जनकपुरधाम— प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारी नियन्त्रणका लागि आवश्यक सहयोग गरिदिन प्रदेशस्थित राष्ट्र सङ्घीय निकाय (युएन एजेन्सी)लाई अपिल गरेका छन् ।
प्रदेश नीति तथा योजना आयोगको संयोजनमा जनकपुरधामस्थित मुख्यमन्त्री निवास मधेश भवनमा सम्पन्न युएन एजेन्सीसँगको छलफलमा राउतले महामारी नियन्त्रणका लागि अतिआवश्यक देखिएको भेन्टिलेटर, अक्सिजन ग्यासको आपूर्ति, औषधि, जनशक्ति र भ्याक्सिन उपलब्ध गराइदिन अपिल गरेका हुन् ।
युएन एजेन्सीजलेले मुलुकलाई गर्दै आएको सहयोग प्रदेशमा खासै नपुगेको गुनासो गर्दै मुख्यमन्त्री राउतले युएन एजेन्सीहरूबाट आउने सहयोग प्रदेशसम्म ल्याउनका लागि पहल गर्नसमेत प्रदेशस्थित प्रतिनिधिहरूलाई आग्रह गरे । युएन एजेन्सीजले हालसम्म महामारी नियन्त्रणमा गर्दै आएको सहयोगका लागि धन्यवाद दिँदै मुख्यमन्त्री राउतले अगामी दिनमा समेत सहयोगको अपेक्षासमेत व्यक्त गरेका हुन् ।