटीमा रहेका बालबालिकालाई विद्यालय पुर्‍याएँ’, सम्झन्छन्, ‘तिनीहरूलाई पढाइसँगै ड्रेस खर्च दिन्छु भनेर अभिभावक खोजेर घर पठाएँ ।’ १ सय ९० बालबालिकालाई विद्यालयसँग जोडेको उनलाई सम्झना छ ।

सेवा गर्न छुट्टै संस्था  

दीनदु:खीलाई सहयोग गर्न बाबुराम काठमाडौंमा सहयोगी हातहरू खोज्थे । २०६० सालमा हुलासचन्द गोल्छाले बाबुरामलाई छुट्टै संस्था खोलेर सञ्चालन गर्न सुझाए । ‘संस्था खोल्नुस् सहयोग गर्छु भन्नुभयो तर वातावरण बनेन, न पैसा न त टिम । अन्य संस्थालाई सहयोग गरें ।’ सर्ट च्यातिएको देखेर इन्जिनियर महेशकुमार सिंहले उनलाई एक सेट कपडा सहयोग गरे । ‘इच्छा र जोश देखेर उहाँकै सहयोगमा २०६८ सालमा बाल सचेतना केन्द्र नेपाल दर्ता गरें’, बाबुराम भन्छन् ‘यो संस्थामार्फत अहिलेसम्म हामीले धेरै काम गरिसकेका छौं ।’

कोरोना महामारीमा लकडाउन हुँदा गरिब निमुखाको चुलो बाल्नेदेखि असहायहरूलाई राहत वितरण आदि कैयौं काम उनले गरे । जतिबेला बालबालिकालाई प्राथमिकतामा राखें । ‘मेरो नेतृत्वमा संस्था छ जसमार्फत साथीहरू सक्रिय भएर लाग्नुभएको छ’, भन्छन्, ‘दु: खीहरूको मुहारमा खुसी ल्याउँदा विगतका दु: खपीडा सबै बिर्सिन्छु ।’ बाबुरामसँग लेखापढीको लाइसेन्स पनि छ । निवेदन लेख्नेदेखि वकिलहरूसँगको समन्वयमा मुद्दा लेख्नेसम्मको काम गर्छन् उनी । ‘त्यसबाट थोरबहुत आम्दानी हुन्छ । गरिब निमुखासँग पैसा नलिई निवेदन लेखिदिने, वकिलहरू गुहारेर वकालत गराइदिने पनि गरेको छु’, उनी भन्छन् । श्रीमती र बुवाआमालाई झापाको कमल गाउँपालिका–२ स्थित घरमा राखेर बाबुराम काठमाडौंको बौद्धमा डेरा गरी बस्छन् । अन्नपूर्ण पोस्ट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय