‘खेलैय होरी….हो….खेलैय होरी…,
कञ्चनवन में… खेलैय होरी…. !
रामजीके हातमे कनक पिचकारी…,
सीयाजी’क हातमे अबिर झोरी….
हो… खेलैय होरी….!!’’
जनकपुरधाम— मध्यमा मिथिला परिक्रमा यात्रीहरुले गाएका होरी गीतका यी हरफसँगै एक–आपसमा रङ्ग, अबिर खेलेर कञ्चनवनको परिवेश नै अहिले राताम्य भएको छ। डम्फुको तालमा होरी गीत गाउँदै यात्रीहरुले रङ्ग, अबिर खेलेको रमाइलो हेरेर बाटो हिँड्ने बटुवासमेत मन थाम्न नसकी होरीमा सरिक भइरहेका थिए।
कञ्चनवन वरिपरिका बस्तीमा आज घरघरमा चटारो छ। मध्यान्ह सुरु हुने ‘होरी महोत्सव’ को घरघरै चर्चा छ। ‘ए मखानपुरवाली, तिमीले घरकाज सक्यौ, नानीहरुका लागि ख्वाउने प्याउने इन्तिजाम मिलाई सक्यौ?’ एक गृहिणीले छिमेककी अर्की गृहिणीलाई सोध्ने आजको आम प्रश्न बनेको छ। अवधविहारी (श्रीराम) र किशोरीजी (श्री जानकीजी) को परिक्रमा डोला आइपुग्ना साथ गृहिणी घरको काम जे बाँकी छ, त्यो थाति राखेर कञ्चनवन दौडन्छन्। सबैको एउटै लय, एउटै स्वर ! ‘कञ्चनवनमें राम खेलैय होरी…हो, कञ्चनवनमें..!!’
मिथिलामा माध्यमिकी परिक्रमाको आठौँ दिन कञ्चन वनमा होली गीतामा डम्फा, मृदङ्ग, झयालीको तालमा हुर्दङ्ग गाउँदै सबैलाई झुमाए। महोत्तरीको भंगहा नगरपालिकाको कञ्चनवनमा आठौँ दिनको रात्रि विश्रामका लागि पुगेका मिथिला माध्यमिकी परिक्रमाका यात्रीले मिथिला विहारी र किशोरीजी अर्थात रामसीताको डोलामा रङ्ग, अबिर चढाएपछि होली सुरु हुने विश्वास रहीआएको नवलकिशोर शरण बताउँछन्। रामसिताको डोलामा रङ्ग, अबिर चढाएसंगै रङ्ग–अबिर एकअर्कालाई छयापेर परिक्रमाबासीसहित गाउँगाउँ र घरघरबाट आमनागरिक पुगेपछि थप होरी उल्लास छाएको थियो।
बसन्तपञ्चमीको सुरुवातसंगै होली शुभारम्भ भएको मानिएता पनि मिथिलाञ्चलमा परिक्रमा यात्रीले कञ्चनवनमा होली खेलेपछि मात्रै होलीको सुरुवात हुने परम्परा रहीआएको छ। त्रेतायुगमा विवाहपछि वनविहारमा निस्केका रामसीताले यात्राको आठौँ दिन कञ्चनवनमा पुगेर रङ्ग, अबिर खेलेको पौराणिक मान्यताका आधारमा १५ दिने माध्यमिकी परिक्रमाका यात्रीले रङ्ग, अबिर दलेर रमाइलो गर्ने गर्छन्।
‘हो..किनकाके हात कनक पिचकारी, किनकाके हात अबिर झोरी..!’ एकपक्षको यो स्वरमा लय मिलाउँदै ‘रामजीके हात कनक पिचकारी, सीयाजीक हातमें अबिर झोरी…हो.. खेलैय होरी..!’ को जवाफ फर्कन्छ। मिथिलामा श्रीपञ्चमीसँगै अतिथि सत्कारमा रङ अबिरको प्रयोग थालिए पनि जनजनले खेल्ने ‘होरी’भने कञ्चनवनबाटै प्रारम्भ हुने परम्परा छ।
हजारौं हजार भन्दा बढी यात्री रहेका परिक्रमा यात्रामा स्थानीयलाखौं भक्तजन सहभागी हुने गरेका छन्। कञ्चनवनको होलीको रमाइलोले नै आफूहरुलाई हरेक वर्ष परिक्रमामा सरिक हुन अभिप्रेरित गर्दै ऊर्जा दिने गरेको वर्षौंदेखि परिक्रमामा सरिक हुँदै आएका यात्री बाबा मनमोहन दासले बताए। कञ्चनवनको चारैतिर बिघौँ बिघासम्म देखिने सघन बगैँचाको हरियाली, वरिपरि मधुरो स्वरमा गुञ्जि रहने रामायणकालीन गाथा प्रवचन, होरी गीतको माधुर्यता र रङ्ग, अबिरको रमाइलो खेल बिर्सन नसक्दा आफू लगातार १५ वर्षदेखि परिक्रमामा सरिक हुँदै आएको ६५ वर्षिय अवधबिहारी शरण दासको भनाइ छ।
मिथिला महात्मयअनुसार १८ औं शताब्दी देखि माध्यमिकी परिक्रमाको रुपमा मनाईदै आएको यस धार्मिक यात्राको सहयात्रीहरुले दिनभरि हिड्ने र रात्रिकालिन भजनकिर्तन गरी विताउन गर्छन्। सुख, समृद्धि तथा चारधाम दर्शन गरे वापतको फल प्राप्ति हुने जनविश्वासका साथ धार्मिक यात्रीहरुले नेपालको १ सय ७ र भारतको ३३ किलोमिटर गरी १ सय ४० किलो मिटर पैदल यात्रा गर्ने गर्छन्। परिक्रमामा सहभागी यात्रीहरुले १५ दिन सम्म खालीखुटा हिड्ने तथा लसुन, प्याज, माछामासुसमेत बर्जित गर्ने चलन रहीआएको छ। साथै परिक्रमा अवधिभर गृहप्रवेश नगरी खुल्ला आकाशमुनी पाल टाँगेर वनवासी जीवन जिउने गर्छन्।
जिल्लाको मटिहानीमा चौथो दिनको विश्रामबाट सुरु हुने महोत्तरी यात्रा कञ्चनवनमा आठौँ दिन रङ्ग, अबिर खेलेर रात्रि विश्रामपछि नवौँ दिनको यात्राका लागि धनुषा जिल्ला प्रवेश गर्छन्। जिल्लामा परिक्रमा यात्राको सांस्कृतिक परम्पराअनुसार मटिहानी, जलेश्वर, मडै, ध्रुवकुण्ड र कञ्चनवन विश्राम स्थल रहँदै आएपनि विकासको अवसर नपाउँदायी ठाउँ कुनाकन्तरा जस्तो बन्दै आएको वरिष्ठ पत्रकार विष्णुमणि खनालको भनाई छ। —गोविन्द महतो/अन्नपूर्ण पोस्ट