काठमाडाैं— कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ६ का दुई दिदीबहिनी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा बिहीवार शाखा अधिकृतको नियुक्ति पत्र पाउँदा निकै खुशी थिए ।
पहिलो प्रयासमै नाम निकाल्न सफल भएका २६ वर्षीया पार्वती भट्ट र २५ वर्षिया वसन्ती भट्टले एकसाथ नियुक्ति र पदस्थापनको पत्र पाएका छन् ।
दुवै दिदीबहिनीले आ-आफ्नो हातमा नियुक्ति पत्र र पदस्थापनको पत्र पाएपछि एकअर्कालाई अँगालो हाल्दै खुशी साटासाट गरे ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सामान्य प्रशासन समूहमा अतिरिक्ततर्फ उनीहरूको पदस्थापन गरिएको छ । मन्त्रालयले दिने तालिम सकिएपछि अर्को ठाउँमा पदस्थापन हुनेछ ।
दिदी पार्वती १९ वर्षको उमेर हुँदा नै लोकसेवा आयोगको जाँचमा पास भएर खरिदार बनेकी थिइन् । २०७२ सालको माघ ११ गते विविध सेवाअन्तर्गत खरिदारमा नाम निकालेकी थिइन् ।
चौथो तहको महिला विकास निरीक्षक पदमा काम गरिरहेकी उनी २०७४ सालमा समायोजन भएर स्थानीय तहमा गएपछि पाँचौं तह नायब सुब्बामा महिला विकास निरीक्षकमा बढुवा भएकी थिइन् ।
२०७६/०७७ सालमा शाखा अधिकृत पदका लागि लोकसेवा आयोगले विज्ञापन गरेपछि उनले फेरि पनि जाँच दिइन् र नाम निकाल्न सफल भइन् ।
अर्कातर्फ बहिनी वसन्तीले पनि २३ वर्षको उमेरमा २०७६ सालमा स्थानीय तहमा पाँचौं तहको महिला विकास निरीक्षक पदमा नाम निकालेकी थिइन् ।
त्यसपछि दुवै दिदीबहिनीको पदस्थापन कञ्चनपुरको बेलौरी नगरपालिकाको कार्यालयमा भएको थियो ।
शाखा अधिकृतका लागि दुवै जनाले सँगसँगै तयारी गरेको उनीहरूले बताए । स्कूल पढ्दा पनि उनीहरूबीच एक कक्षाको मात्र ग्याप थियो ।
भिमदत्त नगरपालिकाको शान्ति निकेतन उच्च माध्यमिक विद्यालयमा पढेका उनीहरू विद्यालयमा हुने हाजिरी जवाफ प्रतियोगितामा दिदी प्रथम र बहिनी द्वितीय हुन्थे ।
‘जतिवटा समूह बनेपनि विद्यालयमा हाजिरी जवाफ प्रतियोगिता हुँदा अन्तिममा हामी दुईजना दिदीबहिनी रहेको समूहबीच मात्र प्रतिस्पर्धा हुन्थ्यो,’ दिदी पार्वतीले भनिन्, ‘स्कूल पढ्दा पनि हामी दुईबीच आफैंमा प्रतिस्पर्धा हुन्थ्यो । सरकारी जागिर खाने बेला मैले पहिले नाम निकाल्न सफल भए पनि अहिले आएर दुवै जनाले एक साथ एकै दिन शाखा अधिकृतको नियुक्ति लिन पाउँदा दुवै बराबर भएका छौं ।’
बहिनी वसन्तीले दिदी पार्वतीको विषयगत ज्ञान र सरकारी जागिरको अनुभवको आफूलाई फाइदा पुगेको बताइन् ।
‘हामी सँगै बसेर डिस्कसन गर्थ्यौं, समान शैक्षिक मेटेरियल पढ्थ्यौं,’ वसन्तीले लोकान्तरसँग भनिन्, ‘सँगै पढ्ने, सँगै ड्युटी जाने, सँगै डिस्कसन गर्ने गरेको हुनाले पनि दिदीसँग भएको विषयगत ज्ञान र अनुभव समेतको फाइदा मैले पाएँ ।’
बिहान बेलुका नियमित पढ्ने गरेका उनीहरूले परीक्षाअघि २५ दिन बिदा लिएर अध्ययन गरेका थिए ।
उनीहरू साधारण कृषक परिवारका हुन् । बुवा महादेव भट्ट र आमा जयमतीदेवी भट्ट साधारण किसान हुन् । दुई दाजु र चार दिदीबहिनी छन् ।
जेठो दाइ जीवन भट्ट अपाङ्गता अधिकारकर्मी हुन् भने अर्का दाजु पुष्पराज भट्ट डिभी लटरी परेर अमेरिकामा छन् ।
जेठी दिदी जयन्ती भट्ट माध्यमिक तहको शिक्षक सेवा आयोगको जाँच पास गरेर शिक्षिका छिन् भने माइली दिदी विष्णा भट्ट नेपाली विषय लिएर स्नातकोत्तर अध्ययनरत छिन् ।
साँहिली पार्वती र कान्छी वसन्ती शाखा अधिकृत बनेका छन् । —अजय अनुरागी/लोकान्तर डटकम