ढल्केवर— धनुषाको लालगढस्थित रहेको खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको आठ वर्षपछि छैठौं साधारणसभा सम्पन्न भएको छ । उपभोक्ताहरुको चरम असन्तुष्टिकाबीच शनिवार आदर्श राष्ट्रिय माध्यमिक विद्यालयको परिसरमा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको छैठौं साधारणसभा सम्पन्न भएको हो ।

अनियमितताको आरोपमा मुछिएका अध्यक्ष सुर्यप्रसाद पुडासैनीले लामोसमयसम्म साधारणसभा नगरी खानेपानीलाई बन्धक बनाएको भन्दै उपभोक्ताहरुले आक्रोश पोखेका थिए । पछिल्लो पटक २०७३ जेठ २९ गते सम्पन्न संस्थाको पाँचौं साधारणसभाबाट नेतृत्वमा निरन्तरता पाएका पुडासैनीले त्यसयता साधारणसभा नै गरेनन् ।

पुडासैनी नेतृत्वको समितिको पदावधी २०७८ जेठ २८ गते समाप्त भएपछि मिथिला नगरपालिका–१० का वडाध्यक्ष सविन विक्रम थापाको नेतृत्वमा तदर्थ समिति गठन गरिएको थियो । वडाध्यक्ष थापा नेतृत्वको समितिले छ महिनाभित्र साधारण सभा राख्न नसकेपछि मिथिला नगरपालिकाकाले स्थानीय भूपाल बरालको नेतृत्वमा तदर्थ समिति गठन गरेर पठाएका थिए ।

उक्त तदर्थ समितिले गत वर्षको जेठ ४ गतेको बैठकबाट शिवकुमार सुनुवारको संयोजकत्वमा सामाजिक लेखा परिक्षण समिति गठन गरेका थिए । उक्त समितिको सदस्यहरुमा बासु दाहाल, टोपप्रसाद अधिकारी, राजेश्वर सिंह र प्रह्लाद दाहाल रहेका थिए । ती समितिले सामाजिक लेखा परीक्षण प्रतिवेदन तयार गरी तदर्थ समितिलाई बुझाएपछि शनिवार तदर्थ समितिका अध्यक्ष भुपाल बरालको अध्यक्षतामा छैठौ साधारणसभा आयोजना गरिएको थियो ।

सो सामाजिक लेखा परीक्षण प्रतिवेदन साधारणसभामा प्रस्तुत गरेपछि कार्यक्रमका वक्ता र उपभोक्ताहरुले आक्रोशपूर्ण टिप्पणी गरेका थिए । सामाजिक लेखा परिक्षण समितिले ६ महिना लगाएर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको आर्थिक वर्ष २०७४÷०७५, २०७५÷०७६, २०७६÷०७७, २०७७÷०७८ को आय–व्ययको बिल भर्पाइ, भाउचर, लेखा परिक्षण प्रतिवेदन लगायतका कागजातहरु चेक जाँच गरी बुँदागत रुपमा तयार गरेको प्रतिवेदनबाट खानेपानी आयोजनामा चरम अनियमितता पुष्टि भएको उनीहरुले टिप्पणी गरेका थिए ।

साधारणसभामा प्रस्तुत गरिएको उक्त प्रतिवेदनमा समितिको आय–व्यय लेखा रजिष्टर, खाता वा अन्य कहिं कतै पनि नराखिएको, समितिको लेखा सिद्धान्त अनुसार आम्दानी खर्च व्यवस्थित रुपमा नराखिएको, खर्चको बिल भर्पाइमा खरिद गर्नेको र भाउचरहरुमा भाउचर उठाउनेको दस्तखत नगरेको पाइएको, विल भर्पाइ भाउचरहरु प्रमाणित नभएको, कुनै पनि भाउचरमा नम्बर नभएको, समितिले गरेको पाइपलाइन लिकेज वा अन्य मर्मत सम्भार कार्यमा कुन ठाउँमा गरिएको र दैनिक कति परिमाणमा कार्य गरियो भन्ने परिमाण समेत भर्पाइमा उल्लेख नगरिएको बुँदा सहितको प्रतिवेदन सार्वजनिक गरिएको छ ।

यस्तै मर्मत संभारका अधिकांश भर्पाइहरु अध्यक्षद्वारा हस्तलिखित पाइएको, कतिपय भर्पाइमा कामदारको हाजिरी र रकम बुझेको अर्थात रकम भुक्तानी लिने दिनेको दस्तखत नगरिएको, लेखा परिक्षण अनुसार अध्यक्षले पारिश्रमिक बुझेको देखिएकोमा पारिश्रमिक बुझेको भरपाई नगरिएको, आर्थिक वर्ष २०७७÷०७८ समितिको काममा इन्धन खर्च १ लाख ५२ हजार ८६० रुपैया देखाइएको भएपनि कहा के काममा ईन्धन खर्च भएको हो त्यो विल भर्पाइमा समेत उल्लेख नगरिएको प्रतिवेदनमा उल्लेख छ ।

त्यसैगरी जेसिविको र पाइपलाइन मर्मत खर्च बढी देखिएकोमा के काममा र कति परिमाणमा काम भयो भन्ने समेत उल्लेख नगरिएको, २०७७ साल कात्तिक देखि २०७८ बैशाख १० गतेसम्म विभिन्न मितिहरुमा काम गरेको कामदारहरुले ज्याला रकम बुझेको भर्पाइहरुमा दस्तखत नगरिएको प्रतिवेदनमा भनिएको छ ।

खानेपानीको पछिल्लो निर्वाचन मिति २०७३ जेठ २९ मा भएको र खानेपानीको विधान अनुसार समितिको कार्यकाल ५ वर्ष भएकाले त्यस समितिको पदावधी मिति २०७८ जेठ २८ मा समाप्त भएको हुँदा त्यस पछि भए गरेको काम कारवाहीहरु पूर्ण रुपमा अवैधानिक भएको सामाजिक लेखा परिक्षण समितिले ठहर गरेको छ । सञ्चालक समितिको बैठक रजिष्टर समेत उपलब्ध नगराइएको विषय सामाजिक लेखा परिक्षण प्रतिवेदनमा समावेश गरेको छ ।

प्रतिवेदनमा बैंक स्टेटमेन्ट अनुसार मेघा बैंक बर्दिवासमा ४ लाख ४२ हजार ३८३ रुपैया, बडहरी बचत तथा ऋण सहकारीमा ३ लाख ९१ हजार १८७ रुपैया र लालगढको सुलभ बचत तथा ऋण सहकारीमा २५ लाख ७८ हजार ८५८ रुपैया गरी कुल ३४ लाख १२ हजार ४२८ रुपैया खानेपानीको बचत रहेको समेत केलाएको छ ।

प्रतिवेदन उपर टिप्पणी गर्दै सभाका अधिकांश वक्ताले निर्वतमान समितिका अध्यक्ष पुडासैनीले आर्थिक अपचलन र खानेपानी व्यवस्थापन प्रणालीलाई घरायसी अवस्थामा पु¥याएको आरोप लगाए ।

मिथिला नगरपालिकाका मेयर महेन्द्र महतोले लालगढ खानेपानी आयोजनाको अवस्था जर्जर हुनुमा निर्वतमान अध्यक्ष पुडासैनी मात्र दोषी नरहेको बताउँदै समितिका अन्य पदाधिकारी र कर्मचारी पनि उत्तिकै दोषी भएको उल्लेख गरे ।

मिथिला नगरपालिकाकी उपमेयर सुनितासिंह बुढाथोकीले उपभोक्तसँग प्रत्यक्ष जोडिएको खानेपानी जस्तो समितिलाई राजनीतिकरणबाट टाढा राख्नुपर्ने धारणा राखिन् । “वर्तमान अवस्थामा खानेपानी सम्वेदनशील बन्दै गएको छ । जताततै खानेपानीको हाहाकार मच्चिएको छ । यस क्षेत्रमा अहिलेसम्म त्यस्तो अवस्था नआएपनि उपभोक्तालाई शुद्ध पानी उपलब्ध गराउनुका साथै मुहान संरक्षण र खानेपानी प्रणालीमा सुधार ल्याउन आवश्यक छ,” उनले भनिन् । साधारणसभाको नयाँ नेतृत्व चयनका लागि पाँच सदस्य अध्यक्ष मण्डल चयन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय