महोत्तरी— महोत्तरीको रामगोपालपुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको पदमा दुई जना कर्मचारीले दावी गरेपछि विवाद चुलिएको छ । नगरपालिकाका शिक्षा शाखाका अधिकृत धिरेन्द्रलाल कर्ण र प्रशासन तर्फका प्रशासकीय अधिकृत शिवेन्द्र कुमार मण्डलले उक्त पदमा दावी गरेका हुन् ।

विवाद चुलिएसंगै दैनिकका कामकाज प्रभावित भएको छ । सेवाग्राही मर्कामा परेका छन् ।

एक वर्षदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेबारी शिक्षा शाखा अधिकृत कर्णले सम्हाल्दै आएका थिए । स्थानीय तहमा समायोजन भएका कर्ण आठौं तहका शिक्षा सेवा प्रशासन तर्फका कर्मचारी हुन् ।

जिम्मेवारीमा रहँदा उनले व्यापक अनियमितता गरेको गुणसो गर्दै मेयर अशोक मण्डलको पहलमा संघीय मामिला तथा समन्य प्रशासन मन्त्रालयले कर्णलाई दिएको जिम्मेवारी खोस्दै गत पुस २५ गते मण्डललाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा पठाएको थियो ।

मण्डल नेपाल प्रशासन सेवा, समान्य प्रशासन समूह राजपत्राङ्कित तृतीय श्रेणीका कर्मचारी हुन् । मण्डल यसअघि जनकपुरधाम स्थित श्रम कार्यालयका प्रमुख थिए ।

गत माघ १४ गते कर्णले समान्य प्रशासन मन्त्रालयबाट निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेबारी आफूलाई दिएको पत्र देखाउँदै सो पदमा दावी गरेसंगै विवाद बढेकोे हो । गत माघ १६ गते १३ जना कार्यपालिका सदस्यसहित कर्ण नगरपालिका कार्यालयमा हाजिर भएका थिए ।

कर्णलार्ई जिम्मेवारी दिनु अघि मन्त्रालयले नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको मण्डललाई गत माघ १४ गते नै मन्त्रालयले महोत्तरीकै लोहारपट्टी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरेको पत्र नगरपालिकामा पठाएको थियो ।

कर्णलाई मन्त्रालयले दिएको जिम्मेबारी सम्बन्धी पत्रमा प्रमुख प्रशासकीय नआउँदासम्मका लागि नगरपालिकाको आर्थिक तथा प्रशासनिक कार्य गर्ने भनिएको छ ।

यता मेयर अशोक मण्डलले प्रमुख प्रशासकीय अधिकृत हुँदाहुँदै शिक्षा अधिकृत कर्णलाई कार्यालयको आर्थिक तथा प्रशासनिक जिम्मेवारी दिनु कानुन सम्वत गलत रहेको बताए । कर्णलाई फिर्ता पठाएको बारे मेयर मण्डलले गत माघ १६ गते उनले समान्य प्रशासन मन्त्रालयलाई पठाएका थिए ।

कार्यालयमा काट्नुपर्ने चेक लेखालाई मिलाएर जनकपुरमा गएर काटेको कर्णले आर्थिक हिनामिना गरेको मेयर मण्डलको आरोप छ ।

‘कर्ण प्रशासकीय अधिकृत रहेको बेला लेखासंग मिलेर व्यापक रकम हिनामिना गरे । फिल्डमा जाँदा उपभोक्ता समितिसंग कमिसन मागे । उनको विषयमा व्यापक जनगुनासो आयो । कार्यालय प्रयोजनमा सरसल्लाह नगरी लाखौं रकम खर्च गरेका छन् । काम भएको छैन । त्यो शीर्षकको लाखौं बजेट खर्च भइसकेको बैंक स्टेटमेन्टबाट थाहा पाएँ’ मेयर मण्डलले भने,‘ त्यसकारण बाध्य भएर कर्णसंग निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेबारी खोसेर प्रशासन मन्त्रालयले नयाँ प्रशासकीय अधिकृत पठायो । ’

कर्णले गत आर्थिक वर्षको असार मसान्तमा काम सम्पन्न भएका एक दर्जन बढी योजनाको भुक्तानी नदिएको र केहि वडाध्यक्ष तथा नगर कार्यपालिका सदस्यसंग सेटिंगमा उनीहरुको सबै भुक्तानी दिएको मेयर मण्डलको भनाइ छ ।

यता कर्णले आफूमाथि लगाएको सबै आरोप निराधार भएको दावी गरे । ‘म माथि लाइएको सबै आरोप मिथ्या हो । ‘काम नगरिकन रकम भुक्तानी हुँदैन । अहिले अनलाइन चेक काटिन्छ । कुनै चेक काट्यो भने कोलेनिका, मलेनिका सबैले देख्छन् । कुनै योजनाका लागि भुक्तानी हुँदा प्रक्रिया पुर्याएर हुन्छ’ उनले भने ‘मेयरले एकलौटी शासन चलाउन खोजे । उहाँले जेजे भन्नुहुन्छ, त्यो सबै गर्दा ठीक । नत्र खराब ?’

यता प्रमुख प्रशासकीय अधिकृत मण्डलले मन्त्रालयले आफूलाई सरुवा गरेको पत्र नपाएको दावी गरे । उनले बरिष्ठताको आधारमा प्रमुख प्रशासकीय अधिकृत हुने व्यवस्था नरहेको समेत तर्क गरे ।

‘म संघको प्रशासन तर्फको कर्मचारी हुँ । थुप्रै नगरपालिकामा यसअघि पनि प्रमुख प्रशासकीय अधिकृतको जिम्मेबारी निर्वाह गरिसकेको छु । म यो नगरपालिकामा पनि हाजिर भएको मन्त्रालयको पत्रमा प्रमुख प्रशासकीय अधिकृत तोकेरै उल्लेख गरेको छ । म प्रशासन तर्फको तृतीय श्रेणीको कर्मचारी हुँ । तहले प्रमुख प्रशासकीय अधिकृत हुँदैन’, अगाडि उनले भने, ‘ कर्णले आठौं तह र बरिष्ठ हुँ भनेर दावी गर्छन् । यस्तो भयो भने धेरै नगरपालिकामा हेडसर नै प्रमुख प्रशासकीय अधिकृत हुन्छन् ।’ आजको द पब्लिक टुडे दैनिकमा समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय