एजेन्सी— भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले आगामी अक्टोबरमा सन् २०२२ को आईपीएलका लागि दुई नयाँ टिमको घोषणा गर्न लागेको भारतीय मिडियाहरूले जानकारी दिएका छन् । बीसीसीआईले यसको ब्लूप्रिन्ट तयार गरेको समाचारमा उल्लेख छ ।

नयाँ टोलीको घोषणा मेमा गर्ने योजना थियो तर कोरोनाको कारण लिग स्थगित भएपछि त्यो काम रोकिएको थियो । बोर्डले त्यति बेला आफ्नो सम्पूर्ण ध्यान आईपीएल सक्नेमा रहेको बताएको थियो । सो अवस्थामा नयाँ टोलीका लागि टेन्डर जारी गरिएन ।

तर अब बोर्डले चाँडै नै नयाँ टोलीको घोषणा गर्ने तयारी गरेको हो । नयाँ टोलीका लागि डिसेम्बरमा लिलामी हुन सक्ने बताइएको छ । जनवरीमा मिडिया राइट्सका लागि लिलामी हुनेछ ।

बोर्डका लागि टेन्डरको आधार मूल्य सबैभन्दा ठुलो चुनौती हुने छ । पछिल्लो वर्षसम्म बोर्डले नयाँ टोलीका लागि १५ सय करोड रुपैयाँ आधार मूल्य राख्ने तयारी गरेको थियो । तर, राजस्थान रोयल्सको फ्रेन्चाइजीमा भएको बदलावका कारण यसबारे बोर्डले पुनर्विचार गरिरहेको बताइएको छ । अब आधार मूल्य २ हजार करोड रुपैयाँ हुन सक्ने छ । त्यस्तै, आगामी सिजनमा ४ खेलाडीलाई रिटेन गर्न पाइने बताइएको छ ।

बोर्डले यो फैसला १९ सेप्टेम्बरदेखि १० अक्टोबरसम्म चल्ने आईपीएलको फेज टू पछि लिन सक्नेछ । कोरोना सङ्क्रमणपछि आईपीएल २९ खेलपछि स्थगित गरिएको थियो । लिगमा अझै ३१ खेल खेल्न बाँकी रहेको छ ।

बीसीसीआईले अगस्तमा नयाँ टोलीका लागि टेन्डर निकाल्न सक्ने अनुमान गरिएको छ । दुई टोली थपिएसँगै आगामी सिजन आठ टोलीको साटो १० टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

दैनिक भास्कर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय