गोरखा— पत्नीलाई तन्नामा पोको पारेर मर्स्याङ्दी नदीमा फालेको आरोपमा १ षुरुषलाई प्रहरीले शुक्रवार पक्राउ गरेको छ ।

पालुङाटार नगरपालिका–७ च्याङ्लीका ४४ वर्षीय रामबहादुर कामीलाई आफ्नै पत्नी मारेर मर्स्याङ्दी नदीमा फालेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए ।

कामीले शुक्रवार बिहान २४ वर्षीय पत्नी सम्झना रेग्मीलाई गोरखा र तनहुँ जोड्ने नयाँपुलस्थित झोलुङ्गे पुलबाट फालेको देखेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए । घटनालगत्तै पक्राउ परेका अभियुक्त कामीले पत्नीको बिहीवार राति नै मृत्यु भएकाले दाहसंस्कार गर्न एक्लैले सम्भव नभएपछि तन्नामा पोको पारी शव नदीमा फालिदिएको स्वीकार गरेको प्रनाउ दाहालले बताए ।

नदीमा फालिएको भनिएको शवको खोजी भइरहेको भए पनि अहिलेसम्म फेला नपरेको उनले जानकारी दिए ।

कामीलाई अस्थायी प्रहरी पोस्ट बिरुवाटार र इलाका प्रहरी कार्यालय ठाँटी पोखरीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका कामी बेवारिसे अवस्थामा नयाँ पुलमुनि ओडारमा पत्नी सम्झनासँग बस्दै आएको खुलेको प्रहरीको भनाइ छ ।

उनीहरूले ६ महिनाअघि मात्र बिहे गरेका थिए । घटनाको थप अनुसन्धानका लागि प्रहरी निरीक्षकको टोली घटनास्थलतर्फ पठाइएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय