उदयपुर— एक साताअघि घरबाटै हराएकी उदयुरको त्रियुगा नगरपालिका–६ मोहनपुरकी १६ वर्षीया एक किशोरीको शव जंगलमा फेला परेको छ।

स्थानीय प्रेमकुमार चौधरीकी १६ वर्षीया छोरी कृशलाको शव सडेको अवस्थामा घर नजिकैको राजदेवी सामुदायिक वनमा फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए।

अभिभावकका अनुसार कृशला यही साउन १३ गतेदेखि घरबाटै हराएकी थिइन्। हराएको ६ दिनपछि साउन १९ गते सडेको अवस्थामा स्थानीय जंगलमा शव भेटिएको गौतमले वताए।

किशोरीको शवको पहिचान उनका बुवाले गरेका छन्। किशोरीको बलात्कारपछि हत्या भएको आशंका स्थानीयले गरेका छन्। घटना अनुसन्धानका क्रममा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। ‘उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखी सूक्ष्म रुपमा अनुसन्धान गरिरहेका छौँ,’ प्रहरी नायव उपरीक्षक गौतमले भने। प्रहरीले पक्राउ परेका व्यक्तिको नाम भने सार्वजनिक गरेको छैन।

अभिभावकका अनुसार कृशला घरबाट आफन्तको जान भनेर साउन १३ गते हिँडेकी थिइन्। त्यसपछि बेपत्ता भएकी उनको परिवार र आफन्तल धेरै हल्लाखल्ला नगरी खोजी गरेका थिए। सामाजिक प्रतिष्ठामा आँच आउने डरले छोरीको भित्रभित्रै खोजी गरेपनि प्रहरीलाई भने जानकारी नगराएको बुवा प्रेमकुमारको भनाई छ।

‘समाजले छोरीको चरित्रमा प्रश्न उठाउने डरले धेरै हल्ला नगरी खोजी गरेका थियौँ, तर छोरी जीवित भेटिइनन्। छोरीको शव सडेको अवस्थामा भेटियो,’ उनले भने।

प्रहरीले घटनालाई शंकास्पद मानेको छ। ‘हामी गम्भीर रुपमा अनुसन्धान गरिरहेका छौँ,’ प्रहरी नायव उपरीक्षक गौतमले भने, ‘किशोरी हराउने वित्तिकै प्रहरीलाई खबर गरेको भए उनलाई जिवितै भेटटउन पनि सकिन्थ्यो।’

साभारः नेपालखबर डटकम

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय