एजेन्सी— छिमेकी मुलुक भारतमा नयाँ भेरिएन्ट ‘बीए २.१२’ केही दिनयता बढेसँगै नेपालमा पनि संक्रमणको जोखिम बढ्ने सम्भावना देखिएको छ । स्वास्थ्य सेवा विभागका अनुसार चुनावको समयमा भारतमा बस्ने नेपाली आउने भएकाले संक्रमणको जोखिम बढी देखिएको छ ।
विभागले नेपालमा केही दिनयता संक्रमण बढेको आशंकामा अनुसन्धान शुरू गरिसकेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. संगीता कौशल मिश्रका अनुसार कोभिड संक्रमण दर घटे पनि भारतमा संक्रमण बढेकाले जोखिम अझै कायम छ ।
बुधबार कुल ३ हजार ७७ जनाको कोभिड–१९ परीक्षण गर्दा १८ जनामा संक्रमण देखिएको छ । हाल मुलुकभर सक्रिय संक्रमित १ सय ८५ जना रहेका छन् भने संक्रमण दर ०.६ प्रतिशत रहेको छ । संक्रमण बढे पनि सघन उपचार (आईसीयू र भेन्टिलेटर)मा कोही पनि बिरामी नरहेको विभागले जनाएको छ ।
नेपालमा हालसम्म बीए २.१२ को नयाँ भेरिएन्ट हालसम्म नदेखिए पनि सर्तक हुनुपर्ने देखिएको डा. मिश्रको भनाइ छ । तर, सीमावर्ती बिहार, नयाँ दिल्ली लगायतको ठाउँमा भने सो भेरिएन्ट पुष्टि भइसकेको छ । राजधानी दैनिकमा खबर छ ।