ढल्केवर— धनुषाको मिथिला नगरपालिका वडा नं ६ का वडाअध्यक्षका प्रत्यासी उम्मेदवार सर्वनाथ महतोले आफू निर्वाचित भए नमुना ढल्केवर बनाउने बताएका छन् । उनले शिक्षा, स्वास्थ्य, कृषि, खानेपानीलगायतको क्षेत्रमा योजनावद्ध रुपमा विकास गरेर ढल्केवरको कायापलट गर्ने इच्छा रहेको बताएका हुन् ।
आफू ढल्केवरको साख फर्काउन चाहेको उनको भनाइ छ । उनले मधेस प्रदेशको राजधानी जनकपुरधामको प्रवेशद्वार रहेको ढल्केवरलाई सुन्दर र समृद्ध बनाउने आफ्नो चाहना रहेको बताए ।
नेकपा एकीकृत समाजवादी पार्टीबाट वडाअध्यक्षमा उम्मेदवारी दिएका महतोले राजनीतिक पद सत्ताको लागि नभई सेवकको रुपमा रहेको भनेर आफूले जनतालाई अनुभूती दिलाउने प्रतिबद्धता जनाए । शिक्षा, स्वास्थ्य, कृषि क्षेत्र, सार्वजानिक संघसंस्थामा सुधार तथा सार्वजानिक सम्पतीहरुको संरक्षण तथा सम्वद्र्धन गर्न पनि मुख्यत आफ्नो उम्मेदवारी रहेको महतोको भनाई छ ।
वडाअध्यक्षमा आफू निर्वाचित भए वडाको हरेक विकास निर्माणको काम वडावासीको प्रत्यक्ष सहभागीतामा गराउने उनको कथन छ । बृद्धबृद्धालाई सम्मानसहित युवा तथा व्यवसायीलाई मनोबल बढाउने किसिमका विशेष योजनाको प्याकेजहरु ल्याएर बजार प्रवद्र्धनका लागि प्राथमिक्ताका साथ काम गर्ने योजना रहेको उनले सुनाए ।
प्रादेशिक राजधानी जनकपुरधाम र पूर्वपश्चिम लोकमार्गसँगै जोडिएको ढल्केवरमा नापी, मालपोत, ईलाका प्रशासनलगायत जनतालाई प्रत्यक्ष लाभ हुने अन्य प्रशासनिक कार्यालय सञ्चालनको लागि आफूले पहलकदमी लिने उनले प्रतिबद्धता जनाए ।
भ्रष्टाचार, अनियमितता तथा ढिलासुस्तीरहित वडा बनाउन पहिलो कदम चाल्ने महतोको योजना छ । प्रहरीप्रशासनसँग समन्वय गरेर सुशासन र चुस्तदुरुस्त शान्ति सुरुक्षाको व्यवस्था गरी भयरहित वडा निर्माण गर्ने उनी बताउँछन् ।
वडाअध्यक्षमा आफू निर्वाचित भए आफूले पाउने सेवासुविधाबाट वडाभित्रका गरिब, जेहेन्दार, दलित तथा विपन्न विद्यार्थीहरुमा खर्च गरेर उच्च शिक्षा अध्ययनका लागि प्रोत्साहन गर्ने महतोले सुनाए । जिल्लाको उत्तरी भेगमा ठुलो र पुरानो बजार मानिने ढल्केवर कृषि हाटबजारलाई व्यवस्थित गरेर किसान तथा उपभोक्तालाई कृषि उपभोग्य वस्तु किनमेल गर्न सहज बनाउने उनले उल्लेख गरे ।
उनले तालुकको निकायहरुसँग समन्वय गरी ढल्केवरको सौन्दर्यकरणको विषयलाई विशेष जोड दिएर समुन्नत र समृद्ध ढल्केवर बनाउन आफूले कुनै .कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए । कलमबाटै विकासको क्रान्ति सम्भव रहेकोले आउँदो बैशाख ३० गते कलम रोजेर आफ्नो ठाउँ विकासको साक्षी बन्न महतोले सबैमा आग्रह गरे ।