महोत्तरी — लामो समयदेखि जग्गा प्राप्तिमा अल्झिएको बर्दिवास मेडिकल कलेजको पूर्वाधार निर्माण अघि बढ्ने भएको छ । 

बुधबारको मन्त्रिपरिषद् बैठकले मेडिकल कलेज पूर्वाधार निर्माणका लागि प्रस्तावित जग्गामा तोकिएका रुख कटान गर्न दिने निर्णय गरेसँगै जग्गा प्राप्तिको कुरा टुंगिएको पूर्वशिक्षामन्त्री गिरिराजमणि पोखरेलले जानकारी दिए । बिहीबार निर्णय कार्यान्वयनको प्रक्रिया अघि बढिसकेकाले अब मेडिकल कलेज पूर्वाधार निर्माणको गाँठो फुकेको पोखरेलले बताए ।

वन तथा वातावरण मन्त्रालयमा लामोसमयदेखि थन्किएको मेडिकल कलेजको फाइलमा निर्णय गर्दै मन्त्रिपरिषद्‌ले सर्तहरू पालना गर्नेगरी बर्दिवास-४ स्थित माइस्थान सामुदायिक वन क्षेत्रको ५४.५८४ हेक्टरमा रहेका १९ सय ७६ रुख कटान गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

रुख कटानको स्वीकृतिसँगै मेडिकल कलेजको पूर्वाधार निर्माण अघि बढ्ने भएपछि बर्दिवासवासी खुसी भएका छन् । बर्दिवास मेडिकल कलेज प्रस्तावित जग्मामै बन्नुपर्ने भन्दै यस क्षेत्रका सरोकारवालाले लामो समयदेखि संघर्ष गर्दै आएका थिए ।

वनक्षेत्रमा कलेज निर्माण रोक्न भन्दै सर्वोच्चमा २०७८ मा परेको रिट अदालतले गत जेठ २९ गते खारेज गरेको थियो । यता बर्दिवास नगरपालिकाले भने कलेजको पूर्वाधार निर्माण गर्दा काटिन सक्ने रुखका कारण पर्यावरणमा पर्नसक्ने असर रोक्न भन्दै ०७८ सालदेखि नै वृक्षारोपण अभियान संचालन गरिरहेको छ ।

तोकिएको क्षेत्रमा पर्ने १९ सय ७६ रुखमा जतिसक्दो धेरै रुख बचाएर पूर्वाधार निर्माण गर्ने योजना रहेकाले ६ सय बढी रुख कटान नहुने मेडिकल कलेजका पूर्वाधार निर्माण कार्यालयका प्रमुख देवीप्रसाद सुवेदीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय