झापा । अर्जुनधारा नगरपालिकाले यस आर्थिक बर्षको लागि नदीजन्य सामग्री उत्खनन, संकलन र निकासी ठेक्काको लागि प्रक्रिया शुरु गरेको छ ।
नगरपालिकाले यसबर्षको लागि प्रारम्भिक वातावरणीय परीक्षण (आइइइ) गरेर नदीजन्य सामग्री उत्खनन प्रक्रिया शुरु गरेको हो ।
गतबर्ष ठेक्का नलाग्दा नगरको करोडौं रुपैयाँ राजश्व गुमेको थियो । नगरपालिको आन्तरिक आम्दानी गुमेपछि गतबर्षको बिकासका योजना प्रभावित बनेका थिए । नगरपालिकाले यस बर्ष भने समयमै ठेक्का प्रक्रिया शुरु गर्न लागेको जनाएको छ ।
यसबर्ष नगरको मुख्य आम्दानीको श्रोत रहेको नदीजन्य सामग्रीको प्रभावकारी ब्यबस्थापन गर्न नगरले सक्रियता देखाएको हो । नगर क्षेत्र भएर बग्ने बिरिङ, टाङटिङ, नेते र गोयाङ खोलामा उत्पादित सामग्रीको उपयोग गरेर राजश्व संकलन गर्ने योजनामा नगरपालिका रहेको छ ।
भुगर्भविद यदुनाथ तिम्सिनाको संलग्नतामा नगरले बिरिङ खोलाको ७ र टाङटिङ खोलाको ५ स्थानमा उत्खननका लागि सुझाव दिइएको छ । बिरिङ खोलाबाट ५४ हजार, र टाङटिङ खोलाबाट ३९ हजार ५० घनमिटर सामग्री संकलन गर्न सकिने सुझाव दिएको भुगर्भविद तिम्सिनाले जानकारी दिए । उनले ब्यवस्थित तरिकाले उत्खनन नगरेका कारण यसबर्ष कटानको समस्या उत्पन्न भएको भन्दै उनले भुक्षय नियन्त्रयाका लागि उत्खननलाई ब्यवस्थित बनाउनुपर्ने बताए ।
नगरपालिकाले सरोकारवाला स्थानीयको सहभागितामा छलफल कार्यक्रम शुरु गर्ने भएको् मेयर हरिकुमार रानाले जानकारी दिए । उनले खोलाधारका सरोकारवालासँग छलफल गरेर उत्खनन सहज बनाइने बताए ।
नदीजन्य सामग्रीको उत्खननको विषय नगरपालिकाका लागि चिन्ता र चासोको विषय भएको उनको भनाइ छ । खोलामा ठेक्का लाग्ला कि नलाग्ला भन्ने चासो एकातिर रहेको छ भने ठेक्का नलाग्दा नगरको योजना कटौती हुने अर्को चिन्ता रहेको उनले बताए ।
अनियन्त्रितरुपमा चोरी निकासीलाई रोक्न विशेष पहल गर्न आवश्यक रहेको स्थानीय सञ्चारकर्मी प्रेम आचार्यले सुझाव दिएका छन् । उनले नदीजन्य सामग्री उत्खनन् गर्दा मेसिनरीलाई मापदण्ड बनाइएको भन्दै स्थानीय खोला मजदुरलाई जति पनि उत्खनन् गर्न छुट दिइएको भन्दै मापदण्ड सबैमा हुनुपर्ने बताए ।
नगरपालिकाले असोज १ गतेदेखि उत्खनन गर्न अनुमति दिने उद्देश्यले ठेक्का प्रक्रिया शुरु गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत पंकज भुर्तेलले जानकारी दिए ।
कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रतिनिधि, सरोकारवाला समुदायका प्रतिनिधि, प्राविधिकलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय