धनुषा— प्रथम मदन भण्डारी कप महिला राष्ट्रिय हक्की प्रतियोगितामा कोशी प्रदेश, लुम्बिनी प्रदेश र विभागिय टोली त्रिभुवन आर्मी क्लवले विजयी सुरुवात गरेका छन् ।

मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा धनुषाको महेन्द्रनगरस्थित क्षीरेश्वर जनता माध्यमिक विद्यालयको खेल मैदानमा सोमवारबाट सुरु भएको प्रतियोगितामा कोशी प्रदेश, लुम्बिनी प्रदेश र विभागिय टोली त्रिभुवन आर्मी क्लवले विजयी सुरुवात गरेका हुन् ।

प्रतियोगिता उद्घाटनको पहिलो दिन भएको तीनवटा खेल अन्तर्गत पहिलो खेलमा मधेस प्रदेशलाई २–३ गोलले हराउँदै कोशी प्रदेशले जित निकालेको हो । कोशीका लागि सुप्रिया टिगाले दुई र हरिसिता कनौजीले १ गोल गरेकी थिइन् भने मधेसका लागि प्रिती र शुभमले समान १–१ गोल गरिन् । उक्त खेलको वुमन अफ दि म्याच कोशीकी सुप्रिया टिगा भइन् ।

बागमती र लुम्बिनीबीच भएको दोस्रो खेलमा बागमती प्रदेशलाई ०–५ ले पराजित गर्दै लुम्बिनी प्रदेशले सहज जित निकाल्यो । लुम्बिनीका लागि अनन्या वर्णवालले सर्वाधिक ३ गोल तथा अर्चना साहिव र आर्टिकुलर कुमारी बरमैदले समान १–१ गोल गरिन् । सो खेलमा लुम्बिनीकी अनन्या वर्णवाल वुमन अफ दि म्याच घोषित भइन् ।

सोमवार मदन भण्डारी स्पोटस् एकेडेमी र विभागी टोली नेपाल आर्मीबीच भएको अन्तिम खेलमा मदन भण्डारी स्पोटस् एकेडेमीलाई ३–१ गोलले हराउँदै नेपाल आर्मी विजयी भएका छन् । आर्मीका लागि डम्मरा भट्टले सर्वाधिक दुई तथा निलिमा पाण्डेले १ गोल गरिन् । मदन भण्डारी स्पोटस् एकेडेमीका लागि सपना मण्डलले खेलको ४४ मिनेटमा गरेको पहिलो गोल नै टिमका लागि अन्तिम गोल रह्यो । उक्त खेलमा आर्मीकी डम्मरा भट्टले वुमन अफ दि म्याचको उपाधि हात पारिन् ।

फाल्गुन १९ गतेसम्म चल्ने उक्त प्रतियोगिताको सोमवार पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छिन् । प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले यो राष्ट्रिय हक्की प्रतियोगिताले नेपाली खेलकुदको विकासमा नयाँ आयाम थपिएको विश्वास व्यक्त गरिन् ।

मिथिला सांस्कृतिक केन्द्र र ऋषि मुनिहरुको तपोभूमी भएको उल्लेख गर्दै पूर्वराष्ट्रपति भण्डारीले ज्ञानभूमीको रुपमा सुपरिचित जनकपुरमा यो राष्ट्रिय स्तरको खेलले यहाँ खेलभूमिको परिचय थपिनेमा पनि आफू विश्वस्त रहेको औल्याइन् ।

उनले प्रथम मदन भण्डारी महिला हक्की प्रतियोगिताले समाजमा रहेको लैङ्गिक विभेद अन्त्य गर्दै महिला सशक्तीकरणमा महत्वपूर्ण भूमिका खेल्ने आशा व्यक्त गरिन् । पूर्व राष्ट्रपति भण्डारीले नेपालमा खेलकुदको पूर्वाधारको अभाव तथा खेलाडीमा राज्यको लगानी कम भएपनि नेपाली खेलाडीले अन्तर्राष्ट्रिय जगतमा गरेको प्रदर्शनको उच्च प्रशंसा गर्दै खेलकुदको विकासमा राज्यले बढी लगानी गर्न जरुरी रहेको बताइन् ।

उनले विद्वान, विदुषीहरूको भूमिका रुपमा रहेको जनकपुरधाममा यस्ता प्रकारको राष्ट्रिय प्रतियोगिताको आयोजनाले खेलकुदको भूमिका रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा परिचित हुने विश्वास व्यक्त गरिन् ।

प्रतियोगितामा कर्णाली बाहेक ६ वटा प्रदेश, नेपाली सेनाको विभागीय टोली त्रिभुवन आर्मी क्लव र एउटा आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीका टोली गरी ८ वटा टिमको सहभागी रहेका छन् ।

प्रतियोगितामा प्रथम हुने टिमलाई १ लाख ५० हजार, द्वितिय टिमलाई १ लाख र तृतिय हुने टिमलाई ५० हजार पुरस्कार प्रदान गरिने मदन भण्डारी स्पोर्टस् एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले बताए ।

मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा धनुषाको महेन्द्रनगरस्थित क्षीरेश्वर जनता माध्यमिक विद्यालयको खेल मैदानमा सोमवारबाट सुरु भएको प्रथम मदन भण्डारी कप महिला राष्ट्रिय हक्की प्रतियोगिताको उद्घाटन समारोहमा रंगदर्पणको झिझिया प्रस्तुती

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय