काठमाडाैं— लामो समयपछि पूर्वमनसुन (प्रि मनसुन) लामै समयका लागि सक्रिय बनेको छ ।

हिउँदे मौसमपछि आक्कलझुक्कलमात्र  प्रि  मनसुनी  वर्षा  भइरहेको  थियो । शुक्रबारदेखि भने प्रि मनसुन सक्रिय बनेको हो ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका  अनुसार  अझै  तीन  दिन  प्रि  मनसुन  सक्रिय रहनेछ । मौसमविद् समीर श्रेष्ठले भने, “दिउँसोको  समयमा  केही  स्थिर  रहेर  कतै–कतै  आकाश  खुल्नेछ  ।  तर,  बिहान  साँझ  देशका  धेरै  भेगमा हल्कादेखि मध्यम वर्षाको क्रम निरन्तर रहने सम्भावना रहेको छ ।”

उहाँका अनुसार लगातार जलवाष्पयुक्त वायुको प्रवेशले प्रि मनसुन अघिल्ला समयभन्दा लम्बिएको हो  ।

भारतको  पश्चिम  बङ्गालदेखि  पूर्वी  भेग  हुँदै  उत्तरप्रदेशसम्म बलियो न्यूनचापीय रेखा बनेको छ । यो नेपालको दक्षिण भेगबाट थोरै परसम्म पर्छ । पश्चिम–दक्षिण  हुँदै  पूर्वतर्फ  सोझिनेक्रममा  मौसम  प्रणालीले  यात्रा  गरिरहेको  अनुमान  मौसमविद्हरूले  गरेका  छन् ।

जब यो रेखा नेपालको पूर्वी भेगतर्फ पूर्ण रूपमा सोझिन्छ, तब नेपालमा मनसुन भित्रने गर्छ । अ

हिलेको  मौसम  प्रणालीअनुसार  नेपालको  प्रदेश  १,  बागमती,  गण्डकी,  कर्णाली  र  तराईका  अधिकांश भू–भागमा राम्रो बदली रहेको छ ।

शुक्रबार अपराह्नदेखि  शनिबार  बिहानसम्मको  अवस्था  विश्लेषण गर्दा काठमाडौँलगायत देशका अधिकांश भू–भागमा वर्षा भएको छ । महाशाखाले सार्वजनिक गरेको साताव्यापी कृषि मौसम पूर्वानुमान विवरणअनुसार भने आउँदो साताको अन्त्यसम्मै  देशका  विभिन्न  भू–भागमा  हल्कादेखि  मध्यम  वर्षाको  क्रम  रहनेछ  ।  

साताभर  देशव्यापी  तापक्रमको अवस्थामा भने खासै परिवर्तन नआउने महाशाखाले उल्लेख गरेको छ । यो वर्षाले किसान वर्गलाई ठूलो राहत मिलेको छ ।

यतिबेला पहाडदेखि तराईसम्म मुख्य खेतीका रूपमा मकै खेती गरिन्छ । साथै,  बर्खेतरकारीको  उच्च  सिजन  हो  ।  लगाएको बेर्ना वर्षा नहुँदा सुक्न थालेका थिए । वर्षा भएपछि  खेतबारीमा  लगाएका  बीउबिजन  उम्रन  र  बढ्न सहयोग पुग्ने कृषि मौसमविद् रामेश्वर रिमालले बताए ।  केही  दिनको  वर्षात्को  निरन्तरताले  नेपालको कृषि उत्पादनलाई ठूलो टेवा दिने विश्वास उनले व्यक्त गरे।

प्रि मनसुन अघिल्लोजस्तो यो वर्ष पूरै निष्क्रिय भने रहेन । तर, औसतजति वर्षा प्रि मनसुनमा हुनुपर्ने थियो, त्यो अहिलेसम्म हुन सकेको थिएन । अहिले सक्रिय भएको प्रि मनसुनी प्रणालीले त्यो कमीमा राहत थपेको मौसमविद् सुनाउँछन्  । साथै  देशका  विभिन्न  वनक्षेत्रमा  लागेको  डढेलोको क्षति घटाउन यो वर्षाले सघाएको छ । देशभर फैलिएको प्रदूषित धुलो, धुवाँ र तुवाँलोको मात्रा घटाएर स्वच्छ वातावरण बनाउन पनि सहायक बनेको छ । गोरखापत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय