सर्लाही— सर्लाहीका पत्रकार शंकर पहाडी ठगी आरोपमा पक्राउ परेका छन् । 

सिन्धुलीको तीनपाटन गाउँपालिका १० घर भई हाल सर्लाहीको लालबन्दीमा बस्दै आएका एसपी गौरव भनिने ३२ वर्षीय पहाडीलाई ठगी आरोपमा बुधबार बिहान लालबन्दी बजारबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । 

पहाडी राष्ट्रिय समाचार समिति सर्लाहीका सम्बाददातासमेत हुन् । उनले कमलामाई नामको अनलाइनसमेत सञ्चालन गर्दै आएका छन् । 

कागजपत्र बिनाको बा२७ प २९५२ नम्बरको मोटरसाइल ५० हजार रुपैयाँमा बिक्री गरेर ठगी गरेको आरोपमा उनलाई पक्राउ गरिएको इप्रका हरिवनका प्रहरी निरीक्षक (इन्सपेक्टर) अनिल गिरीले जानकारी दिए ।  

इन्सपेक्टर गिरीका अनुसार उक्त मोटरसाकल सिन्धुलीका एक व्यक्तिलाई बिक्री गर्दा पहाडीले त्यसको सवारी दर्ता किताव १ हप्तापछि दिने र सम्बन्धित निकायबाट नामसारी गरीदिने भनेर ५० हजार रुपैयाँमा लिएका थिए । 

तर, अहिलेसम्म उक्त मोटरसाइकलको सवारी दर्ता किताव सम्बन्धित व्यक्तिलाई नदिएको र उक्त मोटरसाइकलसमेत निजको नाममा दर्ता नरहेको पाइएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल खरिद गर्ने सिन्धुलीका एक व्यक्तिले दिएको जाहेरीको आधारमा उनलाई पक्राउ गरिएको गिरीले बताए । 

‘पहाडीलाई सर्लाही जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर बुधबार बिहान लालबन्दी नगरपालिका ६ स्थित लालबन्दी बजारबाट पक्राउ गरी थप अनुसन्धान अघि बढाएका छौँ,’ गिरीले भने । 

पत्रकारिताको आवरणमा ठगी धन्दा चलाएको भन्दै प्रेस सेन्टर मधेस प्रदेशले पहाडीलाई एक वर्षअघि नै संगठनबाट निस्कासन गरेको थियो ।

पत्रकारिता क्षेत्रकै बदनाम गरेको भन्दै प्रेस सेन्टर सर्लाहीले पनि त्यतिबेलै उनलाई संगठनको जिल्ला अध्यक्षबाट हटाएको थियो । तर, उनले अहिले पनि ‘प्रेस सेन्टर सर्लाहीको अध्यक्ष मै हुँ’ भन्दै कतिपय बेला विज्ञप्ति जारी गर्दै आएका थिए । 

यसअघि पहाडीले आफू ‘प्रहरीको एसपीको बडीगार्ड हुँ’ भन्दै व्यापारीलाई धम्की दिएर पैसा असुल्ने गरेको अडियोसमेत सार्वजनिक भएको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय