काठमाडौं— पत्रकार राजकरण महतोमाथि भएको साम्प्रदायिक सद्भाव बिथोल्ने तथा नश्लीय व्यवहारजन्य दुव्र्यवहार गर्नेलाई कानुनी दायरामा ल्याउनका लागि मधेशी आयोगले नेपाल प्रहरीलाई निर्देशन दिएका छन् ।

आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरलाई नियमित भेटघाटको क्रममा आयोगमा पत्रकार महतोमाथि भएको घटनामा ध्याकर्षण गराउँदै अध्यक्ष दत्तले मधेशी समुदायमाथि हुने यस्ता घटनामा प्रहरीलाई गम्भिर भएर कार्यसम्पदान गर्न निर्देशन दिएका थिए ।

‘मधेशी समुदायको पहिचान, रंग, भाषामाथि लक्षित गरी गाली गलौज गर्ने, नश्लीय व्यवहार गर्ने, होच्याउने, दुव्र्यवहार र कुटपीट गर्नेहरुलाई कानुनी कठघारामा उभियाउन प्रहरीले सक्रियाता देखाउनु पर्छ’, प्रहरीका महानिरीक्षक कुँवरलाई निर्देशन दिदै अध्यक्ष डा. दत्तले भने, ‘२१औं शताब्दीमा सम्प्रदायिक दुव्र्यवहार र भेदभावजस्तो घटना हुनु दुःखद् हो । यस्ता घटनाहरुमा प्रहरी गम्भीर हुनै पर्छ ।’

महानिरीक्षक कुँवरले पीडित पत्रकार महतोको घटनामा प्रहरीले उजुरी लिएर कारवाही थालेको आयोगका अध्यक्ष डा. दत्तलाई जानकारी गराएका थिए । यस्ता घटनामा प्रहरी गम्भीर र जिम्मेवार भएर काम गरिरहेको आयोगलाई जानकारी दिएका थिए ।

अन्नपूर्ण पोस्ट्का सिनियर करेस्पोन्डेन्ट राजकरण महतोलाई सडक किनारमा हिँडिरहेको अवस्थामा माघ ७ गते काठमाडौंको तीनकुनेमा एउटा बसका कर्मचारीहरूले साम्प्रदायिक सद्भाव बिथोल्ने भाषाबाट दुव्र्यवहार गर्नुका साथै कुटपिटको प्रयास गरेका थिए । बा.२ ख ४५३४ नम्बरको सुन्दरीमाई यातायात (चक्रपथ परिक्रमा) नामको गाडीका कन्डक्टर र चालकले उनलाई ‘भैया’ भनेर अभद्र व्यवहार गर्नुका साथै अश्लील गालीगलौज गरेका थिए ।

उनीहरूविरुद्ध महतोले बानेश्वर प्रहरी वृत्तमा गाली बेइज्जती तथा क्षतिपूर्तिको उजुरी दिएका थिए । तर, त्यसमा प्रहरीले हालसम्म दोषीलाई प्रक्रिन सकेको छैन । न्याय माग्दै पीडित पत्रकारले मधेशी आयोग, राष्ट्रिय मानव अधिकार आयोग, इन्सेक लगायतमा न्यायका लागि उजुरी दिएका छन् ।

सो भेटघाटमा नेपाल—भारत सिमामा देखा परेका समस्याहरुका समाधान र आगामी दिनमा आयोग र प्रहरीबीच समन्वयकारी भूमिका लगायातका समसामयिक विषयमा छलफल भएको थियो । सो भेटघाटमा प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङ्ग, प्रहरी वरिष्ठ उपरीक्षक शिशिर खनालसहितको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय