धनुषा— मधेश प्रदेशको राजधानी जनकपुरधाममा दर्जनौ निजि अस्पतालहरु छन् । ती अस्पतालहरु आधुनिक तथा सुविधाजनक उपचार गर्दै आएको दावी त गर्छन् तर पछिल्ला केही घटनाहरुले जनकपुरधामका अस्पतालहरु बिरामीका लागि सुरक्षित नरहेको देखाउँछ । यहाँ उपचार गराउन आउनेहरुलाई निजि अस्पतालहरु, औषधी पसलेहरु पाइला पाइलामा ठग्ने कुनै अवसर छुटाउँदैनन् । 

यसै क्रममा जनकपुरधामको विशिष्ट अस्पतालको रुपमा दावी गरिदै आएको काव्या अस्तालले बिरामीलाई ठगेको घटना उजगार भएको छ । धनुषाको शहीदनगर नगरपालिका १ का ३६ बर्षीय उमेश यादवलाई माघ १८ गते साँझ गाउँकै मनोज यादवको ट्याक्टरले ठक्कर दियो । ठक्करले सामान्य चोटपटक लागेका उमेशलाई ट्याक्टर धनी आफैंले तत्कालै उपचार गराउन जनकपुरधामस्थित काव्या अस्पताल पु¥याए । 

अस्पताल भर्ना हुनेवित्तिकै स्वास्थ्यकर्मीले काउन्टरमा रु ८ हजार जम्मा गर्न र जानकी सिटी स्क्यान सेन्टरमा रु ५ हजार लिएर जान भने । तर, मनोजका भाईले आफ्नो साथीकै सिटी स्क्यान भएकाले त्यहीं गराउने बताएपछि अस्पतालका स्वास्थ्यकर्मीले गराएर ल्याउन भने । 

सिटी स्क्यानको रिपोर्ट आएपछि चिकित्सकले ल्याब जाँच गराउन भने । ‘मेरो भाईलाई ल्याब संचालन गर्ने व्यक्ति पनि चिनजानकै भएकाले आफैं गराएर ल्याउँछु भन्दा अस्पतालका प्रशासकीय अधिकृत सन्तोष सिंहले त्यो बाहिर गराउन नमिल्ने बताए’ मनोज भन्छन्, ‘सिंहले रु ४ हजारमै यहीं जाँच हुन्छ भनेपछि हामी पनि त्यहीँ गराउन तयार भयौँ  ।’

ल्याब जाँचको रिपोर्ट आएपछि चिकित्सकले खासै केहि नभएको र २४ घण्टापछि घर लान सकिने बताए । ‘भोलिपल्ट बुधबार चिकित्सकले नै बिल तिरेर घर लान भने’ मनोज भन्छन्, ‘कति बिल बनेको होला भनेर सोधेपछि कर्मचारीले त्यहीं १३÷१४ हजार होला भने ।’

आफूसँग तत्कालै पैसा नभएकाले घरबाट लिएर आएपछि अस्पतालले रु २३ हजार तिर्न भनेको मनोजले बताए । ‘कसरी २३ हजार पुग्यो त ? भनेर सोध्दा सिंहले पहिला पैसा दिनुस् अनि भन्छु भने’ मनोज भन्छन्, ‘यसपछि बिल माग्दा ११ हजार २ सयको मात्रै तयार गरिएको बिल आफूलाई दिए ।’

बिल ११ हजार २ सयको मात्रै दिने अनि २३ हजार कसरी दिने ?, अनि बिल पनि प्यानबाला दिनुप¥यो भनेपछि रु २२ हजार ८ सय ५० को अर्काे बिल आफूलाई दिएको मनोजले बताए । 

मनोजलाई काव्या अस्पतालले उपलब्ध गराएको रु २२ हजार ८ सय ५० को बिलमा जथाभावी खर्च देखाएको पाइएको छ । बिलमा २ पटक एडमिसन चार्ज नै उल्लेख गरेर रु ५ सय थप रकम जोडिएको छ । 

चिकित्सक हेर्न आउँदा रु १ हजार, राति फोन मार्फत् चिकित्सक बोलाउँदा रु १५ सय जोडिएको छ । यसबाहेक ल्याब जाँचको रु ११ हजार ६ सय ५० जोडिएको छ । जबकी पहिला उपलब्ध गराइएको बिलमा यो रकम उल्लेख नै थिएन् । 

‘ ४ हजारमा ल्याब टेस्ट हुन्छ भनेपछि गराएका हौं’ मनोजले भने, ‘तर ११ हजार ६ सय ५० लिइएको रहेछ ।’

हुँदै नभएको खर्च आफू दिन नमान्दा डर, त्रास देखाएको मनोजको भनाई छ । ‘आफूलाई अस्पतालकै मान्छे बताउने दीपु यादव भन्नेले पैसा दिनुस नभए ठीक हुँदैन् भनेपछि आफू यो रकम तिरे’ मनोजले भने । 

बनाइएको प्यान बिल अनुसार पनि रकम तिर्नुपर्ने हो भने मनोजलाई रु २० हजार १ सय ५० मात्रै तिर्नुपर्ने हुन्छ । तर बिलमा जम्मा रकम २२ हजार ८ सय ५० उल्लेख गरेर रकम अस्पतालले लिएको छ । 

‘डर, त्रासका कारण तत्कालै २२ हजार रकम तिरेर बिल लिई घर गएर जोड्दा त्यत्ति रकम पुगेन’ मनोज भन्छन्, ‘यो अस्पतालले देखादेखी आफूसँग ठगी गरेको छ ।’

अस्पतालकै चिकित्सकले केहि नभएको बताउनु र अस्पतालले २२ हजारको बिल दिनु अन्याय हो’ मनोज भन्छन्, ‘झन डर देखाएर पैसा असुली गर्नेलाई के भन्ने ?’

उनले सामान्य चोट लागेका व्यक्तिलाई २२ हजार अस्पतालले लिनु र ५ हजार सिटी स्क्यान गर्न लगाएर काव्या अस्पतालले आफ्नो ढाड् सेकेको बताए । 

अस्पतालले बिरामीसँग बढी रकम नलिएको दावी गरेको छ । अस्पतालका प्रशासकीय अधिकृत सन्तोष सिंहले दुई पटक एडमिसन चार्ज उल्लेख हुनु त्रुटी भएको बताए । एक ठाउँमा बेड चार्ज रु २ हजार ५ सय उल्लेख गर्नुपर्नेमा एडमिसन चार्ज नै दोहोरिएकाले यस्तो हुन गएको बताए । 

उनले प्यान बिलमा रु २५ सय बेड चार्ज उल्लेख गर्नुपर्नेमा एडमिसन चार्ज नै उल्लेख गरेको बताएपनि पहिलो बिलमा बेड चार्ज २ दिनको रु ३२ सय उल्लेख गरिएको छ । आफूहरुले बिरामीसँग कुनै बढी रकम नलिएको दावी समेत उनले गरेका छन् ।

जनकपुरधाममा यसरी बिरामीलाई ठग्ने कुनै नौलो विषय होइन । केही दिन अगाडी मात्रै चिकित्सककै लापरवाहीले एक निजि अस्पतालमा नवजात शिशुको ज्यान गएको थियो । 

प्रसव पीडा तेज भएपछि गत माघ १३ गते नै आशिकले आफ्ना गर्भवती श्रीमति अमृता देवी साहलाई दिनको करीब १२ बजेतिर जनकपुरधामकै तराई राजधानी अस्पतालमा भर्ना गराएका थिए । अस्पतालका डाक्टर गंगा प्रसाद यादवले नर्मल डिलेभरी हुँदैन अपरेशन गर्नुपर्छ भनी अपरेशन गरिदिए ।

अपरेशनपछि ३ किलो २ सय ग्राम वजनको स्वस्थ्य बच्चा पनि जन्मियो, दिनभरि ठिक रहयो, सांझ पख बच्चाले गर्भमै फोहोर खाइसकेको छ भनी भेन्टिलेटर सहितको एनआईसीयूमा राखिदियो । बच्चाका बुवा आशिक सहितका अभिभावकले बच्चाको अवस्था राम्रो छैन भने बाहिर लग्छु पटक पटक आग्रह गर्दा चिकित्सक गंगा यादव र अस्पतालका मैनेजर विकास चौधरीले यही ठिक गरिदिन्छ भनी माघ १४ र १५ गते दिउंसोसम्म उपचार गरे ।

बच्चाको अवस्था झन बिग्रिदै गएपछि बच्चाका अभिभावकसँग कुनै छलफल वा सोधपुछ नै नगरी शनिवार दिउंसो ५ बजे अस्पताल व्यवस्थापकले आफै एम्बुलेन्स गरी आफ्ना कर्मचारी मार्फत जानकी मन्दिर पछाडि रहेको रामजानकी अस्पतालमा पठाइ दियो । रामजानकी अस्पतालमा पनि बच्चाका बुवा आशिकले यहाँ ठिक हुँदैन मेरो बच्चालाई दिनु बाहिर उपचारका लागि लग्छु पटक पटक आग्रह गर्दा पनि यहीं ठिक हुन्छ भनी जान दिएन ।

अन्ततः माघ १५, १६ र १७ गते दिउंसोसम्मको उपचार पश्चात राति ९ बजे रामजानकी अस्पतालले भन्यो, सो अस्पतालमा गलत उपचारका कारण बच्चालाई बचाउन सकेनौ । अभिभावकले बच्चा मांग्दा अस्पतालको एक लाख दस हजार रुपैया बिल तिर्नुस अनि मात्रै बच्चा लग्न दिन्छु भनेपछि विवाद उत्पन्न भएको हो ।

पिडीत आशिकले भने एक त यहाँ गलत उपचार गरेर बच्चाको अवस्था गम्भीर बनाई दियो, फेरी कमीशनको चक्करमा यहाँका चिकित्सक र व्यवस्थापकले रामजानकी अस्पतालमा पठाई दियो । हामीलाई यहाँ शुरुमै बच्चाको अवस्था गम्भीर छ भनी रेफर पुर्जी दिइ दिएको भए धरान, काठमाडौ वा भारत नै राम्रो उपचारका लागि लग्न सक्थे, तर पैसा कमाउने चक्करमा यी अस्पतालले मेरो बच्चाको ज्यान लिएको भन्दै आक्रोश व्यक्त गरे । 

माघ १८ गते बिहानैदेखि पिडीत पक्षका आफन्तहरुले अस्पतालका संचालक र उपचारमा संलग्न चिकित्सकलाई आउन पटक पटक आग्रह गर्दापनि नआएपछि तिनीहरुले अस्पताल परिसरमा हो हल्ला गरेका थिए । 

पिडीत परिवारले आफूहरुको मांग सम्बोधन नभए यो अवैध अस्पताल विरुद्ध कानूनी उपचार खोज्न प्रहरी निकाय र अदालतमा जाने चेतावनी दिएपछि घटना स्थलमा पुगेका जानकी प्रहरी चौकीका सईको नेतृत्वमा पुगेको प्रहरी टोलीले पांच घण्टाको विवादपछि उपचार खर्च मिनाहा गर्ने भन्ने दुवै पक्षलाई सहमति गराएर घटनालाई ढाकछोप गर्न सफल भएका थिए । 

यी दुई घटना प्रतिनिधिमूलक घटना मात्रै हुन् । जनकपुरधाममा यस्ता घटनाहरु निजि अस्पतालहरुमा महनेपिच्छे दोहरिरहेका हुन्छन् । तर सम्बन्धित निकाय त्यस्ता निजि अस्पतालहरुलाई कारबाही गर्नुको साटो घटनालाई ढाकछोप गर्न अग्रसर रहेको आरोप पीडित पक्षहरुको छ । 

जनकपुरधाममा उपचार गराउन आउनेहरु निजि अस्पतालहरुमा ठगिएपछि यहाँका औषधी पसलहरुमा समेत ठगिन्छन् । मापदण्ड बिनाको औषधि पसलहरुमा औषधी लिन जाने बिरामीहरुलाई ठग्न कुनै अवसर छोड्दैनन् । पटक पटक ती औषधी पसलहरुमा अनुगमन त हुन्छन् तर कारबाही गरिदैनन् । यसले मापदण्ड विपरित संचालनमा रहेका औषधी पसलहरुको मनोबल यसैले पनि उच्च हुन्छ । खोज केन्द्र

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय