काठमाडाैं— अर्थमन्त्री जनार्दन शर्माले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने विषयमा सरकार स्पष्ट रहेको बताएका छन् ।

सर्वोच्च अदालतले सो विमानस्थल निर्माणको सम्पूर्ण प्रक्रिया रोक्न आदेश दिइसकेको छ । वीरगञ्ज उद्योग वाणिज्य सङ्घको ४६औँ साधारणसभालाई आज सम्बोधन गर्दै मन्त्री शर्माले सो धारणा सार्वजनिक गरेका हुन् ।

“निजगढ विमानस्थल बनाउनुपर्छ, बन्छ । यो मेरो (जनार्दन शर्मा)को प्रतिबद्धता भयो”, उनले भने, “यो सरकारले निजगढ विमानस्थललाई उच्च प्राथमिकतामा राखेको छ ।” उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वैकल्पिकरूपमा मात्र नभएर मधेस र मुलुकै सर्वाङ्गीण आर्थिक विकासका लागि निजगढ विमानस्थल चाहिएको बताए ।

उनले निजगढ विमानस्थल र काठमाडौँ–तराई द्रुत मार्गलाई सँगसँगै जोड्नु आवश्यक रहेको बताए । “मधेसलाई काठमाडौँसँग छोटो दुरीमा जोड्ने द्रुतमार्ग बनिरहेको छ । यसमा केबल गाडी मात्र कुदाउने होइन, सो द्रुतमार्गमा राष्ट्रिय–अन्तर्राष्ट्रिय यात्रुलाई पनि आवतजावत गराउने हो”, उनले भने । वीरगञ्ज चिनी कारखाना सञ्चालनका लागि आवश्यक प्रक्रिया अघि बढाउने पनि उनले जानकारी दिए । 

वीरगञ्ज उद्योग वाणिज्य सङ्घको कार्यक्रममा पुग्नुअघि अर्थमन्त्री शर्मा, अर्थसचिव मधुकुमार मरासिनी, राजस्व व्यवस्थापन महाशाखा प्रमुख तथा सहसचिव भुपाल बराललगायतको टोलीले शनिबार बिहान वीरगञ्ज चिनी उद्योगको निरीक्षण गरेको थियो । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय