काठमाडौँ— लेबनानविरुद्ध २–१ को पुनरागमन जित निकाल्दै नेपाल पश्चिम एसियन फुटबल फेडेरेसन महिला च्याम्पियनसिप (वाफ)को फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार साउदी अरेबियाको प्रिन्स अब्दुल्लाह अल फैसल रङ्गशालामा भएको खेलमा नेपाल १–० ले पछि परेको अवस्था उल्ट्याउँदै फाइनल यात्रा तय गरेको हो । 

नेपालको जितमा सावित्रा भण्डारी र प्रीति राईले गोल गरे । त्यसअघि नेपालकै पूजा रानाबाट भएको आत्मघाती गोलबाट लेबनानले अग्रता बनाएको थियो । ३८औँ मिनेटमा पूजाले ‘ब्याक पास’ दिएको बलमा गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बा चनाखो नरहँदा नेपालले गोल व्यहोरेको थियो । 

तर, ७६औँ मिनेटमा सावित्रा भण्डारीको गोलमा नेपाल लयमा फर्कियो । इन्जुरी समयको अन्तिम मिनेटमा प्रीति राईले उत्कृष्ट गोल गरेपछि नेपालले २–१ को रोमाञ्चक जित निकाल्दै फाइनल यात्रा तय गरेको हो ।

नेपालले अब उपाधिका लागि जोर्डनसँग खेल्नेछ । यसअघि जोर्डनले मंगलबार नै भएको पहिलो सेमिफाइनलमा प्यालेस्टाइनलाई ५–० ले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।

समूह ‘बी’ मा रहेको नेपालले आफ्नो पहिलो खेलमा सिरियालाई ४–१ गोलले हराएको थियो । दोस्रो खेलमा नेपालले इराकमाथि ५–० गोलको सजिलो जित हात पारेको थियो । समूहगत चरणको अन्तिम खेलमा नेपालले प्यालेस्टाइनलाई ४–० गोलले पराजित गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय