जनकपुरधाम— धनुषामा कुटपिट गरी एक दलित  युवकको हत्या भएको छ।

क्षीरेश्वरनाथ नगरपालिका ६ सखुवा बजार बस्ने ३५ वर्षीय चेंग्वा भन्ने ओम मल्लिक डुमको हत्या भएको हो।

आपसी विवादमा निर्घात कुटपिटबाट गम्भीर घाइते ओमको उपचारको क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा गएराति मृत्यु भएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक तिलक सुनारले जानकारी दिए।

स्थानीयका अनुसार गएको साउन १८ गते राति १० बजेको समयमा मदिरा सेवन गरेका ओमको आफ्नै छिमेकी २७ वर्षीय राकेश राय कुर्मीसँग विवाद भएको थियो। विवादको क्रममा राकेश र उनकी दिदी ३५ वर्षीया रिंकी देवी लगायत तीनजनाले चिर्पटले निर्घात कुटपिट गरेका थिए।

कुटपिटबाट पेट र टाउकोमा गम्भीर चोट लागेर गम्भीर घाइते भएका ओमको स्थानीय स्तरमा उपचार नभएपछि थप उपचारको जनकपुर र त्यसपछि धरान रेफर गरिएको थियो। त्यहाँ पनि उपचार सम्भव नहुँदा विराटनगरस्थित नोबेल अस्पतालमा रेफर गरिएको थियो।

एउटा बेग्लै विवादमा पीडक कुर्मीले सम्पूर्ण डुम समुदायलाई गाली गरेपछि त्यसो नगर्न ओमले आग्रह गरेको उनका ज्वाइँ नाता पर्ने सत्रुधन मल्लिकले बताए। त्यही क्रममा भनाभन भएपछि कुर्मी परिवारले आक्रमण गरेका थिए।ओमले त्यतिबेला मदिरा सेवन नगरेको सत्रुधनको भनाइ छ।

ओमकी श्रीमती, दुई छोरी र एक छोरा छन्। उनले सखुवा बजार सरसफाइ गरी परिवारको जोहो गर्दै आएका थिए।

ओमको मृत्यु पश्चात घटनामा संलग्न एकजनालाई पक्राउ गरेको प्रहरी निरीक्षक सुनारले जानकारी दिए।

परिवारजनले तीनजना विरुद्ध इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरमा किटानी जाहेरी दिएको छ। घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

साभारः नेपालखबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय