वीरगन्ज— सप्तरीको महदेवा गाउँपालिकाको वडा नम्बर १ चिम्टी टोलमा हिजो (मंगलबार) भीषण आगलागी भयो । आगलागीबाट करिब ५० भन्दा बढी घर जलेर खरानी भए ।

टोलका नुथन यादवको घरमा खोले पकाउन बालिएको आगो सल्केर पूरै बस्तीलाई जलाएको प्रहरीले जानकारी दिएको छ ।

हावाहुरी चलेको बेला आगलागी भएकाले आगोले पूरै बस्ती छोएको प्रहरी जनाउँछ । आगलागीबाट के कति क्षति भयो भन्नेबारे विवरण सङ्कलन भइरहेकाले अहिलेसम्म यकिन हुन नसकेको सप्तरी प्रहरी प्रवक्ता ढुण्डीराज न्यौपाने बताउँछन् ।

रेडक्रस, प्रहरीसहितका सङ्घसंस्थाहरूले क्षतिबारे विवरण सङ्कलनको कार्य गरिरहेको प्रहरी प्रवक्ता न्यौपानेले जनाए ।

सप्तरीमा भएको आगलागीबाट घर, चौपाया, भकारी, अन्नपात, लत्ताकपडा, भाँडाकुँडा, गोठसहित अन्य सामान जलेर खरानी भएको प्रहरीले जनाएको छ ।

सप्तरीमा भएको आगलागीको ठिक ७ दिन अगाडि महोत्तरीमा पनि भीषण आगलागी भएको थियो ।

महोत्तरीको मटिहानी नगरपालिकाको पछिहारी टोलमा भएको आगलागीमा १०३ वटा घर जलेर खरानीमा परिणत भए । बस्तीका ५७० जना आगलागीबाट घरविहीन भएका छन् ।

मटिहानीको आगलागीबाट १ करोड ६० लाख रुपैयाँ बराबरको क्षति पुगेको महोत्तरी प्रहरी प्रमुख नकुल पोखरेलले जनाए ।

पर्सामा पनि वैशाख ८ गते  आगलागी भयो । छिमेकी देश भारतको गहुँको खेतमा लगाइएको आगो फैलिएर पर्साका ४ वटा घर खरानी बनायो ।

गहुँको छ्वाली जलाउन लगाइएको आगोको झिल्का उछिट्टिएर छिपहरमाइ गाउँपालिकाको ४ घर जलेको हो ।

उक्त आगलागीबाट घर, कुखुरा फर्म, गोठ पूर्णरुपमा जलेर नष्ट भएको पर्सा प्रहरीले जनाएको छ ।

मधेस प्रदेशका अधिकांश जिल्ला अहिले आगलागीको कहरबाट प्रभावित छन् । मधेस प्रदेश प्रहरीका अनुसार चालु आर्थिक वर्षको १० महिनामा मात्रै प्रदेशभर १२ सय आगलागीका घटना भएका छन् ।

चालु आर्थिक वर्षको साउनदेखि वैशाख १५ गतेसम्ममा प्रदेशका ८ वटै जिल्लामा १ हजार १९९ वटा आगलागीका घटना भएको प्रहरी तथ्याङ्क छ ।  

२० जनाको मृत्यु

करिब १० महिनामा भएका यी आगलागीका घटनामा परेर मृत्यु हुनेको सङ्ख्या पनि डरलाग्दो छ । आगलागीका कारण मधेस प्रदेशमा २० जनाको मृत्यु भएको प्रहरी तथ्याङ्क छ ।

चालु आर्थिक वर्ष प्रदेशभर भएका आगलागीका घटनाबाट २० जनाको मृत्यु भएको तथा १२० जना घाइते भएको मधेस प्रदेश प्रहरी प्रवक्ता सुभास बोहोराले बताए ।

उनका अनुसार मानवीय क्षतिसँगै २०३ वटा चौपायाको मृत्यु भएको र ११२ वटा घाइते भएको विवरण छ । आगलागीबाट यो अवधिमा ५६१ वटा पक्की तथा कच्ची घर जलेर नष्ट भएको प्रहरी आँकडा छ । यसैगरी २२७ वटा गोठ जलेर नष्ट भएको मधेस प्रदेश प्रहरी प्रवक्ता बोहोरा बताउँछन् ।

कुन जिल्लामा कति घटना ?

गर्मीयाम सुरु भएसँगै आगलागीका घटना बढ्न थालेको प्रहरीको भनाइ छ । पछिल्लो समय हरेक जिल्लामा आगलागीका घटना बढेको मधेस प्रदेश प्रहरीले जनाएको छ ।

प्रदेश प्रहरीले सङ्कलन गरेको विवरणमा हरेक जिल्लामा आगलागीका घटना भएका छन् । मधेसको सिरहा जिल्लामा सबैभन्दा बढी आगलागीको घटना भएको प्रहरीको तथ्याङ्कले देखाउँछ । आगलागीका घटना कम भएको जिल्ला सर्लाही हो ।

सिरहामा २१६ वटा र सर्लाहीमा १०४ आगलागीका घटना भएको प्रहरीको अभिलेख छ । यसैगरी सप्तरीमा  १७२, धनुषामा  १४५, महोत्तरीमा १३०, रौतहटमा १८३, बारामा १२१ र पर्सामा १२८ वटा आगलागीको घटना भएको प्रदेश प्रहरीको तथ्याङ्क छ ।

कति क्षति ?

आगलागीका कारण प्रदेशमा १० महिनाभित्र करिब आधा अर्ब बराबरको धनमाल जलेर खरानी भएको तथ्याङ्क छ ।

प्रदेश प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार ८ वटै जिल्लामा ४४ करोड ५४ लाख ६४ हजार ४३२ रुपैयाँ बराबरको धनमाल जलेर खरानी भएको छ ।

प्रहरीका अनुसार सप्तरीमा ५ करोड ४१ लाख, सिरहामा ८ करोड २० लाख, धनुषामा ८ करोड ४९ लाख, महोत्तरीमा ४ करोड १४ लाख, सर्लाहीमा ३ करोड ४१ लाख रुपैयाँ बराबरको अनुमानित क्षति भएको छ । यसैगरी रौतहटमा ४ करोड ९८ लाख, बारामा ४ करोड १७ लाख र पर्सामा ५ करोड ७२ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरी विवरण छ ।

आगलागीका घटना किन बढ्यो ?

प्रदेशका अधिकांश जिल्लामा आगलागीको घटना भएको छ । दिनहुँजसो कहीँ न कहीँ आगलागीका घटना भइरहेका छन् ।

एक्कासी गर्मी बढेसँगै आगलागीका घटना बढ्न थालेको प्रहरीको भनाइ छ । प्रदेश प्रहरी प्रवक्ता बोहोराका अनुसार मधेस प्रदेशमा ह्वात्तै गर्मी बढ्दै गएको छ, तालो हावाहुरी पनि चलिरहेको छ । यस कारण पछिल्लो समय आगलागीका घटना बढ्न थालेको उनको विश्लेषण छ ।

उनका अनुसार मुख्यतः २ कारणले आगलागीका घटना भइरहेका छन् । प्राविधिक गडबडी र मानवीय लापरबाहीका कारण आगलागीका घटना भइरहेको उनले बताए ।

बोहोरा भन्छन्, ‘प्राविधिक गडबडीमा इलेक्ट्रिक सर्टलाई लिन सकिन्छ । जसलाई टेकनिकल इरर भनिन्छ । अर्को हो मान्छेका गल्तीका कारण । यसमा मान्छेले जथाभावी चुरोट खाएर फ्यालदिने, आगो बालेर लापरबाही गर्ने जस्ता गतिविधि पर्छन् ।’

जेसुकै कारणले भए पनि यो गम्भीर विषय रहेकाले पछिल्लो समय प्रदेश प्रहरीले जनचेतनामूलक काम गर्न मातहतका निकायलाई निर्देशन दिएको उनी बताउँछन् । उनका अनुसार सामुदायिक प्रहरी कार्यक्रममार्फत प्रहरीले सूचनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ ।

के गर्दैछ प्रदेश सरकार ?

आगलागीका घटनाले प्रदेश आक्रान्त बनिरहँदा प्रदेश सरकार भने यसको नियन्त्रण तथा न्यूनीकरणमा खासै तदारुकताका साथ अघि बढ्न सकेको छैन ।

आगलागी प्रभावितका लागि समेत प्रदेश सरकारले राहत उपलब्ध गराउन सकिरहेको छैन । प्रदेशका मुख्यमन्त्रीदेखि मन्त्रीहरू आगलागी भएको क्षेत्रमा निरीक्षणका लागि पुगे पनि राहत उपलब्ध गराउन उदासीन देखिएको छ ।

मधेस प्रदेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखी आगलागी न्यूनीकरणका लागि पूर्वतयारीमा प्रदेश सरकार चुकेको स्वीकार गर्दछन् ।

उनका अनुसार मन्त्रालयमा बजेट अभाव भएकाले यस्ता कार्यक्रम सञ्चालन गर्न नसकिएको हो । उनी भन्छन्, ‘योसँगै हामीलाई घटनाबारे सूचनाको अभाव छ । जिल्ला प्रशासन कार्यालयहरू हाम्रो मातहतमा नहुँदा उत्ताबाट सिधै हामीलाई सूचना आउँदैन । ढिलैगरी सूचना आउँछ, यही कारण राहत प्याकेजहरू घोषणा गर्न सकिरहेका छैनौँ ।’

तर त्यसका बाबजुद पनि घटनाको जानकारी पाएलगत्तै सुरक्षा निकायसहितका अन्य निकायहरूलाई उद्धार तथा राहत वितरणमा जुट्न तत्काल निर्देशन दिने गरिएको उनको भनाइ छ । रातोपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय