ढल्केवर— ‘हमरा सबके पालामे अइज कुर्थी उब्जै छलै खैनी उब्जै छलै आ देखियो अखन धार बहै है (हाम्रो पालामा यहाँ कुर्थी र सुर्ती उब्जन्थ्यो अहिले हेर्नुस् यहाँ खोला बग्छ),’ खेतमा खोला बगेको देखाउँदै धनुषाको मिथिला नगरपालिका—५ श्रीपुरस्थित कटवाल टोलका ७२ बर्षीय परमेश्वर महतोले भने ‘त्यो सबै जोतसिम खेत थियो । खोला साङ्ग्रो थियो । अहिले खेत काटेर फैलिएको खोलाले किसानलाई बर्बाद बनाइदियो ।’

तटबन्ध गरेर आफूहरुको खेतबाली जोगाइदिन गुहार गरेपनि सुन्नेवाला कोही नभएको उनको दुखेसो छ । ‘हाम्रो यो जमिनलाई उब्जाउको मामिलामा सबैभन्दा टप मान्नुपर्छ । तर यो उत्कृष्ट खेतीयोग्य जमिन खोलामा परिणत हुँदैछ । खण्डर बन्दैछ । खेत जोगाउन हामी धेरै दिनदेखि तटबन्धको लागि प्रयास गर्दैछौं । तर कुनै सोर्स लागिरहेको छैन,’ गुनासो पाख्दै परमेश्वर भन्छन् ‘धेरै पहिला एउटा एन्जीओ बाला आएर खोलामा जाली लगाइदिन्छौं भन्यो । त्यसपछि कहिल्यै फर्केर आएन । बर्षेनी हाम्रो खेतबाली खोला बन्दै गएको छ । हामीसँग मन मार्नुको विकल्प छैन ।’

गाउँलेहरुले खोला उत्खनन्मा कडाइ गरेर धेरै किसान जोगिएको परेश्वर सम्झछन् । ‘बसही खोलामा हामी गाउँलेहरु मिलेर खोला खन्न रोकेका छौं । त्यैपनि चोरेर खन्छन् । आवाज उठाउँदा ठेकेदारहरु धम्काउन आउँछन्,’ उनी भन्छन् ‘हामीले खोलामा कडाइ नगरेको भए कति किसान खेतविहिन भइसकेको हुन्थ्यो । बस्ती नै बगाउने जोखिम हुन्थ्यो । अहिले पनि खोला उत्खनन् पूर्णरुपमा रोक्न सकेका छैनौं ।’

श्रीपुर गाउँकै अशोक कुमार महतोको पीडा परमेश्वरभन्दा कम्ती छैन । उनको झण्डै ३ कठ्ठा खेत खोलामा परिणत भएपछि बर्षेनी ५० हजारभन्दा बढी क्षति हुने गरेको अशोक सुनाउँछन् । ‘हामीले अहिले उत्खनन्मा धेरै कडाइ गरेका छौं । त्यही भएरपनि होला अहिले हाम्रो खेत अझै बाँचेको छ । उत्खनन् भको भए अहिले खेत नै रहदैनथ्यो,’ अशोक भन्छन् ‘सरकारले तटबन्ध गरेर भएपनि हामी किसानको खेत जोगाइदिनुपर्छ । हैन भने यहाँ भोकमरी लाग्छ । गाउँलेको मुख्य आम्दानीको स्रोत भनेको खेती किसानी हो । खेत नै बगायो भने सबै सकन्छ ।’

त्यहीका श्रीचरण महतोको एक विघा खेतीयोग्य जग्गा थियो । उनले त्यहाँबाट कृषिजन्य वस्तुभाउ उत्पादन गरेर मनग्य आम्दानी गर्थे । अहिले १५ कठ्ठामा खेती सीमित भएको उनले दुखेसो पोखे । ‘यहाँ तीन कित्ता गरेर १ विघा जमिन थियो । त्यहाँ खेती गरेर राम्रो आम्दानी हुन्थ्यो । घरवार चल्थ्यो । छोराछोरी पढाउन पुग्थ्यो । अहिले १५ कठ्ठा मात्रै बाँकी छ । ५ कठ्ठामा खोला बगिरहेको छ,’ श्रीचरण भन्छन् ‘अहिले छोराछोरी पढाउन त के खेतीको पैसाले घरवार चलाउन मात्रै पनि धौधौ हुन्छ । ऋण काढेर खेती लगायो । बाढीले बगाइदिन्छ । मिहिनेत गरेर हरियाली बनाएको खेत छनभरमै खोला बनाइदिन्छ ।’ किसानको खेत जोगाउन राज्य गम्भिर हुनुपर्ने उनको भनाइ छ ।

खोला उत्खनन् रोक्न जति प्रयास गरेपनि दिनानुदिन बढ्दै गएको मिथिला नगरपालिका–५ का वडाध्यक्ष रामचन्द्र महतो बताउँछन् । ‘उत्खनन् रोक्नका निम्ति सरोकारवाला सम्बन्धित निकायलाई जति ध्यानाकर्षण गरायो त्यति धेरै उत्खनन् बढ्छ,’ वडाध्यक्ष महतो भन्छन् ‘किसानको जमिन कटान गर्नुको मुख्य कारण भनेको खोला उत्खनन् हो । यसको नियन्त्रणका लागि सबै पक्ष गम्भिर भएर लाग्नुको विकल्प छैन ।’

बाढीले वितण्डा मचाएको बसही खोलाको मधेस प्रदेश सरकारका वन तथा वातावरण मन्त्री त्रिभुवन साहले शनिवार स्थलगत निरीक्षण गरे । भू तथा जलाधार व्यवस्थापन कार्यालय महोत्तरीका प्रमुखसहितका प्राविधिक टोलीलाई लिएर मन्त्री साहले धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरस्थित बसही खोलाको निरीक्षण गर्न पुगेका थिए । गत साता परेको अविरल बर्षासँगै आएको बाढीले श्रीपुर गाउँका मात्रै करिब दुई विघा जग्गा कटान गरेको हो । त्यहाँका किसाले उब्जाउने खेतीयोग्य जग्गा अहिले खोला बनेको छ ।

निरीक्षणका क्रममा मन्त्री साहसहितका टोलीले पिडित किसानको गुनासाहरु सुनेका थिए । किसानहरुले खेतीयोग्य जमिन कटान गरेपछिको पीडा मन्त्री साहलाई सुनाएका थिए । वडाध्यक्ष रामचन्द्र महतोले पनि बसही खोला र किसानको वस्तुगत स्थितीको बिषयमा ब्रिफिङ गरेका थिए ।

स्थलगत निरीक्षणपश्चात सञ्चारकर्मीलाई प्रतिक्रिया दिदैं मन्त्री साहले किसानको जमिन रक्षा गर्न आफू र प्रदेश सरकार पनि गम्भिर रहेको उल्लेख गरे । उनले नदी नियन्त्रणका उपायका विषयमा चाँडै छलफल गरेर योजनाबद्ध तरिकाले काम गर्ने तयारीका लागि नै स्थलगत निरीक्षण गरेको उनको भनाइ थियो ।

निरीक्षण टोलीमा रहेका भू तथा जलाधार व्यवस्थापन कार्यालय महोत्तरीका प्रमुख बेचन महतोले खेतीयोग्य जमिन कटान समस्याको मुख जड चुरेको अवैध दोहन र अवैज्ञानिक कृषि प्रणाली रहेको बताए । अहिले प्रभावित क्षेत्रको स्थलगत अवस्था बुझेर त्यसका विषयमा गम्भिर छलफल गरिने उनले जनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय