—लोकनारायण सुवेदी
केही बर्षअघि एक बृटिश शोधकर्ताले खगोलीय घटनाहरु र पुरातात्विक तथा भाषिक साक्ष्यहरुका आधारमा के दावी गरेका छन् भने ”भगवान” कृष्ण हिन्दू ‘मिथक’को कुनै काल्पनिक पात्र नभएर एक बास्तविक पात्र थिए ।
बृटेनमा न्यूक्लियर मेडिसिनका फिजिशियन डा. मनीष पण्डितले आफ्नो अनुसन्धानमा बताएका छन् कि टेनेसीको मेफिस बिश्वबिद्यालयमा भौतिकीका प्रोफेसर डा. नरहरि अचरद्वारा प्रस्तुत एउटा शोधपत्रमा खगोल बिज्ञानको मद्दतबाट महाभारत युद्ध कालको पत्तो लगाइएको छ ।
त्यसै आधारमा जब डा. पण्डितले सफ्टवेयरको मद्दतले डा. नरहरि अचरको तारामण्डलको शोधको निष्कर्शमाथि छानबिन गरे त्यतिबेला उनी आश्चर्यचकित भए । डा.पण्डितद्वारा बनाइएको दस्ताबेजी चलचित ‘कृष्ण इतिहास तथा मिथक’ मा के बताइएको छ भने पाण्डव र कौरबका बीचको महाभारतको लडाई ३०६७ इशा पूर्वमा भएको थियो ।
यस गणनाका अनुसार कृष्णको जन्म ३११२ इशा पूर्बमा भएको थियो । यस प्रकार महाभारत युद्धको समयमा कृष्णको उमेर ५४-५५ बर्षको थियो । महाभारतमा १४० भन्दा बढी खगोलीय घटनाहरुको बिवरण छ । त्यसै आधारमा डा. अचरले के पत्ता लगाए भने महाभारत युद्धको समयमा आकाश कस्तो थियो र त्यसबेला कुन कुन खगोलीय घटनाहरु घटेका थिए ।
यसबाट स्पष्ट हुन्छ कि कृष्ण कुनै अलौकिक र दैबी शक्ति नभएर एउटा मानबीय शक्ति थिए । कृष्ण बाल जीवनदेखि नै जीवन पर्यन्त सामाजिक न्यायको स्थापनाका लागि असमानता हटाउने लडाईं लड्दै रहे ।उनी गरीबीको चिन्ता गर्दै खेतिहर सँस्कृति र दुग्ध क्रान्तिको माध्यमबाट ठेट स्वदेशी अर्थ ब्यवस्था स्थापना गर्ने र त्यसको बिस्तार गर्ने कायमा लागिरहे । सामरिक दृष्टिले उनको श्रेष्ठ योगदान भारतीय अखण्डताका लागि उल्लेखनीय रहृयो ।
कृष्णले जड भइसकेको त्यो राज्य र देब सत्तालाई चुनौति दिएका छन् जुन जन बिरोधी नीति अबलम्बन गरेर लूटतन्त्र र अनाचारको हिस्सा बनेको थियो । भारतीय लोकका कृष्ण यस्ता परमार्थी थिए कि उनको जस्तो चरित्र भारतीय अबतारमा कुनै अरु पात्रमा पाइदैन । कृष्णको बिकास गाथा अनबरत साधारण मनुष्य बनिरहनमा निहीत रहृयो । सोह्र कलामा निपूण यी महानायकको बहु आयामिक चरित्रमा ती चातर्ुयहरु बाल्य कालदेखिनै रहेका थिए जो पछि गएर कुनै चरित्र बाक्पटु तथा उद्दण्डताकासाथ निर्भिक नायक पनि बन्दछ । तर बाल कृष्ण जब मखन चोर्दछन् त्यो एक्लै खाँदैनन् आफ्ना साथीभाइहरुलाई पनि खुवाउँदछन् । अनि जब माता यशोदाले चोरी फेला पारेपछि दण्ड दिन्छिन् दण्ड भने उनी एक्लै झेल्दछन् । चरित्रको यस्तो प्रस्थान बिन्दू कुनै उदात्त नायकको मात्र हुन सक्तछ ।
कृष्णको सारा जीवन समृद्धिका ती उपायहरुको बिरुद्ध थियो जुन उपाहरुको आधार लूट तथा शोषण रहेको थियो । शोषणबाट मुक्ति र समता तथा सामाजिक समरसताबाट मानिसलाई सुखी र सम्पन्न बनाउने गुण गढ्नमा कृष्णको चिन्तन लागि रहृयो । यसकारण कृष्ण जब चोरी गर्दछन् स्नान गरिरहेका स्त्रीहरुको बस्त्र चोर्दछन्, खेलखेलैमा यमुना नदीलाई प्रदुषणबाट मुक्त गर्नका लागि कालिया नागलाई मर्दन गर्दछन । उनका यस्ता सबै हर्कतहरु या संघर्ष भनौ उत्सवप्रिय लाग्दछन् ।नकारात्मकतालाई पनि उत्सबधर्मीतामा परिवर्तन गर्ने गुण कृष्ण चरित्रका अतिरिक्त दुनियाँको कुनै इतिहास नायकको चरित्रमा बिद्यमान रहेको छैन । भारतीय मिथकहरुमा कृष्णको अतिरिक्त कुनै पनि शक्ति यस्तो छैन जसले राजसत्ताबाट होइन त्यो पारलौकिक सत्ताको प्रतिनिधि इन्द्रसँग बिरोध जनाउन सक्तछ जुन इन्द्रको जलमा नियन्त्रण थियो ।
हामीले यदि इन्द्रको चरित्रलाई देवतुल्य अथवा मिथक पात्रभन्दा पर मानिसको रुपमा हेर्दछौ भने उनी जल बिशेषज्ञ थिए । तर कृष्णले रुढ, भ्रष्ट तथा अनियमित भइसकेको त्यस देवसत्ताको बिरोध गरे जसले इन्द्रलाई जल ब्यवस्थापनको जिम्मेवारी सुम्पिएको थियो । अनि त्यो जिम्मेवारी पूरा गर्न इन्द्र पक्षपाती देखिदै गएका थिए । किसानलाई त समयमा पानी चाहिन्छ नत्र बालीनाली चौपट हुने संकट उत्पन्न हुने हुँदा उनीहरुलाई निन्द्रा लाग्दैन । कृष्णको नेतृत्वमा किसान र गाई पालकहरुको हितमा यो शायद दुनियाँको पहिलो आन्दोलन थियो जुन आन्दोलनका अगाडि प्रशासकीय ब्यवस्थापन नतमस्तक भएको थियो र जल बषर्ाको शुरुवात किसानहरुको हितलाई ध्यानमा राख्दै भएको थियो । पुरुषवादी बर्चश्वबादले इन्द्र जस्ता कामी पुरुषले स्त्रीलाई स्त्री हुुनुको सजाय तिनको स्त्रीत्वलाई भंग गरेर दिए । देबी अहिल्यासँग छलपूर्वक गरिएको दुराचार यसको उदाहरण हो ।
आज महिला पुरुष समान स्वतन्त्रता र अधिकार मागिरहेका छन्, तर कृष्णल त द्वापर युगमा नै महिलालाई पुरुष बराबरको दर्जा दिइसकेका थिए । राधा बिवाहित थिइन् तर कृष्णको दीवानी थिइन् । ब्रज भूमिमा कृष्णले स्त्री स्वतन्त्रताको झण्डा फहराएका थिए ।जब स्त्रीको(द्रौपदी प्रसंग)को चीरहरण स्थिति आयो त्यति बेला कृष्णले द्रौपदीको सारीलाई अनन्त लामो पारेर जोगाए । स्त्री संरक्षणको यस्तो कुनै अर्को उदाहरण दुनियाँको कुनै साहित्यमा पाइदैन ।यसैले बृन्दाबनको यमुना किनारका बृक्षमा आज पनि सारी बाँधेर झुण्ड्याउने प्रचलन कायम रहेको छ ।
कृष्ण युद्ध कौशलका महारथी हुनुका साथसाथै देशको सुरक्षा सम्वन्धि सामरिक महत्वका ज्ञाता पनि थिए ।यसै कारण कृष्ण पूर्बदेखि पश्चिम अर्थात् मणिपुरदेखि द्वारिकासम्म सत्ता बिस्तार गर्नुका साथै त्यसको संरक्षण गर्नमा पनि सफल रहे । मणिपुरको पर्बत श्रंृखलमा र द्वारिकाको समुद्र तटमा कृष्णले सामरिक कार्यालय स्थापित गरे जसबाट कालान्तरमा सम्भावित आक्रान्ताहरुसँग सामना गर्न सकियोस् ।कृष्ण मानब सभ्यता तथा प्रगतिका यस्ता प्रतिनिधि लाग्दछन् जसले गाई पालनदेखि लिएर दूध तथा त्यसको उत्पादनबाट अर्थब्यवस्थालाई अघि बढाउँदछन् । ग्रामीण तथा पशु आधारित अर्थब्यवस्थालाई गतिशीलताको बाहक बनाइराखेका कारणले नै कृष्णको नेतृत्वलाई एउटा ठूलो जनसंख्याले स्वीकार गर्दै आएको हो ।
आजको भूमण्डलीकरणको जमानामा कृष्णको त्यो मूल्यबान योगदानलाई नकारिएको छ जुन किसान र कृषिको हित तथा गाई र दूध ब्यापरसँग जोडिएको थियो । अझ थप कुरा के भने पूरै ब्रज मण्डल र कृष्ण साहित्यमा कही कतै पनि शोषणकारी ब्यवस्थाका प्रतीक बजार र तिनका कर्णधार दलालहरुको उल्लेख छैन ।
कृष्णले ती प्राकृतिक संसाधनहरुको पनि चिन्ता गरेका थिए जसलाई बिकसित गर्नका लागि प्रकृतिलाई लाखौ-करोडौं बर्ष लाग्दछ । कृष्ण त यो जैबिक बिबिधतारुपी सौर्न्दर्यको उपासक तथा संरक्षक थिए, जसले गर्दा ग्रामीण जीवन ब्यवस्थालाई प्राकृतिक तत्वबाट सञ्जीवनी प्राप्त भइरहृयो ।
डा. मनीष पण्डित र डा. अचरको खगोलीय घटनाहरुको आधारमा निकालिएको निष्कर्श कि कृष्ण पौराणिक युगका काल्पनिक पात्र बिल्कुलै थिएनन् भन्ने निष्कर्श यसरी सही लाग्दछ । उनी मात्र एक मानब थिए र उनमा ती सबै कौशल र खुबीहरु र कमजोरीहरु पनि थिए । यति हुँदाहुँदै पनि उनी एक उदात्त नायक थिए जो आफ्नो बिशिष्ठ गुणका कारण महाभारत युद्धका नेता तथा प्रणेता बनेका देखिन्छन् ।