काठमाडौं— निर्वाचन आयोगले प्रदेश र संघीय निर्वाचन आगामी मंसिरमा गर्नुपर्ने निष्कर्ष निकालेको छ। आयोगमा बसेको आयुक्त र कर्मचारीहरुको आन्तरिक बैठकले मंसिर १० गतेभित्रै निर्वाचन सम्पन्न गर्नुपर्ने निष्कर्ष निकालेको हो। यसैका आधारमा आयोगले तयारीसमेत सुरु गरेको छ।

आयोगले स्थानीय तह निर्वाचनको समीक्षा गर्दै केही छिटपुट कमजोरी भएको पनि ठहर गरेको छ।

एकै चरणमा चुनाव

स्थानीय तह निर्वाचनमा केही कमजोरी भए पनि आयोगले प्रदेश तथा संघीय निर्वाचन एकै चरणमा गर्न जोड गरेको छ। तर यसका लागि सुरक्षा र कर्मचारीगत समस्या सम्बोधन हुनुपर्ने आयोगको शर्त छ। 

‘हाम्रो हिसाबले प्रदेश र संघीय चुनाव मंसिरमा हुनुपर्छ,’ प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भने, ‘त्यसैका आधारमा आयोगले तयारी थालेको छ। कर्मचारीहरुलाई आवश्यक निर्देशन तथा जिम्मेवारी बाँडफाँड भइसकेको छ।’

‘बुढीगंगाजस्तो फितलो सुरक्षा र पुन: मतदान हामी चाहँदैनौं। त्यसैले यही अवस्था हुने हो भने हामी एकै चरणमा गर्न सक्दैनौं। हामी अब एउटा पनि दोहोरिन दिँदैनौं।’

उनले अहिले नै सरकारलाई मिति सिफारिस गर्ने बेला नभएको पनि बताए। स्थानीय तह निर्वाचनमा भएका कमजोरीहरु पहिचान गरेर त्यसका आधारमा निर्वाचन एक चरणमा गर्ने वा दुई चरणमा भन्ने टुंगो लाग्ने उनको भनाइ छ।

‘स्थानीय निर्वाचनमा जे-जे कमजोरीहरु भए तिनको पहिचान गर्दैछौं। जस्तो कि मतदाता नामावलीमै ठूलो समस्या देखियो। त्यसलाई सच्याउन काम थालिसकेका छौं। मतदानस्थल टाढा भएको, पुग्न ८ घण्टा लागेको ठाउँको समस्या पनि सम्बोधन हुनेगरी तयारी थालका छौं,’ उनले भने।

मंसिर १० गतेभित्र निर्वाचन सम्पन्न गर्ने मानसिकताका साथ आयोग अघि बढेको थपलियाले जानकारी दिए। ‘मिति सिफारिस गर्दा सर्वदलीय बैठक राखेर सिफारिस गर्छौं। अनौपचारिक तयारी थालेका छौं,’ उनले भने, ‘दुई चरणमै गर्नुपर्छ भन्ने होइन। अहिलेजस्तो सुरक्षा फितलो भयो भने एकै चरणमा गर्न सकिँदैन।’

उनका अनुसार आयोगले स्थानीय निर्वाचनमा कहाँ-कहाँ सुरक्षालगायत समस्या देखिएको छ, त्यसको विस्तृत विवरण सात दिनभित्र बुझाउन ७७ वटै जिल्ला सुरक्षा समितिलाई पत्र लेखेर पठाउने निर्णयसमेत गरेको छ। ‘जनशक्ति व्यवस्थापनको सन्दर्भमा पनि कर्मचारीहरुले यसपाली अलि त्रुटि गरे। त्यो पनि मगाएका छौ,’ थपलियाले भने।

राज्यका निकायबाट सुरक्षाको सुनिश्चितता भए आगामी चुनाव एकै चरणमा गर्न सकिने आयोगको ठहर छ। ‘यतिकै सुरक्षा व्यवस्था भयो भने एकै चरणमा गाह्रो हुने देखियो। किनभने हामी दोहोर्‍याएर चुनाव गर्ने पक्षमा छैनौं,’ प्रमुख आयुक्त थपलिया भन्छन्, ‘बुढीगंगाजस्तो फितलो सुरक्षा र पुन: मतदान हामी चाहँदैनौं। त्यसैले यही अवस्था हुने हो भने हामी एकै चरणमा गर्न सक्दैनौं। हामी अब एउटा पनि दोहोरिन दिँदैनौं। आयोगको दृष्टिकोणबाट एउटा पनि दोहोरिनु हुँदैन। सबै त्यही बेलुका सकिनुपर्छ।’

यो कुरालाई मध्यनजर गरेर कहाँ सुरक्षा कमजोरी भयो भनेर विवरण मागेको उनको भनाइ छ। ‘तीन चरण त हुँदैहुँदैन। एकै चरणमा सजिलो र उपयुक्त हुन्छ। तर सहज वातावरण बनेन भने दोस्रो चरणमा पनि जान सकिन्छ,’ थपलियाले भने, ‘तर हाम्रो प्रस्ताव एक चरण नै हुन्छ। हामी सुरक्षा निकायसँग बसेर कुराकानी गर्छौं। त्यसको सुझाव तल (जिल्ला सुरक्षा समिति)बाट लिने भनेका छौं।’

थपलियाले निर्वाचन एकै वा दुई चरणमा भए पनि मंसिर नकटाउने आयोगको तयारी रहेको बताए।

‘शेरबहादुर दाइको चाहना जतिसक्दो चाँडो चुनाव गराउने हो। अस्ति गठबन्धन बैठकमा पनि कात्तिक र ढिलोमा मंसिर पहिलो साता चुनाव गरौं भन्नुभयो। बरु गठबन्धनमा सिट बाँडफाँड अहिले नै गरौँ भन्नुभयो। पालिका निर्वाचनको नतिजाले कम्युनिस्टहरु मिल्छन् कि भन्ने शंका सभापतिज्यूमा देखियो।’

गठबन्धन पनि मंसिरमै गर्ने पक्षमा  

निर्वाचन आयोग मंसिरलाई डेटलाइन मानेर अगाडि बढेका बेला पाँच दलीय सत्ता गठबन्धन पनि कात्तिक वा मंसिरभित्रै चुनाव गराउने पक्षमा छ।

निर्वाचनको मिति आयोगले सिफारिस गरे पनि निर्णय भने मन्त्रिपरिषद्ले गर्छ। स्थानीय तहको निर्वाचन मिति आयोगकै सिफारिसमा सरकारले वैशाख ३० गते तोकेको थियो।

आयोगले दलहरुसँगको परामर्शमा निर्वाचन मिति सिफारिस गर्ने गर्दछ। आयोगले अनुकूल मौसम, खेतीपाती, तयारीलगायत कुराहरु विश्लेषण गरेर चुनावको मिति प्रस्ताव गर्दै आएको छ।

प्रमुख आयुक्त थपलिया चाडपर्वको बीचमा मंसिर महिना निर्वाचनका लागि उत्तम रहेको बताए। यद्यपि यसमा दलहरुसँग परामर्श गर्न बाँकी रहेको र मंसिरलाई डेटलाइन बनाएर मिति प्रस्ताव गरिने बताए। सामान्यतया निर्वाचन आयोगले १२० दिनअघि मिति सिफारिस गर्ने व्यवस्था छ।

सत्ता गठबन्धनमा पनि कात्तिक अन्तिम साता वा मंसिर पहिलो साताभित्रै छिटो निर्वाचन गराउनेगरी बहस अघि बढेकाले बेला मंसिरभित्रै चुनाव हुने पक्कापक्की देखिन्छ।

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा जतिसक्दो छिटो चुनाव गराउने मनस्थितिमा छन्। नेपाली राजनीतिमा वाम एकताको हल्लाले चर्चा पाएका बेला देउवा कम्युनिस्ट मिल्न नदिन र गठबन्धनलाई निरन्तरता दिएर चुनाव गराउन हतारोमा रहेको गठबन्धनमा नेताहरु बताउँछन्।

देउवानिकट एक नेता भन्छन्, ‘शेरबहादुर दाइको चाहना जतिसक्दो चाँडो चुनाव गराउने हो। अस्ति गठबन्धन बैठकमा पनि कात्तिक र ढिलोमा मंसिर पहिलो साता चुनाव गरौं भन्नुभयो। बरु गठबन्धनमा सिट बाँडफाँड अहिले नै गरौँ भन्नुभयो। पालिका निर्वाचनको नतिजाले कम्युनिस्टहरु मिल्छन् कि भन्ने शंका सभापतिज्यूमा देखियो।’

ती नेताका अनसार मंगलबार गठबन्धन दलका दोस्रो तहका नेताहरुको कार्यदल बैठक बसेको थियो। बैठकले असारभित्र सिट बाँडफाँट गर्ने सहमति गरेको छ। ‘मंसिरमा निर्वाचन पक्कापक्कीजस्तै छ। दिन तलमाथि होला,’ उनले भने, ‘गठबन्धनले आन्तरिक तयारी सुरु गरिसकेको छ। गठबन्धनभित्र सम्वाद सिट बाँडफाँटको चरणमा पुगेको छ,’ उनले भने। अन्नपूर्ण पोस्ट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय