• विजय कुमार सिंह

धनुषा— पूर्वपश्चिम राजमार्गमा अवस्थित छ, सुकजोर खोलाको पुल । धनुषाको मिथिला नगरपालिका–७ स्थित रहेको उक्त पुलको उत्तरपट्टी छ– नगरपालिकाको प्रशासनिक भवन । र, त्यसको ठ्याक्कै ‘अपोजिट’मा छ, झण्डै ३० घरको सुकुम्बासी बस्ती ।

स्थानीय सरकारको सिंहदरबार भन्ने पालिकाको प्रशासनिक भवनभन्दा करिब एकसय मिटिरको दुरीमा रहेको ती बस्तीका बासिन्दाले जनप्रतिनिधिको प्रत्याभूती गर्न भने पाएका छैनन् । स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने नागरिकको मौलिक हक हो । तर, यसका लागि उनीहरुले जनप्रतिनिधिलाई गुहार गर्दा समेत बेवास्तामा परेका छन् ।

नेपालको संविधानको धारा ३० मा प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हक तथा बातावरणीय प्रदुषण वा ह्रासबाट हुने क्षतिवापत क्षतिपूर्ति पाउने हक हुने व्यवस्था गरिएको छ । वातावरण विनाश वा ह्रास वा प्रदुषणबाट कसैलाई हानि पुग्न गएमा प्रदुषकले नै पुग्न गएको क्षति वापत क्षतिपूर्ति तिर्नुपर्ने व्यवस्थाले प्रदुषणकर्तालाई जवाफदेही तुल्याई स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई मर्यादित तुल्याइएको छ ।

तर, नागरिकको त्यो मौलिक हकलाई लत्याउँदै वर्षौदेखि दुग्ध विकास संस्थान मातहत रहेको जनकपुर दुग्ध वितरण आयोजना ढल्केवर(डिडिसी)ले आफ्ना आयोजनाको दुषित पानी बस्तीसँगै जोडिएको सुकजोर खोलामा छोड्दा अहिले बस्तीमा कोलाहल मचेको छ । दुषित पानीले वर्षौदेखि दुर्गन्धित बनेको बस्तीमा केहीदिनयता खसी–बाख्राहरु भटाभट मर्न थालेपछि त्यहाँका बासिन्दाहरु चिन्तामा डुबेको नेपाल सुकुम्बासी तथा अव्यवस्थित बसोबास संघका मधेस प्रदेश अध्यक्ष समेत रहेका स्थानीय शिवचन्द्र यादव बताउँछन् ।

‘यहाँ कोही कसैलाई कुनै रोजगार छैन । अन्य कुनै आयस्रोत छैन । सबै गरिब छन् । खसीबाख्रा पालेर गुजारा गर्छन्,’ बस्तीका ८४ बर्षीय रामविलास यादव भन्छन् ‘अहिले खसीबाख्रा भटाभट ढलिरहेको छ । हाम्रो आयस्रोत रुपमा रहेको खसीबाख्राले तड्पिएर प्राण त्याग्दा हाम्रो मन भारी भएको छ । अब यहाँ भोकमरीको त्रास छाएको छ ।’

खोलामा दुग्ध डेरी(डिडिसी)ले फालेको दुषित पानी खाएर खसीबाख्राहरु मरिरहेको उनले सुनाए । ‘त्यो(खोलाको) पानी खायो कि म¥यो । बस्तीसँगै खोला छ । अब कुनै बेला छुट्ने बित्तिकै खसीबाख्राहरु खोलातिर दगुर्छन् । त्यहाँ पानी खाएको केही छणमै ढल्छन् । उपचार गर्न नपाउँदै तिनीहरु प्राण त्याग्छन्,’ रामविलासले टाउकोमा हात राख्दै भने ‘मेरो तीनवटा खसी र एउटा पाठी म¥यो । अघिल्लो वर्ष त खोलाको पानी खाएर दुईतिन दिनमा ब्याउने भैसी बित्यो । त्यतिबेला त छातिमा पत्थर राखेर मन बुझाएँ ।’

बस्तीकै अर्को(रामचन्द्र महरा)को घर देखाउँदै रामविलासले भने ‘उसको त १८ वटाभन्दा बढी खसीबाख्राहरु खोलाको पानी खाएर मरिसक्यो । एकछिन सोच्नुस्त उसको माथि के बित्यो होला ।’

शनिवार त्यही बस्तीकी ५० बर्षीया चन्दर देवी यादव घर अगाडी ढलेको चारमहिनाको पाठी हेर्दै टौलाईरहेकी थिइन् । के भयो पाठीलाई भन्ने जिज्ञासामा मलिन अनुहार पार्दै चन्दरले भनिन् ‘एकरा प्राण छुइट रहल है (यसले दम तोड्दै छ) । धारके जहर बला पाइन पिलेल्कै आब हम कि करु केनाके बचबियै(खोलाको विषादीयुक्त पानी खायो अब म के गर्नु, कसरी बचाउनु) ।’
त्यहीँ जम्मा भएका महिलाको हुलबाट एकस्वरमा आवाज निस्कियो– ‘अयनके नेतासुनके डेरीबला दुधदही खियबै है केना क बजौ हम सब केकरा कहु (यहाँका नेताहरुलाई डेरीबलाले दुधदही खुवाउँछ अनि कसरी बोलोस् त उनीहरु, हामी कसलाई भन्ने) ।’

नेताले गर्दा यस्तो भको हो भन्ने प्रश्नमा प्रतिप्रश्न गर्दै बस्तीका अमरेन्द्र महतोले भने ‘अनि किन नसुनेको त ? धेरैपटक नगरपालिकालाई गुहारेको छु । त्यहाँका नेताहरु हामी सुकुम्बासीलाई नागरिक नै गन्दैन । डेरीबलालाई भन्दा दिउँसो पानी बन्द गर्दिन्छ, राति फेरी खोल्दिन्छ । यहाँ न हाम्रो कुरा जनप्रतिनिधिले सुन्छ नत डेरीबलाले । जनप्रतिनिधि हामी जनताको भन्ने कति पनि लाग्दैन ।’

बस्तीमा लामखुट्टे र सर्पको बिगबिगी बढेको अमरेन्द्र सुनाउँछन् । ‘पहिला त गन्हाउँथ्यो । हामी नाकमुख थुनेरै बर्दास्त गर्थे । अब धनमाल क्षति हुन थाल्यो । अहिले जडोमा पनि सर्प घरभित्रै बस्न थाले । ज्यानै जोखिममा छ । अब त अति भयो । डेरीको पाइप थुनेर पनि ज्यान जोगाउन बाध्य हुने स्थितीमा छौं ।’

दुर्गन्धित र दुषित पानीको विषयमा गुनासो पु¥याउँदा समस्या समाधान गर्नुको साटो जनकपुर दुग्ध वितरण आयोजना ढल्केवरका प्रमुखले राजनीतिक धाक लगाएको नेपाली कांग्रेसनिकट एक स्थानीय नेताले बताए । ‘त्यो दुषित पानीको विषयलाई लिएर यहाँ(डिडिसी)का प्रमुख दिलिप सरलाई एकमहिनाअघि फोन गरेको थिएँ । उहाँले म पनि कांग्रेस निकट नेपाल दुग्ध विकास संस्थान कर्मचारी संघकै हो भनेर धाक लगाउनुभयो । समस्यालाई सल्ट्याउनु कता हो कता । राजनीतिक कुरा गरेर पन्छिन खोज्नुभयो,’ नाम उल्लेख नगर्ने शर्तमा ती स्थानीय नेताले भने ।

मिथिला नगरपालिकाका नगरप्रमुख महेन्द्र महतो जनकपुर दुग्ध वितरण आयोजना ढल्केवरको बदमासी रहेको बताउँछन् । ‘यसै विषयलाई लिएर १५ दिन अगाडी छानविन समिति पनि गठन गरेको छु । स्थानीयले मकहाँ गुनासो गर्न आएका छैनन् । मलाई जानकारीमा रहेकोले छानविन गर्न भनेको छु । त्यसमा के भयो भनेर म अहिले बुझ्दैछु,’ नगरप्रमुख महतोले भने ‘मैले डिडिसीलाई भनेको त छुइन । तर उनीहरुलाई सबै थाहा छ । यो सब तिनीहरुको बदमासी हो । अब म यसलाई सिरियसली लिन्छु ।’

जनकपुर दुग्ध वितरण आयोजना ढल्केवरका प्रमुख दिलिप चौधरी आफ्नो एकवर्षे कार्यकालमा दुषित पानीको विषयमा पहिलोपटक गुनासो आएको बताए । ‘आज तपाईबाट पहिलोपल्ट पानीको विषयमा गुनासो सुन्दैछु । यसअगाडी मलाई कसैले गुनासो गरेको थिएन । न स्थानीयहरु मकहाँ आउनुभयो नत पालीकाले जानकारी गराउनुभयो,’ उनले भने ।

तपाईकहाँ समस्या राख्दा पार्टी र संगठनको धाक लगाउनुहुन्छ भन्ने कुराहरु आको छ नि भन्ने जिज्ञासामा प्रमुख चौधरीले भने ‘तपाईले पाउनुभएको यो इन्फर्मेसन गलत हो । मलाई कसैले फोन गर्नुभएको छैन ।’ आफ्नो यहाँबाट अन्यत्र सरुवा भइसकेको आयोजना प्रमुख चौधरीले बताए । ‘मेरो सरुवा भइसकेको छ । अर्को हाकिम आउनुहुन्छ । यो सातामात्रै हो म बस्ने भनेको,’ उनले भने ‘म अब आर्थिक कारोबार गर्न पाउँदिन । तपाइ भन्नुहुन्छ भने दुईचार दिनमै तत्कालिन उपाय केही लगाएर जान्छु । अर्को हाकिम साबले यसको दीर्घकालिन उपाय खोजेर व्यवस्थापन गर्दिनुहुन्छ । उहाँसँग म कुरा गर्छु ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय