• रोहित महतो

जनकपुरधाम— गत जेठ २० गते बिहानैदेखि सुजिता ठाकुरको परिवारमा विवाद सुरू भएको थियो।

त्यही दिन उनी बेपत्ता भइन्। सुजिता अर्कै केटासँग लामो समयदेखि प्रेम सम्बन्धमा रहेको र उनैसँग भागेको हल्ला उनको घर पक्षले चलाएका थिए।

तर सुजिता भागेको कुरा उनको माइती पक्षलाई पत्यार लागेन। सुजिताकी आमाले जेठ २३ गते इलाका प्रहरी कार्यालय पिपरामा छोरीको खोजी गरिदिन माग गर्दै निवेदन दिइन्। प्रहरीले खोजतलास गर्‍यो तर उनी भेटिइनन्।

सुजितालाई भगाएको दाबी गरिएका युवकलाई नियन्त्रणमा लिएर प्रहरीले सोधपुछ पनि गर्‍यो। तर प्रहरीले ती युवकबाट केही सूचना फेला पार्न सकेन।

सुजिताका ससुरा पतिराम ठाकुर, देवर रूपेश, सासू लगायतले बुहारी भागेको भनेर सबैलाई यस्तो हल्ला सुनाए, विस्तारै माइती पक्ष पनि पत्याउन बाध्य भए।

घटनाको केही समयपछि साउदी बस्दै आएका सुजिताका दाइ जितेन्द्रकुमार पाण्डेयले सुजिताको फोटो फेसबुकमा राख्दै उनी भेटिए घरको नम्बरमा सम्पर्क गरी जानकारी गराइदिन आग्रह गरेका थिए।

तर पारिवारिक दबाबपछि उनले केहीबेरमै त्यो पोष्ट डिलिट गर्नुपर्‍यो।

‘बेपत्ता भएको राति ८ बजेतिर पतिरामले खेतमा ट्याक्टर लिएर गएका थिए। खेतमा उनीहरूले खाल्डो खनेका थिए। त्यही दिनदेखि मेरो बहिनी बेपत्ता छिन्,’ असार २ गते फेसबुक लाइभमा उनले भनेका थिए, ‘हामीले आफ्ना मान्छे लगाएर छानबिन गर्न गयौं। ससुरा पतिरामले मेरो बुवालाई हामीले मारेर गाडेका छौं, तपाईं जे भन्नुहुन्छ म गर्न तयार गर्छु। कानुनी प्रक्रियामा जानुहुन्छ भने म ‘दबाई’ दिन्छु भन्नु भएको थियो।’

माइती पक्ष र अधिकारकर्मीले सूचना र प्रमाण उपलब्ध गराउँदासमेत महोत्तरी प्रहरीले घटनाप्रति चासो देखाएन।

सुजिताको हत्या भएको प्रमाण र ससुराको स्वीकारोक्तिपछि माइती पक्षले जिल्ला प्रहरी कार्यालयमा असार ४ गते ससुरा पक्षविरूद्ध जाहेरी दिन गएका थिए।

तर प्रहरीले जाहेरी दर्ता गर्न मानेन। फेरि असार ६ गते अधिकारकर्मी गुन्जा राय लगायतका विभिन्न संघ-संस्थाका प्रतिनिधिसहित सुजिताको माइती पक्ष प्रहरीमा जाहेरी लिएर गएका थिए। महोत्तरीका एसपी दिनेश आचार्यले उल्टै हप्काएर पठाइदिएको अधिकारकर्मी रायले बताइन्।

‘हामीले केही अडिओ क्लिप, हत्या गरेर गाडेको भनी स्वीकार गरेको र ठाउँसमेत पत्ता लागिसकेको लगायतका प्रमाण लिएर गयौं,’ उनले भनिन्, ‘एसपीले बेपत्ता भएको मानिसको अतोपत्तो नै छैन के आधारमा जाहेरी लिनु भनेर हप्काउँदै पठाउनुभयो।’

हत्याको पर्याप्त प्रमाण हुँदाहुँदै महोत्तरीका एसपी आचार्यले सुजिताका ससुराविरूद्ध एक शब्द पनि सुन्न नचाहेपछि अधिकारकर्मीसहित सुजिताकी माइती पक्ष घटना अनुसन्धान गरी न्याय माग्न भन्दै प्रदेश प्रहरी कार्यालय हारगुहार गर्न पुगे।

त्यहाँबाट डिआइजी उमेश रञ्जितकारले डिएसपी ज्ञानकुमार महतो नेतृत्वमा घटना अनुसन्धानका लागि विशेष अनुसन्धान टोली खटाए।

यसबीचमा सञ्चारमाध्यम, महिला आयोग, मधेसी आयोग र प्रदेश सरकार लगायतका निकायबाट समेत महोत्तरी प्रहरीलाई घटना अनुसन्धानका लागि दबाब बढ्दै गयो।

त्यसपछि असार १३ गते प्रहरीले माइती पक्षले देखाएको शंकास्पद ठाउँमा उत्खनन् गर्‍यो, शव भेटिएन। उत्खनन् गरेको ठाउँमा ‍रगत लागेको माटो, कपाल, तन्ना लगायतका कपडा र करिब १२ किलो नुन फेला परेको थियो।

महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी प्रकाश विष्टका अनुसार त्यसको एक दिनअघि नै सुजिताका ससुरा पतिराम ठाकुर, रुपेश लगायतले मिलेर त्यहाँबाट शव अन्यत्रै सारिसकेका रहेछन्।

उत्खनन् भएको खेत पनि पतिरामकै हो। माइती र मानव अधिकारवादीहरूले खेतधनीलाई समेत पक्राउ गर्न प्रहरीलाई दबाब दिए। तर प्रहरीले मानेन।

‘जसको खेतमा उत्खनन् हुँदैछ उसलाई पनि पक्रेर राख्नुस् भनेर हामीले भन्यौं तर एसपीले मानेनन्। उनीहरू पनि सम्पर्कमै छन् भनिरहनुभयो। तर त्यसैबीचमा घरका सबैलाई भगाइदिए। शव लुकाउन मिलेमतो रहेकाले एसपी पनि त्यहाँ शव छैन भनी ढुक्क थिए,’ अधिकारकर्मी रायले भनिन्, ‘तर त्यहाँ केही प्रमाण भेटिहाल्यो। तै पनि त्यसलाई प्रहरीले इग्नोर गरेर हिँड्न खोज्यो। यति ठूलो घटनामा सईको कमान्डमा प्रहरी खटाएर शव उत्खनन् गर्नु रहस्यमयी होइन र?’

त्यतिसम्म प्रमाण भेटिसक्दा समेत महोत्तरी प्रहरीले जाहेरी दर्ता गर्न मानेन। ससुरा पक्षका व्यक्तिले स्थानीय कामदार लगायतका सहयोगमा खेतमा खाल्डो खनी उनको शव गाडेर त्यसमाथि धानको बिउ उमारेको अनुसन्धानमा खुलेको थियो।

एसपी आचार्यले सुजिताको हत्याको वैज्ञानिक आधार नदेखिएको तर्क गर्दै जाहेरी दर्ता नगरेको त्यतिखेर सञ्चारमाध्यमलाई बताएका थिए।

‘कसैले मर्डर गरेको छ भन्ने हो भने त्यसको प्रमाण त देखिनुपर्‍यो नि, उत्खनन् गर्दा भेटिएको चिजले सुजिताकै मर्डरसँग कनेक्सन हो भनी भन्न सक्ने अवस्था छैन। घटना भइसकेको कुरा स्थापित भइसकेपछि मात्र किटानी जाहेरी लिन मिल्ला,’ उनको भनाइ थियो।

चौतर्फी दबाबपछि असार २० गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता भयो।

‘हत्यारालाई कारबाही गर्न जाहेरी दर्ता भएन भने ४-५ दिनपछि म विष सेवन गरेर मरिहाल्छु भनेर सुजिताका बुवा कामेश्वरले रोइकराइ गरेपछि मात्र प्रहरीले दर्ता गर्न मान्यो,’ अधिकारकर्मी रायले भनिन्।

प्रदेश प्रहरीले समेत अनुसन्धानमा तीव्रता देखायो। सुजिताका देवर रुपेश ठाकुर, श्रीमान मुकेश, खेतमा शव गाड्न सघाउने लगायतका व्यक्तिहरू पक्राउ परेपछि उनको शव खेतबाट उत्खनन् गरी शौचालयको सेप्टिक ट्यांकमा गाडेको खुल्यो।

प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सुजिताको घरभन्दा करिब एक किलोमिटरको टाढा रहेको अर्को खेतमा निर्माणाधीन सेप्टिक टंयाकीभित्र शव गाडेर माथिबाट बालुवा, सिमेन्टले ढलान गरिएको अवस्थामा बरामद गरेको थियो।

पर्याप्त प्रमाण हुँदाहुँदै प्रहरीले पीडकलाई जोगाउन खोजेको अधिकारकर्मी रायको आरोप छ।

‘१५ दिनसम्म प्रहरीलाई हामीले शव उत्खनन् गर्न भनिरह्यौं तर प्रहरीले मानेनन्, शव त आखिर त्यहीँ भेटियो,’ उनले भनिन्।

महोत्तरीका एसपी आचार्यले भने अपराधी जोगाउन खोजेको भन्ने आफूमाथिको आरोप निराधार रहेको बताए। उनले यो मुद्दा अदालतमा गइसकेको भन्दै यसबारे थप कुरा खोल्न मानेनन्।

‘प्रहरीले अनुसन्धानका कहाँबाट सुरू गर्‍यो। कसले के भन्यो ती सबै प्रमाण हामीले अदालतमा पेस गरिसकेका छौं। अहिले थप कुरा भन्न जरूरी लागेन,’ उनले भने।

प्रहरीले उनलाई घटनाभन्दा दुई साता अघिको एउटा अडिओ रेकर्डका आधारमा पक्रिएको हो।

प्रहरीका अनुसार देवरले सुजिताका बुवालाई उनी एक जना केटासँग भेट्न जाने गरेको भन्दै गुनासो गर्दै फोन गरेका थिए। त्यो बेला सुजिताका बुवाले उनीहरू जहाँ भेट्न जान्छन् त्यहाँ गएर ‘खतम’ गरिदेऊ भनेको अडिओ रेकर्डमा सुनिएको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको हो।

बुवा कामेश्वरले प्रहरी कार्यालय पुगेर छोरीको हत्या गरेको भनी पतिरामले स्वीकार गरेको र घटना लुकाउन आफूलाई बारम्बार प्रलोभन र धम्की दिएको भनी प्रहरीलाई बताउँदै आए पनि प्रहरीले उनैलाई पक्रेको सुजिताका दाइ जितेन्द्रको आरोप छ।

मंगलबार महोत्तरी जिल्ला अदालतले घटनाका आरोपी सुजिताका देवर रूपेश र बुवा कामेश्वरलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।

न्यायाधीश मुकेशकुमार उपाध्यायको इजलासले प्रहरीले अनुसन्धानमा सुजिताको शव ओसारपोसार, गाड्नेदेखि लुकाउनेसम्ममा संलग्न दाबी गरेको चार जनालाई एक-एक लाख धरौटीमा छोडेको छ।

जनकपुरधाम उपमहानगरपालिका-१४ कुटीपोखरी बसहिया बस्ने ५५ वर्षीय प्रमोद मण्डल भनिने विनोद मण्डल, लोहरपट्टी-७ भ्रमरपुरा बस्ने ३७ वर्षीय बण्ठा भन्ने किशोरी मण्डल, ३३ वर्षीय मुल्ला भन्ने आदम राइन र ३२ वर्षीय नथुनी मण्डललाई एक-एक लाख धरौटीमा रिहा गरेको छ।

त्यस्तै, घटना लुकाएको अभियोग लागेकी सुजिताकी नन्द अन्जु ठाकुरलाई १० हजार धरौटीमा छोडेको छ। घटनामा संलग्न भनिएका सुजिताका ससुरा पतिराम, सासू र नन्द अझै फरार छन्।

महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी विष्टका अनुसार जेठ २० गते बिहानै करिब ८ बजे झै-झगडा हुँदा ससुरा पतिराम, देवर रुपेश लगायतका परिवारका व्यक्तिले घाँटी थिचेर मारेका थिए।

दिनभरि घरमै उनको शव लुकाएर साँझमा सुजिताका दाइ जितेन्द्रले भनेजस्तै ट्याक्टरमा लगेर खेतमा गाडेको अनुसन्धानबाट खुलेको थियो।

साभारः सेतोपाटी डटकम

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय