ढल्केवर— नेपाल चार्टर्ड एकाउण्टेण्ट्स सघंको ३५औ प्रदेश तथा जिल्ला कमिटीमा निर्वाचित पदाधिकारीहरुले सपथ ग्रहण गरेका छन् । शनिवार धनुषाको ढल्केवरमा आयोजत एक समारोहकाबीच मधेस प्रदेश तथा जिल्ला समितिका पदाधिकारीहरुले सपथ ग्रहण गरेका हुन् ।

गत बैशाख २९ गते नेपाल चार्टर्ड एकाउण्टेण्टस सघंको ३५औ कार्यसमितिका लागि एकैसाथ केन्द्र, प्रदेश र जिल्ला समितिको निर्वाचन भएको थियो । उक्त निर्वाचनबाट संघ मधेश प्रदेश अध्यक्षमा प्रमोद कुमार साह निर्विरोध निर्वाचित भएका थिए । संघको प्रदेश सचिवमा सन्तोष गुप्ता, कोषाध्यक्षमा चित्रसेन साह र सदस्यहरुमा विकाश जयस्वाल र अमित पौडेल गरी ५ सदस्यीय समिति निर्विरोध निर्वाचित भएका थिए ।

यस्तै संघको धनुषा सभापतिमा मनोज मण्डल, उपसभापतिमा मिथलेश्वर साह, सचिवमा संतोष साह, कोषाध्यक्षमा रविन्द्र कुमार महतो र सदस्यहरुमा आशिष कुमार ठाकुर, हेमशंकर साह र कुमार यादव निर्विरोध निर्वाचित भएको संघले जनाएको छ । त्यसैगरी पर्सा च्यापटरका सभापतिमा गणेश ठाकुर, उपसभापतिमा आनन्द कुमर, सचिवमा देवराज सर्राफ, कोषाध्यक्षमा नारायण साह र सदस्यहरुमा बालकृष्ण झा र गजेन्द्र कुमार गुप्ता निर्विरोध निर्वाचित भएका थिए ।

निर्वाचित मधेस प्रदेश र जिल्लाका सबै पदाधिकारीहरुले शनिवार प्रमाणपत्र ग्रहण गर्दै सपथ खाएका छन् । उनीहरुलाई संघका केन्द्रीय अध्यक्ष अरुण राउतले सपथ खुवाएका हुन् ।

प्रदेश तथा जिल्ला समितिको सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका मधेस प्रदेश संसदीय दलका प्रमुख सचेतक हरिनारायण महतोले खरीद ऐनकै कारण भ्रष्टाचार मौलाएको बताएका छन् । खरीद ऐनमै भएका कतिपय त्रुटीका कारण भ्रष्टाचार बढेको उनले उल्लेख गरेका हुन् ।

प्रदेश र स्थानीय तहमा चार्टर्ड एकाउण्टेण्ट्सको भूमिका विषयक छलफल समेत राखिएको उक्त कार्यक्रममा प्रमुख सचेतक महतोले २०२६ सालमा बनेको खरीद ऐनमा थुप्रै कुराहरु सुधार तथा परिवर्तनको आवश्यकता रहेको औल्याए ।

‘२०२६ सालमै बनेको खरीद ऐन अनुसार अहिले पनि खरीद भइरहेको छ । भ्रष्टाचारको जड त्यो खरिद प्रक्रिया पनि हो एउटा । त्यसमा थुप्रै सुधार र परिवर्तन आवश्यक छ,’ महतोले भने ।

मधेस प्रदेशसभाका लेखा समितिको सदस्य समेत रहेका प्रदेशसभा सदस्य महतोले चार्टर्ड एकाउण्टेण्टलाई एउटा अर्थविद्को रुपमा पनि लिन सकिने उल्लेख गरे । उनले चार्टर्ड एकाउण्टेण्ट(सीए) गौरवान्वित उपनाम रहेको भन्दै चार्टर्ड एकाउण्टेण्टहरुको प्रशंसा गरे । प्रदेश तथा स्थानीय तहहरुमा विभिन्न प्रकृतिका बेरुजुहरु बढेको बताउँदै उनले त्यो नियन्त्रणको लागि चार्टर्ड एकाउण्टेण्टहरु भूमिका अपरिहार्य रहेको बताए ।

कार्यक्रममा मधेस प्रदेश सरकारका अर्थ सचिव सुवासचन्द्र शिवाकोटी, प्रदेश लेखा नियन्त्रक कार्यालय मधेस प्रदेशका प्रमुख डा. वीरेन्द्र कुमार मिश्र, नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघका केन्द्रीय अध्यक्ष अरुण राउत, नाडा अटोमोबाइल्स एशोसिएसनका केन्द्रीय उपाध्यक्ष तेजनारायण साहलगायतले प्रदेश र स्थानीय तहमा चार्टर्ड एकाउण्टेण्ट्सको भूमिका विषयक छलफल कार्यक्रममा आ–आफ्नो धारणा प्रस्तुत गरेका थिए ।

कार्यक्रममा मिथिला नगरपालिका–६ का वडाध्यक्ष नन्दकिशोर यादव, मिथिला ब्याडमिन्टन क्लवका अध्यक्ष संतोष कुमार महतो, मिथिला उद्योग वाणिज्य संघ ढल्केवरका महासचिव दिपक लामालगायतका अतिथी तथा प्रदेशभरीका चार्टर्ड एकाउण्टेण्टहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय