गौशाला— धनुषाको मिथिला नगरपालिका–३ हरिहरपुरस्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष रामकुमार महतोलाई सहकारी ऐन र संस्थाको विनियम विपरित कारबाही गरेको पाईएको छ ।

संस्थाको १० जना सञ्चालक सदस्य, एकजना सदस्य सचिव र एकजना सहायक गरी १२ जनाले सहकारी ऐन र संस्थाको विनियम विपरित अध्यक्ष महतोमाथि अविश्वासको प्रस्ताव पारित गरी कारबाही गरेका छन् ।

अनाधिकृत रुपमा आफूमाथि अविश्वासको प्रस्ताव पारित गरिएको जानकारी पत्र हुलाक मार्फत आफूलाई आएको अध्यक्ष महतोले बताए । सहकारी ऐन २०७४ को दफा ४५(१) मा आर्थिक हिनामिना गरी सम्बन्धित सहकारी संस्थालाई हानि नोक्सानी पु¥याएमा, अनधिकृत तवरले सम्बन्धित सहकारी संस्थाको कारोबार सम्बन्धी विषयको गोपनियता भङ्ग गरेमा, सम्बन्धित सहकारी संस्थाको कारोबार र व्यवसायसँग प्रतिस्पर्धा हुने गरी समान प्रकृतिको कारोबार वा व्यवसाय गरेमा, सम्बन्धित सहकारी संस्थाको अहित हुने कुनै कार्य गरेमा, निज शारीरिक वा मानसिक रूपमा काम गर्न नसक्ने भएमा र कुनै सञ्चालकमा यो ऐन, यस ऐन अन्तर्गत बनेको नियम वा विनियममा उल्लिखित योग्यता नरहेमा साधारणसभाले बहुमतको निर्णयबाट सञ्चलकलाई सञ्चालक समितिको पदबाट हटाउन सक्ने व्यवस्था छ ।

त्यसरी हटाउनु पूर्व सफाईको मौका दिनुपर्ने व्यवस्था सोही ऐनको दफा ४५(२) मा उल्लेख गरिएको छ । दफा ४५(२) बमोजिम अवधिभित्र कुनै सञ्चालकले सफाई पेश नगरेमा वा निजले पेश गरेको सफाई सन्तोषजनक नभएमा साधारण सभाले त्यस्तो सञ्चालकलाई पदबाट हटाउन सक्ने ४५(३) को दफामा स्पष्ट व्यवस्था गरिएको छ ।

सहकारी ऐन नियम अनुसार बनाइएको उक्त संस्थाको विनिमयको दफा २४(६) मा पनि समुह, अन्तर समूहका सदस्य पदाधिकारीले पदिय जिम्मेवारी पुरा नगरेमा निजले प्रतिनिधित्व गरेको समूहको कुल सदस्य संस्थाको ७५ प्रतिशत सदस्यहरुले अविश्वासको प्रस्ताव पारित गरी प्रत्याहान गर्न सकिने व्यवस्था छ । तर, सहकारी ऐन र संस्थाको विनियमको बर्खिलाप गरी सञ्चालक सदस्यले आफूमाथि अविश्वासको प्रस्ताव पारित गरी कारबाही गरेको अध्यक्ष महतोको आरोप छ । आफूउपर अविस्वासको प्रस्ताव पारित गर्नु पूर्व आफूलाई सफाईको मौका समेत नदिई गरेको उक्त निर्णय प्राकृतिक न्यायको सिद्धान्त विपरित समेत रहेको उनको दावी छ ।

हुँदै नभएको विधान अनुसार कारबाही
प्रक्रिया लत्याएर सम्झौता
फर्मसँग सम्झौता, व्यक्तीको नाममा भुक्तानी
स्पष्टिकरण सोध्ने अध्यक्षलाई उल्टै कारबाही

अध्यक्ष महतोमाथिको अविश्वासको प्रस्ताव २०७९ साउन १ गतेको संचालक समितिको बैठकमा बहुमतले पारित गर्ने निर्णय गरेको छ । उक्त निर्णयको जानकारी सञ्चालक उपाध्यक्ष रुमा कुमारी सिंहले २०७९ बैशाख १९ गतेकै मिति उल्लेख गरेर हुलाक मार्फत अध्यक्ष महतोलाई पत्र थमाएका छन् ।

अध्यक्षमाथि डेरी सञ्चालन गरेर संस्थालाई धरासायी बनाएको आरोप

अध्यक्ष महतोमाथि डेरी सञ्चालन गरेर संस्थालाई धरासायी बनाएको आरोप लगाइएको छ । २०७९ साउन १ गतेको संचालक समितिको बैठकमा संस्थाको आर्थिक अवस्था दयनिय भएको हुनाले संचालक समितिहरुले यसपटकलाई डेरी संचालन नगरौ भन्दाभन्दै पनि दुग्ध प्रसोधन भवन तथा मेसिनरीको सामानहरु जवरजस्ती ल्याई संस्थामा मनोमानी तरिकाले संस्थाको अर्थ व्यवस्थालाई धरासाही गरेको हुनाले यसै कार्यलाई रोक्नका लागि तथा संस्थालाई धाराशाही हुनबाट बचाउन अध्यक्ष महतोमाथि अविश्वास प्रस्ताव पारित गर्ने निर्णय गरेको माईन्यूटमा उल्लेख छ ।

तर अध्यक्ष महतोले नेपाल लाईभ स्टक सेक्टर इनोभेसन आयोजनाको अनुदान सहयोगमा संचालित साना किसान दुग्ध प्रसोधन उपआयोजनाका लागि विकेन्द्रीकृत आयोजना सहयोग इकाई, नेपाल लाइभ स्टक सेक्टर इनोभेसन आयोजना हेटौडासंग मिति २०७८ असोज १० मा यस संस्थाले उक्त आयोजना निर्माणको लागि सम्झौता गरेकोमा संचालकहरु समेतको बैठकबाट सर्वसम्मत निर्णय भएको दावी गरेका छन् । उक्त दुग्ध प्रशोधनका लागि भौतिक पूर्वाधार निर्माण तथा सम्पूर्ण सामान खरीद गर्ने जिम्मेवारी खरिद समितिको समन्वयमा भवन निर्माण समितिलाई दिने र भवन निर्माणको पेश्की स्वरुपको रकम सञ्चालक सदस्य समेत रहेका भवन निर्माण समितिका संयोजक सोनेलाल बललाई दिने निर्णय समेत भएको उनको दावी छ ।

संचालक समितिको निर्णयबाटै सोनेलालको संयोजकत्वमा पदम बहादुर पाचे मगर, शम्भू महतो र गिता सिंह सदस्य रहने गरी ४ सदस्यीय भवन निर्माण समिति बनाएको पनि अध्यक्ष महतोले बताए ।

अनियमितता लुकाउन हतारहतार कारबाही

नेपाल लाईभ स्टक सेक्टर इनोभेसन आयोजनाको अनुदान सहयोगमा संचालित साना किसान दुग्ध प्रसोधन उपआयोजनाका लागि विकेन्द्रीकृत आयोजना सहयोग इकाई, नेपाल लाइभ स्टक सेक्टर इनोभेसन आयोजना हेटौडासंग संस्थाले आयोजना निर्माणको लागि सम्झौता गरेको छ ।

उक्त आयोजनाबाट एक करोड अनुदान र यस संस्थालाई कर्जा तथा अन्य सेवा सुविधा उपलब्ध गराउने सानाकिसान लघुवित्त वित्तिय संस्था लिमिटेडबाट ८८ लाख ४७ हजार ५९८ रुपैया कर्जा र संस्थाको आफ्नै श्रोतबाट व्यहोर्ने रकम ४१ लाख ६० हजार ४८७ गरी २ करोड ३० लाख ८ हजार ८५ रुपैयामा आयोजना सम्पन्न गर्ने गरी सम्झौता भएको हो ।

सोही आधारमा संस्थाले २०७८ मंसिर १५ गते एक पत्रिकामा बोलपत्र आव्हानको सूचना प्रकाशित गरी प्राप्त बोलपत्रहरु मध्ये कम बोल कवोल गर्ने नेसनल रेफिजेरेशन उधोग चन्द्रागिरी–१० काठमाण्डौको बोलपत्र स्वीकृत गरी उक्त कम्पनीसँग ठेक्का सम्झौता गरेर कार्य प्रारम्भ समेत भई दुग्ध प्रशोधनसंग सम्बन्धित मिसिन जडान गर्ने अवस्थामा रहेको छ ।

तर, आफ्नो अनुपस्थितीमा उक्त योजनाको काम शुरु नहुदैको अवस्थामा २०७८ फागुन १५ गतेको संस्थाको चेकबाट अनाधिकृत व्यक्ति दिनेश कार्कीका नाममा संचालक सदस्य सुरेन्द्र बहादुर बुलन र निमित्त प्रबन्धक ललिता कुमारी महतोको संयुक्त दस्तखतबाट ७ लाख र ३ लाख गरी जम्मा १० लाख भुक्तानी भएको अध्यक्ष महतो बताउँछन् ।

२०७८ चैत २४ गते नेपाल केन्द्रीय कृषि सहकारी संघको अध्यक्ष तथा सहकारी बोर्डका सदस्य खेम पाठक र सानाकिसान विकास लघुवित्त वित्तिय संस्था वर्दिवासका प्रबन्धक युवराज गैरेलाई आमन्त्रित गरी बसेको सञ्चालक समितिको बैठकले लेखा सुपरिवेक्षण समितिका संयोजक गौतम कुमार घिसिङ समेतका व्यक्तिहरुको उपस्थितिमा संंस्थाका निमित्त प्रवन्धक ललिता कुमारी महतोको नाममा उक्त दश लाख रकम पेश्की जनाउने र २०७८ साल चैत्र मसान्तसम्म कृषि विकास बैकको ढल्केवर स्थित शाखामा रहेको संस्थाको खातामा उक्त दाखिल गराई भौचर पेश गराउने भन्ने समेत व्यहोराको निर्णय भएको थियो ।

सो अनुसार निमित्त प्रबन्धक महतोले उक्त रकम दाखिला नगरेपछि पटकपटक रकम जम्मा गर्न अनुरोध गर्दा पनि अटेर गरी रकम जम्मा नगरेपछि गत असार १९ गतेको पत्रबाट आफूले उनलाई स्पष्टीकरण सोधेको अध्यक्ष महतोको भनाई छ । तर, स्पष्टीकरणको जवाफ नदिएपछि उक्त विषयमा आवश्यक अनुसन्धान र कारबाहीका लागि गत साउन २४ गते अध्यक्ष महतोले काठमाडौंस्थित सहकारी विभागमा उजुरी गरेका छन् । उजुरीपछि अनियमितता लुकाउन र कारबाहीबाट बच्ने उद्देश्यले आफूमाथि अनाधिकृत एवं गैरकानूनी कारबाहीको प्रपञ्च रचिएको अध्यक्ष महतोको दावी छ ।

यता, संस्थाका सञ्चालक उपाध्यक्ष रुमा कुमारी सिंहले अध्यक्ष महतोलाई विधान अनुसार अविश्वासको प्रस्ताव पारित गर्ने सञ्चालक समितिको निर्णय भएको पत्रमार्फत जनाएका छन् ।

अबैध ढंगले ठेकेदार कायम गरेर अनाधिकृत भुक्तानी

केही सञ्चालक सदस्य र निमित्त प्रबन्धकले अनाधिकृत रुपमा नक्कली ठेकेदार कायम गरेर संस्थाको रकम हिनामिना गर्न खोजेको अध्यक्ष महतोले आरोप लगाएका छन् । ठेक्का प्रक्रिया विपरित आफ्नो अनुपस्थितीमा संस्थाको भवन, ट्रस्ट सम्बन्धी भौतिक पूर्वाधारको सम्पूर्ण कामका लागि कृष्ण ईन्जिनियरिङ कन्सलटेन्सीसँग ३७ लाखमा सम्झौता गरेको छ । उक्त सम्झौतामा संस्थाको तर्फबाट सञ्चालक सदस्य भरोसी यादवले हस्ताक्षर गरेका छन् भने साक्षीमा अर्का सञ्चालक सदस्य योगेज्द्र महतोले हस्ताक्षर गरेका हुन् । सम्झौता आपूर्तीकर्ता तथा फर्मकोे तर्फबाट कृष्ण ईन्जिनियरिङ कन्सलटेन्सीको नाममा भएपनि संस्थाले दिनेश कार्कीको नाममा चेक काटेर भुक्तानी गराएका छन् । उक्त चेकमा संचालक सदस्य सुरेन्द्र बहादुर बुलन र निमित्त प्रबन्धक ललिता कुमारी महतोले हस्ताक्षर गरेका हुन् ।

तर, चेकबाट भुक्तानी पाएका दिनेश कार्कीले पहिलो किस्ताको १० लाख रकम मध्ये ७ लाख रुपैया संस्थाका सञ्चालक सदस्यद्वय योगेन्द्र महतो र शम्भु महतोले आफूसँग जवरजस्ती लगेको आरोप लगाएका छन् । उनले उक्त रकम असुल उपर गरी पाउँ भनेर संस्थाका अध्यक्षलाई सम्बोधन गर्दै निवेदन दिएका छन् । सञ्चालक सदस्यद्वयले आफूसँग रकम बुझिलिएको प्रमाण समेत पेश गर्ने कार्कीले उक्त निवेदनमा उल्लेख गरेका छन् ।

साभारः द पब्लिक टुडे

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय