बागमती प्रदेशभर निर्माणाधीन १९ वटा पक्की पुलको निर्माण कार्य लकडाउनको अवधिमा पूरा भएको छ ।
यातायात पूर्वाधार निर्देशनालय, हेटौंडाका अनुसार चालू आर्थिक वर्ष २०७६/७७ मा निर्माणाधीन अवस्थामा रहेको ९० वटामध्ये १९ वटा पक्की पुलको काम सकिएको हो । बाँकी ७१ वटाको काम भने जारी रहेको छ ।
निर्देशनालयका निमित्त निर्देशक डा. सहदेबबहादुर भण्डारीका अनुसार पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकमा पाँचवटा, चितवन र ललितपुरमा चार/चारवटा, काभ्रेमा तीनवटा, रामेछापमा दुई र नुवाकोटमा एउटा पक्की पुल निर्माण सकिएको छ ।
‘निर्माणाधीन अवस्थामा रहेका ७१ वटामध्ये ३३ वटाको काम अन्तिम चरणमा पुगेको छ,’ उनले भने ।

‘तत्कालीन जिल्ला विकास समितिबाट हस्तान्तरण भएर आएका र प्रदेश सरकारको योजना अनुसारका पक्की पुलहरुको निर्माण सम्पन्न भएका हुन्,’ भण्डारीका अनुसार गत आर्थिक वर्षमा १४ वटा पक्की पुल निर्माण सम्पन्न भएको थियो ।
‘लकडाउनको कारण चैत महिना काम भएन । वैशाखबाट कामले पुनः गति लिएको हो । अन्यथा चालु आवमै आधाभन्दा बढी पुलको निर्माण सकिन्थ्यो,’ भण्डारीले भने ।
उनका अनुसार निर्माणाधीन अवस्थामा रहेको ७१ वटा पुलसहित आगामी आर्थिक वर्षमा थप ४९ वटा नयाँ पक्की पुल बागमती प्रदेशमा निर्माण सुरु हुनेछ ।
‘अब बागमती प्रदेशमा संघीय सरकार र प्रदेशको गरी एकसय २० वटा नयाँ पक्की पुल निर्माणको काम अगाडि बढ्नेछ,’ भण्डारी भने । एकसय २० वटा पक्कीपुलमध्ये संघीय सरकारबाट ५७ वटा पुलका लागि बजेट विनियोजन भएको छ भने ६३ वटा पक्की पुलका लागि प्रदेश सरकारले बजेट विनियोजन गरिएको छ ।
उनले प्रदेश सरकार पक्की पुलका लागि चालु र आगामी आवमा गरी ६६ करोड रुपैयाँ र संघीय सरकारबाट करिब ४० करोड रुपैयाँ विनियोजन गरिएको बताए ।
यसैगरी चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा प्रदेश सरकारले १३ जिल्लामा  १ सय ७९ किलोमिटर सडक कालोपत्र गरेको छ ।
प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले १ सय ७९ किमि सडक कालोपत्र र स्ल्याब ढलान गरेको संसदलाई यसअघि जानकारी गराएका थिए । १९ किलोमिटर सडक ढलान गरिएको निर्देशनालयले जनाएको छ ।
यसअवधिमा ८ सय ७ किलो मिटर नयाँ सडक निर्माण भएको र तीनसय २० किलोमिटर सडकमा ग्राभेल गरिएको जनाइएको छ ।
सडक विकास तर्फको कुल बजेट १५ अर्ब ५० करोड २३ लाख मध्ये प्रदेश सरकारले सडक र पुल निर्माणमा ६ अर्ब ८८ करोड ५६ करोड खर्च गरेको प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले जानकारी दिएको छ ।
प्रदेश सरकारले स्थानीय तहको केन्द्रसँग सडक सञ्जाल जोड्न प्रदेश चक्रपथ निर्माण आगामी आर्थिक वर्षबाट गर्ने भएको छ । हालसम्म सडक नपुगेको प्रदेशको विकट गाउँपालिका मध्ये धादिङको रुविभ्याली गाउँपालिका र काभ्रेको महाभारत गाउँपालिकाको केन्द्र जोड्न सडक निर्माण कार्य अगाडि बढाइएको छ ।
प्रदेश सरकारले अन्य १४ वटा पालिकाको केन्द्रहरुमा बाह्रै महिना निर्वाध रुपमा सवारी साधनहरु सञ्चालनका लागि कालोपत्रे गर्न लागिएको जानकारी दिएको छ । प्रदेशको मुकाम हेटौंडा र केन्द्रीय राजधानी काठमाडौंलाई जोड्न प्राथमिकताका साथ प्रदेश सरकारले पोष्टबहादुर बोगटी भीमफेदी–कुलेखानी सुरुङमार्गको निर्माण गर्ने जनाएको छ ।
सुरुङमार्ग निर्माणका लागि प्रदेश सरकारले ग्लोबल टेण्डर गर्ने तयारी गरिरहेको प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय