ढल्केवर— जनकपुरधाममा सिताराम विवाहपञ्चमी महामहोत्सवका लागि तीव्र रुपमा तयारी भइरहेको छ।

त्रेतायुगमा मर्यादा पुरुषोत्तम भगवान् राम र जगत जननी माता जानकीबीच भएको विवाहको सम्झनास्वरुप हरेक वर्ष जनकपुरधाममा सिताराम विवाह पञ्चमीलाई महामहोत्सवको रूपमा मनाइन्छ।

यसवर्ष यही मंसिर १७ गतेदेखि २३ गतेसम्म सप्ताहव्यापी रूपमा मनाइने विवाहपञ्चमी महोत्सवका लागि मन्दिर परिसरमा सजावटको कामलाई तीव्र बनाएको हो।

महोत्सव अन्तर्गत पहिलो दिन मंसिर १७ गते जनकपुर नगरदर्शन, १८ गते फूलवारी लिला, १९ गते धनुषयज्ञ, २० गते तिलकोत्सव, २१ गते मटकोर, २२ गते स्वयम्बर र शुभ विवाहोत्सव र २३ राम कलेवासँगै विवाह पञ्चमी सम्पन्न हुनेछ।

मिथिला परम्पराअनुसार सात दिनसम्म विभिन्न विधि सम्पन्न गरी वैवाहिक कार्यक्रमको आयोजना हुने सातै दिनलाई भव्यरुपमा मनाउन तीव्र रुपमा तयारी भइरहेको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले जानकारी दिए। उनले मन्दिर परिसरमा धार्मिक कथा, प्रवचन र रामलीला सुरु भइसकेको जनाए।

पाँच–पाँच वर्षमा भारतको अयोध्याबाट भगवान रामको विशेष जन्ती आउने परम्परा छ। यसवर्ष आयोध्याबाट जन्ती नआउने उत्तराधिकारी महन्थ वैष्णवले बताए।

यस्तो छ विवाहपञ्चमीको सातदिवसीय विधि

यस वर्ष मंसिर १७ गतेबाट विवाह पञ्चमी महामहोत्सवको कार्यक्रम सुरु हुँदैछ। महोत्सवको पहिलो दिनहुने जनकपुर नगर दर्शनमा रामसीताको प्रतिमा र झाँकीलाई नगरका विभिन्न भागमा परिक्रमा गरी दर्शन गराइन्छ।

दोस्रो दिन रामले अयोध्याबाट आएपछि सीतालाई पहिलो पटक फूलबारीमा हेरेको सम्झनास्वरुप रामसीताको प्रतीकका रुपमा दुई बालबालिकालाई सजाएर विवाहमण्डप भित्र फूलबारी लीला मनाइन्छ।

तेस्रो दिन सीता स्वंम्बरमा राजा जनकको सर्तअनुसार धनुष यज्ञको आयोजना हुने गर्दछ। चोथौ दिन रामको पक्षबाट राममन्दिरका महन्थ र सीताको पक्षबाट जानकी मन्दिरका महन्थको उपस्थितिमा तीलकोत्सव मनाउने गरिन्छ।

पाँचौदिन मटकोर अर्थात विवाहको मण्डप तयार गर्न नदिबाट माटो ल्याउने विधि गरिन्छ भने छैंठो दिन बारहबिग्घा मैदानमा रामसीताको डोलालाई लाखौं जन्ती र श्रद्धालुको सहभागितामा स्वयंबर गराइन्छ।

सो स्वयंवरमा सीताको डोलाबाट रामको डोलालाई परिक्रमा गराउने परम्परा रहेको छ। सोही साँझ जानकी मन्दिरमा बनाईने भव्य मण्डपमा रामसीताको विवाह गर्ने गरिन्छ। विवाह भएपछि जन्तीलाई मिथिला भोजन गराएर नयाँ वस्त्र र कोसेली दिएर विदाई गर्ने परम्परालाई राम कलेवा भन्ने गरिन्छ। यसरी साप्ताहव्यापी रुपमा मनाई विवाहपञ्चमी महामहोत्सव विधिवत रुपमा सम्पन्न हुन्छ।

२२ उपसमिति गठन

विवाह पञ्चमी महामहोत्सव भव्य र व्यवस्थित बनाउन विभिन्न २२ वटा उपसमितिहरु गठन गरिएको छ। जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले जनाए।

यस्तै सुरक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई तथा शौचालय, गाडीहरुको व्यवस्थापन, स्वयमसेवक परिचालन तथा व्यवस्थापनलगायतका विभिन्न उपसमिति गठन गरिएको उत्तराधिकारी महन्थ वैष्णवले जानकारी दिए।

जनकपुरवासीलाई सरसफाइको चिन्ता

जनकपुरधाममा हर्षोल्लासकासाथ मनाइने विवाहपञ्चमी नजिकिंदै गर्दा स्थानीयवासी र व्यापारीलाई भने सरसफाइको चिन्ताले सताएको छ।

विवाहपञ्चमीको पूर्वसन्ध्यामा पनि सरसफाइका लागि नगरपालिका तथा जनप्रतिनिधिले चासो नदेखाएपछि स्थानीय चिन्तित बनेका हुन्। ठाउँ र जनताप्रति जनप्रतिनिधि जिम्मेवार नबन्दा यस्तो अवस्था उत्पन्न भएको स्थानीय व्यवसायी कुन्दन ठाकुरको गुनासो छ।

विवाहपञ्चमी घुम्न बाहिरबाट आगन्तुक तथा अतिथिहरु जनकपुर आउनेक्रम सुरु भइसकेको बेला फोहरकै कारण स्थानीय लज्जित हुनुपरेको ठाकुरले दुखेसो पोखे।

जानकी मन्दिर वरपर र विभिन्न चोकमा रहेको फोहर विवाहपञ्चमीको लागि मुख्य चुनौती बनेको जानकी मन्दिरका उत्तराधिकारी महन्थ वैष्णवको बुझाइ छ। उनले विवाहपञ्चमीको तयारीमा स्थानीय सरकारले आफ्नो दायित्व पुरा गर्न नसकेको औल्याए।

उत्तराधिकारी महन्थ वैष्णवले भने, ‘नगरको सरसफाई, ठाउँठाउँमा स्वागत गेट, अस्थायी शौचाल्य निर्माण जस्ता कामहरु स्थानीय सरकारको दायित्वभित्र पर्छ। तर यी कुराहरु अहिलेसम्म भइसकेको छैन। यसका लागि सम्बन्धित निकायमा पहल–प्रयासका लागि भनेका छौं। उहाँहरुले आफ्नो दायित्व बुझ्नुहुन्छ भने हामीलाई विश्वास छ।’

बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिने

विवाहपञ्चमीलाई लक्षित गरी जनकपुरभर बाक्लो संख्यामा प्रहरी परिचालन गरिने धनुषाका प्रहरी उपरिक्षक बसन्त रजौरेले जानकारी दिए। सुरक्षा निगरानीका लागि अन्यजिल्लाहरुबाट पनि जनशक्ति मगाएर जनकपुरमा परिचालन गर्ने योजना रहेको उनले सुनाए।

सुरक्षाव्यवस्था चुस्तदुरुस्त पार्न अन्य सुरक्षा निकायहरुसँग पनि समन्वय भइरहेको उनको भनाई छ। विवाहपञ्चमीको गतिविधीलाई सीसीटिभीबाट निगरानी गरिने व्यवस्था पनि मिलाइएको प्रहरी उपरिक्षक रजौरेले बताए।

साभारः अन्नपूर्ण पोस्ट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय