–लोकनारायण सुवेदी
देशमा जनताको लागि असल बिधि बिधान बनाएर त्यस अनुसार चल्ने चलाउने भन्दा पनि छल कपटको राजनीति नै हावी हुने कुलक्षणहरु गणतन्त्र आए पछि पनि लगातार देखिदै आएका छन् । यस्तो सस्तो र हल्का किसिमको राजनीतिक लहडबाजी वास्तवमा देश र जनतामाथिको खेलबाड बाहेक केही होइन र कदापि हुन पनि सक्तैन । तर जे नहुनु पर्ने हो त्यो भइरहेको छ र जे हुनु पर्ने हो त्यो भने पटक्कै भइरहेको छैन ।
यो पीडादायक अनुभव गर्न नेपाली जनता अभिशप्त छन् । हुन पनि उनीहरुले हिजोको र आजको ब्यवस्थामा कुनै तात्विक फरक देख्न, सुन्न र अनुभव गर्न पाएका छैनन् । राजदरबारमा बस्ने मुकुटे राजा औपचारिकरुपमा त्यहाँबाट हटे पनि सिंहदरबारका नयाँ बिना मुकुटे राजाहरुको रजगज र चकचकी हेर्दा अझै लामो समयसम्म नेपाली जनताका दुःख कष्टका दिन जाने रहेनछन् भन्ने कुरा राजनीतिमा सामान्य चासोसम्म राख्ने जो कसैले पनि सहजै अनुमान लगाउन सक्तछ ।
यद्यपि जनता र केवल जनता मात्र सर्बोच्च र निर्णायक शक्ति हुन् र उनीहरु नै वास्तवमा परिबर्तनका बाहक हुन् भन्ने कुरा धेरै पटक दोहो¥याइदै आएको र कसैले पनि अस्वीकार गर्न नसक्ने कुरा हो । त्यसैले जनताको नाम लिएर या भजाएर आफुलाई अब्बल दर्जाको जन पक्षपाती या जनताको निमित्त काम गर्ने भन्ने आडम्बर देखाउने शक्ति, दल ब्यक्तिको हाम्रो देशमा कुनै कमी छैन । जनता र देश हित बिपरीत निरन्तर प्रकट अप्रकटरुपमा लागिरहेका भए पनि ती हरेकले जनताकै दुहाई दिने गरेका छन् र गरिरहेका छन् । तर उनीहरुको गोरखधन्धा अर्कै हुन्छ अर्थात ‘जुनसुकै माध्यमबाट सकेसम्म कुस्त कमाउने र मस्त रमाउने अनि बिलाश र बैभको त्यो बाटोमा निरन्तर लाग्ने’ । तिनको राजनीतिक तामझाम, धाक रबाफ, पूmर्ति फूर्ति–फार्ती हेर्दा त्यो नेपाली समाज सापेक्ष र पचाउन सकिने खालको पटक्कै हुँदैन । त्यसो गर्न सक्ने तिनको कुनै बैध र बिश्वसनीय श्रोत साधन र संरचना पनि देखिदैन । भूमिगत अर्थतन्त्र चलेजस्तै आजको राजनीति चलिरहेको छ । मुलुक चारैतिर नराम्रोसँग भ्रष्टाचारको भुवरीमा फस्नुको मूल कारण पनि यही हो । अनि बोलवाला तिनकै छ । तिनले कसको प्रतिनिधित्व गर्दछन् त्यो नै गम्भीरतम बिषय बनिरहेकै छ । यस स्थितिमा आजको हाम्रो राष्ट्रिय राजनीतिमा बस्तुतः जनताका लागि सही अर्थमा निस्वार्थ भावले काम गर्ने राजनीतिलाई जन सेवाको माध्यम मान्ने र त्यस अनुरुपको ब्यवहार गर्ने मानिस मध्यदिउसै बत्ती बालेर खोज्नु पर्ने स्थिति छ । यो स्थितिलाई चिर्न नसकेसम्म मलुकको राजनीतिले सही दिशा र गति लिन सक्तैन र बिकास कुण्ठित भएर कठांग्रिने कुरा स्वभाविक हुन्छ । त्यो केवल नारामै सीमित भएर सकिन्छ ।
तर त्यस्तै दलहरुको सयुक्त सरकार बनेको पनि देखिएको छ । उनीहरु आफैले संविधान सभाबाट घोषणा गरेको संविधानको सपथ खाएर त्यस बिपरीत हिडिरहेका छन् र संविधानको बाटो नै त्यही आफु हिडेको बाटो हो भन्ने आ–आफ्नो किसिमले अर्थ लगाइरहेका छन् ।
हुन पनि सत्ता लोलुपता र संकीर्ण सत्ता स्वार्थको घोर महामारी रोगलेग्रस्त भएर दलहरु चलेको बेला आदर्श, सिद्धान्त, निष्ठा र त्यागको राजनीतिको कुरा एकादेशको कसैले नसुन्ने पुरानो कुरा भइसकेको छ । पुराना नयाँ फुकुयामाहरुको बिगबिगी चलिरहेको छ । कसैलाई कम्युनिष्ट सही कम्युनिष्ट नरहेकोमा आज मज्जा आइरहेको छ । कसैलाई काग्रेस लोकतान्त्रिक समाजवादी होइन, नबसामन्ती ठाँटबाटमा सजिएकोमा मज्जा आइरहेको छ । सबै मिलाएर सामन्ती नब सामन्ती बर्गसँगको तिनको साँठगाँठ, उठबस, लहनतहन नै आज निर्णायक कुरा भइरहेको छ । नत्र देशमा गणतन्त्र बिरोधी र समर्थक, संघीयता बिरोधी र समर्थक, राजतन्त्र बिरोधी र समर्थक, धर्म निरपेक्षता बिरोधी र समर्थकहरुको सरकार बन्न सक्ने कुनै आधार र औचित्य नै थिएन र छैन । तर त्यस्तै दलहरुको सयुक्त सरकार बनेको पनि देखिएको छ । उनीहरु आपैmले संविधान सभाबाट घोषणा गरेको संविधानको सपथ खाएर त्यस बिपरीत हिडिरहेका छन् र संविधानको बाटो नै त्यही आफु हिडेको बाटो हो भन्ने आ–आफ्नो किसिमले अर्थ लगाइरहेका छन् । स्वार्थ मिलेकाहरु सत्तामा बसेर पहिलो पटक भारतीय सत्ताले नेपालमाथि थिचोमिचो गरेजस्तो गरी बल्ल राष्ट्रियताको नाराको आवरणमा मिल्न पाइयो र सत्तामा अडिने बलियो आधार भयो भन्ने किसिमले प्रस्तुत भइरहेका छन् । यो एक किसिमको पाखण्ड सीवाय अरु केही होइन र हुन सक्तैन ।
वास्तवमा २००७ सालको परिवर्तन पछिदेखि नै भारतीय शासक बर्गले आफ्ना बिभिन्न स्वार्थका कारणले नेपालमाथि गिद्धे दृष्टि लगाउदै आएको कुरा कसैमा लुकेछिपेको कुरा छैन । १९५० को दुइ देश बीचको असमान र सन्देहास्पद सन्धिदेखि नै नेपालप्रतिको भारतीय अभिजात बर्गको शासन सत्ताले नेपाललाई कसरी हेर्छ र कस्तो ब्यवहार गर्दछ भन्ने कुरा प्रष्ट हुदै आएको हो । सामन्ती शासक बर्गलाई फुस्ल्याएर या दबाबदमा पारेर भारतीय शासक बर्गले आफ्नो स्वार्थ अनुकूलको सम्वन्ध बनाउन भरमग्दुर प्रयत्न पनि गर्दै आएको हो । नेपालको चीनसँगको सीमामा भारतीय चेकपोष्टहरु राख्नुले पनि धेरै कुरा खुलस्त भएकै हो । त्यसबाट नेपालमा बढ्दो जन असन्तोष र चीनको समेत गम्भीर चासो र चिन्ताका कारणले भारतीय शासक बर्गले ती चौकीहरु हटाउन बाध्य हुनु परेको थियो । तर दार्चुला जिल्लाको कालापानी क्षेत्रको नेपालको ठूलो भूभाग त्यतिबेलैदेखि अहिले पनि भारतीय शासक बर्गले कब्जामा लिइराखेको छ र त्यो समस्यालाई समस्या नै होइन भनेर नेपाललाई त्यसबाट कहिले छुट्टी गर्न खोज्दछ भने कहिले राजा महेन्द्रले सुनबापत त्यो क्षेत्र भारतलाई दिएको भन्ने जस्ता कुरा पनि अघि सार्ने गर्दछ । जे होस् भारतीय अभिजात बर्गीय सत्ताले नेपाललाई आफ्नो मनसुवा अनुसार चलाउन केवल २०७२ साल असौजमा मात्र नाकाबन्दी लगाएको होइन, मौका पर्दा त्यस अघि पनि पटक पटक अनेक निहुँमा नाकाबन्दी लगाउने गर्दै आएको कुरा जग जाहेर नै छ । तर यो पहिलो पटक भएको जस्तो गरी ब्याख्या अझ भनौ अपब्याख्या गरेर यस अघि भारतसँग भएका राष्ट्रिय हित बिपरीतका सन्धि सम्झौताहरुमाथि पर्दा हाल्न खोज्नु सोभैm इतिहासले खण्डन गर्ने कुरा हो । नेपाल कसको कारणले गर्दा भारत निर्भर रहन गयो ? यो यक्ष प्रश्नको उत्तर २००७ सालपछि सत्तामा बसेका शक्ति र दलहरुले दिनै पर्दछ । उनीहरु कोही पनि यसको उत्तर दिनबाट बच्न सक्ने छैनन् र ‘पानीमाथिको ओभानो’ बन्न खोजेर समस्या हल हुदैन ।
मुलुकमा छलछामको राजनीति जसरी हिजो सामन्ती कालमा चल्थ्यो त्यो आजको अर्ध सामन्ती, अर्ध औपनिवेशिक तथा नब औपनिवेशिक कालमा पनि उसैगरी या अलिक भिन्न परिवर्तितरुपमा चलिरहेकै छ । प्रतिगमनलाई छाडेर एक पछि अर्को चरणको उन्नत जस्तो लाग्ने राजनीतिक परिबर्तन हुँदा पनि प्रबृत्तिमा कुनै फेर बदल नआउनु र जनताले परिवर्तनको बोध गर्न नपाउनु वास्तवमा त्यही छलछामपूर्ण राजनीतिकै निरन्तरताको परिणाम हो । त्यसैले राजनीतिक पद्धति र पात्र बद्लिएको जस्तो लागेको र भान परेको भए पनि प्रबृत्ति उही सामन्ती, नबसामन्ती र दलाल पूँजीवादी नै रह्यो र रहिरहेको छ । यो राजनीतिक सँस्कृति र संस्कारमा ब्यापक र आमूल परिवर्तन नआएसम्म गलत प्रकृति र प्रबृत्तिकै बिगबिगी हुने,रहने रहेछ, जन आधारित र भ्रष्टाचाररहीत संस्कार र सँस्कृतिको बिकास हुने थिति नबस्ने रहेछ भन्ने कुरा नै अहिलेसम्मको अर्थ–सामाजिक स्थिति र राजनीतिक गतिले एकदमै प्रष्ट पारिसकेको र पारिरहेको छ ।
बास्तवमा नेपालमा खाशगरी राणा, शाह कालीन निरंकुश शासन कालमा राष्ट्रियता, जनतन्त्र र जनजीकिाका जुन राष्ट्रिय र अन्तर्राष्ट्रिय समस्याहरु रहेका थिए तिनै समस्याले नै आज पनि निरन्तरता पाइरहेको छ । देशमा आन्तरिक गडबडी र बाह्य हस्तक्षेप अझ जटील बन्दै जानुले छलछामको त्यो राजनीतिकै निरन्तरताको प्रदर्शन गर्दछ र नेपाली जनता ताबाबाट उम्केर भुँग्रोमा परेकै स्थिति दोहोरिइरहन्छ । आजसम्मको राजनीतिको ठोस अनुभवको निचोड यही नै हो ।