जनकपुरधाम— धनुषामा आफ्नै प्रेमिका ४२ वर्षीया एकल महिलाको बीभत्स हत्या गरी शव फालेको आरोपमा २२ वर्षीय एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका–१८ निवासी हाल जनकपुरधाममा बस्दै आएका मिस्त्रीको काम गर्ने २२ वर्षीय ओमलाल मण्डल रहेका छन् । पक्राउ परेका युवकलाई जिल्ला प्रहरी कार्यालय धनुषाले मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेकाे छ ।


आइतबार जेठ २८ गते साँझ ५ बजेको समयमा धनुषाको मिथिलाबिहारी नगरपालिका वडा नम्बर–८ तारापट्टीस्थित स्व. रामचन्द्र दासको घर पछाडि २० मिटर दक्षिण पश्चिममा अवस्थित पोखरीको छेउमा गाडिएको अवस्थामा एकल महिलाको शव बरामद भएको थियो ।

सड्न लागेको अवस्थामा मृतकको हात देखिएको र उक्त शव पोखरीको दक्षिण पूर्वपट्टी पानीको सतहभन्दा १ फिटमाथि जमिनमा ४ फिट जति गाडिएको अवस्थाबाट उत्खनन गरी सनाखत गराउँदा उक्त व्यक्ति स्व. रामचन्द्र दासकै श्रीमती ४२ वर्षीया उषा दास रहेको खुलेको थियो ।

घटनाको अनुसन्धानका लागि तत्काल मृतकका छोरा २० वर्षीय सोनु दास र बुहारी १८ वर्षीया मञ्जु दासलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दै जाँदा घटना भएको मितिमा सोनु र मञ्जु कमला नगरपालिका–३ लग्मास्थित ससुरालीमा रहेकाे खुलेकाे थियाे ।

मृतकको घरमा समय-समयमा आउने जाने र बस्ने गर्दै आएका ओमलालको संलग्नता रहेको हुन सक्ने आशंका देखिएपछि उनको सूक्ष्म रूपमा खोजतलास गर्दै जाँदा चितवनको हाकिम चोकबाट जिप्रका चितवनसँग सहकार्य गरी उनलाई पक्राउ गरिएको र अनुसन्धानका क्रममा उनी दुवै प्रेमिप्रेमिका रहेको खुल्न आएको धनुषाका प्रहरी प्रमुख एसपी विश्वराज खड्काले जानकारी दिए ।

ओमलाललाई उषाले पटकपटक विवाह गर्न दबाब दिएपछि उनले नमानेर टाढा रहन खोज्दा पनि उनलाई महिलाले नै खोजेर जबरजस्ती घरमा ल्याउने गरेको कुरा अनुसन्धानका क्रममा बयान दिएको एसपी खड्काले बताए ।

अनुसन्धानका क्रममा जेठ २५ गते बिहीबार राति ११ बजेको समयमा ओमलाल र उषाबीच विवाहकै विषयमा विवाद हुँदा ओमलालले एक थप्पड हानेपछि उषा बाहिर निस्केर भाग्न लाग्दा घाँटी थिचेर मारेको कुरा स्वीकार गरेको उनले जानकारी दिए । उषाको मृत्यु भएपछि उनको शवलाई पोखरीको छेउमा लगेर खाल्डो खनेर गाडेर, महिलाले प्रयोग गर्ने मोबाइल समेत पोखरीमै फालेर ओमलाल भागेका थिए ।

शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पतालमा राखेर अन्य थप अनुसन्धान कार्य जारी रहेको धनुषा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय