धनुषा— निरन्तरको वर्षासँगै कमला नदीमा आएको बाढीले धनुषाको किरतपुर क्षेत्रमा कटान हुन थालेपछि स्थानीय जनप्रतिनिधिले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको ध्यानाकर्षण गराए।

मन्त्री भुसालले जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक मधुकरप्रसाद राजभण्डारीलाई कमलाको क्षति निरीक्षण गर्न धनुषा पठाइन्। बाढी नियन्त्रणको लागि विभागको आपतकालीन कोषबाट ५० लाख निकासा गर्ने घोषणा भण्डारीले गरे।

तत्काल बाढी नियन्त्रणको काम शुरु भयो। तर फेरि पनि निरन्तरको वर्षापछि आएको बाढीले कटान नरोकिएपछि मन्त्री भुसालले बिहीबार कमलाले क्षति गरेको ठाउँको स्थलगत निरीक्षण गरेकी छन्।

मन्त्रालयका सचिव मणिराम गेलाल र विभागका महानिर्देशक राजभण्डारीसहित धनुषाको सबैला नगरको ढोलबज्जा पुगेर मन्त्री भुसालले बाढीबाट भएको क्षतिको निरीक्षण गरेकी हुन्। निरीक्षणपछि मन्त्री भुसालले पहाडमा भूक्षय हुँदा कमलाको सतह माथि उठेकाले बाढीले बढी क्षति गरेको बताइन्।

त्यसक्रममा मन्त्री भुसालले तत्काल आपत्कालीनरूपमा कटान रोक्ने गरी काम गर्न निर्देशन दिँदै दीर्घकालीन समाधानका लागि सिन्धुली, धनुषा र सिरहा जिल्लालाई समेटेर गुरुयोजना बनाउनुपर्नेमा जोड दिइन्।

विसं.२०१९ मा भारतीय सरकारको सहयोगमा बनाइएको तटबन्ध पछिल्ला वर्षमा कमला नदीले कटान गर्न थालेपछि किरतपुरका नागरिक राति निदाउन सकेका छैनन्। किरतपुरमा २०० मिटरभन्दा बढी क्षेत्र नदीले कटान गरेको छ भने त्यसकै तल पठेर्वामा १५० मिटर क्षेत्र कटान गरेको छ। ती क्षेत्रमा आपत्कालीन कोषबाट बाँस तथा फलामका खम्बा गाडेर माटोका बोराले अस्थायी तटबन्ध बनाएर कमलाको कटान रोक्ने प्रयास भइरहेको छ।

स्थानीयले सरकारले तटबन्ध मर्मतसम्भारको बजेटसमेत काटेको भन्दै मन्त्री भुसालसँग गुनासो गरेका थिए। स्थानीयको गुनासोपछि मन्त्री भुसालले प्राविधिक र वित्तीय दुवै तवरले कमलाको कटान रोक्न गुरुयोजना बनाएर काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिइन्।

क्षतिग्रस्त क्षेत्रका निरीक्षणपछि ऊर्जा सचिव गेलालले भारतको सहयोगमा बनाइएको तटबन्ध कटानबारे ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले परराष्ट्रमार्फत भारतको सबन्धित निकायलाई जानकारी गराइसकेको जानकारी दिए।

नदी कटान निरन्तर बढ्दै गए नेपालका मात्र नभएर भारतका बस्तीसमेत जोखिममा पर्नेछ। आव २०७४÷७५ सम्म कमला नदी नियन्त्रण आयोजनालाई भारतले सहयोग गर्दै आएको थियो। पछिल्लो समय आपत्कालीन कार्यका लागि बजेट नहुँदा क्षति न्यूनीकरणको कामसमेत प्रभावित हुँदै आएको छ।

आयोजनाका प्रमुख एकराज भट्टराईले कमला नदीको कटान नियन्त्रणका लागि आर्थिक स्रोत कमी भएको बताए। कटान नियन्त्रण प्रयासबारे जानकारी गराउँदै उनले सुरक्षाकर्मीले तीन दिनसम्म काम गर्दा जोखिम केही घटेको जानकारी दिए।

निरीक्षणका क्रममा प्रतिनिधिसभा सदस्य मातृकाप्रसाद यादवले बाढी नियन्त्रणको लागि आपत्कालीन कोषबाट प्राप्त ७० लाखले तत्काल नियन्त्रणको काम अघि बढाइने बताए। कमला नदीको प्रकृति अस्थिर भएकाले बाढी नियन्त्रणमा समस्या हुँदै आएको छ। रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय