नयाँ दिल्ली— भारतमा कोरोनाभाइरसको दोस्रो लहरबाट दैनिक संक्रमितको संख्या  एक लाखभन्दा कम हुन थालेको छ ।

सरकारी अधिकारीहरूले बुधबार दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घन्टामा ९२ हजार ५९६ जना कोरोनाभाइरसबाट संक्रमित थपिएका छन् ।

लामो समयपछि दैनिक संक्रमितको संख्या एक लाखभन्दा कम भएको यो दोस्रो दिन भएको पनि केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । भारतमा यसअघि मंगलबार सार्वजनिक गरिएको विवरणमा एक दिनमा ८६ हजार ४९८ जना संक्रमित भएको देखाइएको थियो ।

त्यसैगरी, त्योभन्दा अघिल्लो दिन सोमबार एक लाख ६३६ जना संक्रमित भएको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ । भारतमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमितहरूको कुल संख्या दुई करोड ९० लाख ८९ हजार ६९ पुगेको छ ।

मन्त्रालयका अनुसार भारतमा अहिले पनि संक्रमित अवस्थामै रहेकाहरूको संख्या १२ लाख ३१ हजार ४१५ रहेको छ ।
भारतमा कोरोना भाइरसबाट संक्रमित भएर पनि अहिले संक्रमणमुक्त भएकाहरूको संख्या दुई करोड ७५ लाख चार हजार १२६ रहेको जनाइएको छ ।

पछिल्लो २४ घन्टामा देशभरि कोरोनाका कारण कुल दुई हजार २१९ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाका कारण अहिलेसम्म मृत्यु भएकाहरूको संख्या तीन लाख ५२ हजार ५२८ पुगेको छ । रासस/एएनआई

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय