धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ पुलचोकका ५७ बर्षीय नन्दा मुखिया १६ दिनदेखि पैदल हिँडिरहेका छन् । चुरे, वनजंगल बचाऔंका नारा लिएर आफ्नो न्याय समेतका लागि उनी पैदल काठमाडौं हानिएका हुन् ।

गत बुधवार धनुषाको ढल्केवरस्थित सडक किनारमा सुस्ताइरहेका नन्दाले सानो स्वरमा भने, ‘थोरे चलैछी तैयो दम फुल लगैय बौवा, जायके त काठमाण्डुल हैं हमरा सबके (अलिक हिँड्दा पनि मेरो दम बढ्छ बाबु, जानु त काठमाडौं छ हामीलाई) ।’

झोलाबाट औषधि निकालेर देखाउँदै उनले दवाई खाँदै बाटो काटीरहेको सुनाए । काठमाडौं नपुगेसम्म न्याय नपाउने निश्चित भएपछि आफूहरु अन्तिम संघर्षमा उत्रिएको उनी सुनाउँछन् । उनी जनकपुरको पुलचोकस्थित ऐलानी जग्गामा झुप्रो बनाएर बस्दै आएका छन् । गत जेठ महिनामा वडाध्यक्षले डोजर लगाएर घर भत्काइदिएपछि प्लाष्टिकको छानोले टहरा बनाएर बस्दै आएको नन्दा बताउँछन् । त्यही टहरामा उनले ६ जनाको परिवार पालिरहेका छन् । अहिले पनि उठिबासको धम्कीले त्रासमा बाँचिरहेको उनले दुखेसो पोखे । नन्दा भन्छन्, ‘रोडमा आइसकेका छौं हामी । सरकारले हामीलाई दुई धुरको भएपनि लालपूर्जा देओस् । त्यसमा सानो घर बनाएर चैनले बाँच्ने रहर छ ।’

लालपूर्जाभन्दा नन्दा पानीका लागि चिन्तित छन् । मधेसका गाउँघरमा आगो निभाउने दमकलबाट पिउने पानी वितरण भइरहेको उदाहरण दिँदै नन्दाले भने ‘हेर्नुभयो होला फोटो । कति दर्दनाक छ अवस्था ? कल इनार सबै सुकिसक्यो ।’
पानीका लागि चुरे संरक्षणको अन्य कुनै विकल्प नरहेको उनले जिकिर गरे । ‘चुरे बचाउ जंगल जोगाउ । अनि खोलामा पानी आउँछ । त्यसले कल इनारलाई सुक्न दिँदैन । अहिले त अनिकाल लागिसक्यो । हे भगवान,’ हातले टाउकोमा पिट्दै नन्दाले भने । उनले चुरे संरक्षणको अभियान र भूमिहिनको आन्दोलन सँगसँगै काठमाडौं लगिरहेको बताए ।

गएको बैशाख १७ गतेदेखि सप्तरीको भारदहबाट पैदल यात्रा सुरु गर्ने नन्दा एक्ला व्यक्ति होइनन् । उनीसँगै दुईदर्जन बढी व्यक्ति संघीय राजधानी काठमाडौं पुग्न पैदल हिँडिरहेका छन् । चुरे तथा वन जंगल संरक्षण अभियानका संयोजक सुनिल यादवको नेतृत्वमा सप्तरीबाट १६ दिन पैदल हिँडेर आईतबार बाराको निजगढ पुगेका उनीहरु सिंघदरबार पुग्दासम्म न्याय पाउनेमा विश्वस्त छन् ।

पदयात्रामा सहभागी सिरहाको लहान नगरपालिका–२ मटिहर्वाका ५३ बर्षीया गेनादेवी सदा आफ्नो दाईको मृत्युले शोकमग्न छन् । ‘सुरुकै दिन घरबाट दाजुको अवस्था खराब भयो भनेर खबर आएपछि घर फर्के । दाईलाई पानी खुवाउन पाएँ । बचाउन सकिएन,’ भावह्लि भएकी गेनाले भनिन् ‘हामी पनि लास जस्तै बाँचीरहेका छौं । पीडा भनिसाध्य छैन । सरकार गुहार्नुको विकल्प भेटएन ।’

भभरा नदि किनारको ऐलानी जग्गामा बनाएको घरमा पनि उठिबासको सूचना टाँस हुँदा बाँच्नै कठिन भएको उनले दुखेसो पोखिन् । नगरपालिका, नगरप्रहरीले ज्यादती गरेपछि उच्च अदालत राजविराजमा सार्वजनिक मुद्दा हालेको उनले सुनाइन् । ‘मुद्दाको पनि कुनै सुनवाई छैन । उठीबासको धम्की आकोआयै छ,’ बोल्दाबोल्दै भक्कानिएकी गेनाले भनिन् । अहिले नेताहरु घर पुगेरै धम्की दिन थालेपछि न्यायको खोजीमा घर छोडेको उनले सुनाए । यो पदयात्रालाई अन्तिम संघर्षको रुपमा लिएको बताउँदै उनले न्याय नपाएसम्म घर नफिर्किने बताइन् ।

पदयात्रामा सहभागीहरुको पीडा कोही भन्दा कसैको कम छैन । उनीहरु भूमिहिनसँगसँगै खानेपानीको लागि लडिरहेका छन् । सहभागीहरुले माटो र प्लाष्टिकको भाँडोमा ‘पानी दे सरकार, चुरे र वनको संरक्षण गर’लगायतका नाराहरु लेखेर सरकारमाथि दबाब बढाउँदै राजधानीतिर पाइला सारिरहेका छन् ।

सप्तरीको भारदहबाट सुरु गरिएको पदयात्रा बर्दिबास, पथलैया, चितवन हुँदै काठमाडौँसम्म पुग्ने चुरे तथा वनजंगल संरक्षण अभियानका संयोजक सुनिल यादवले बताए । उनले चुरे तथा वनजंगल संरक्षण अभियान र भूमिहिन सुकुम्बासीको मुद्दामा तीनैतहको सरकार बहिरो बनेको टिप्पणी गरे ।

चुरे क्षेत्रको अतिक्रमित जग्गा खाली गराएर वन क्षेत्रमा फर्काउनुपर्ने, सङ्घीय सरकारले ल्याइएको ढुङ्गा, गिट्टी र बालुवा निकासी गर्ने विधेयक तत्काल खारेज गर्नुपर्ने, भूमि आयोग गठन गरी भूमिहीन तथा अव्यवस्थित बसोबासीहरुका लागि भूमिको व्यवस्था गर्नुपर्ने तथा मधेश प्रदेश वन प्रशासनलाई प्रभावकारी काम गर्ने योग्य बनाउनुपर्नेजस्ता मागहरु अघि सारिएको उनको भनाइ छ ।

मधेश प्रदेशको सप्तरीदेखि पर्सा जिल्लामा पर्ने नदीनालाई प्रदूषण, अतिक्रमण र अवैध उत्खननमुक्त बनाउनुपर्ने, ओमप्रकाश महतो भन्ने दिलीप महतोलाई पर्यावरण सहिद घोषणा गरी घरका सदस्यलाई रोजगार दिनुपर्ने, विभिन्न परियोजना तथा विकासका नाममा चुरे तथा वनजङ्गल मास्ने कार्य बन्द हुनुपर्ने, मधेश प्रदेश वन तथा वातावरण मन्त्रालयको विभिन्न योजनामा भएको भ्रष्टाचारको छानबिन हुनुपर्नेलगायतका ११ बुँदे पूरानै मागलाई लिएर पदयात्रामा उत्रिएको संयोजक यादवले बताए ।

करिब एकदशकदेखि आन्दोलन गर्दै आएको स्मरण गर्दै संयोजक यादवले विगतमा मधेश सरकारले सम्झौता गरेको सात बुँदे सहमति कार्यान्वयनमा बेइमानी गरेको आरोप लगाए । ‘यसपटकको आन्दोलन शसक्त हुन्छ । सरकार नबिउझिएसम्म हाम्रो संघर्ष चलिरहन्छ । आधार र विश्वासको वातावरण नबनाएसम्म फर्किदैनौं,’ संयोजक यादवले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय