काठमाडौं— यस वर्षको साउन महिनामा पशुपतिनाथ मन्दिर भक्तजनका लागि खुला गर्न सकिने अवस्था नदेखिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

नयाँ भेरियन्ट सहितको कोरोना महामारी तीव्र रूपमा बढ्न थालेपछि वैशाख पहिलो हप्तादेखि कोषले पशुपतिनाथ मन्दिरमा दर्शन गर्न रोक लगाएको थियो ।

वैशाख १६ गतेदेखि सरकारले कोरोनाबाट बच्न निषेधाज्ञा नै जारी गरेको थियो । असार दोस्रो हप्तादेखि अन्य क्षेत्र बिस्तारै खुल्न थाले पनि बढी भीड हुने भन्दै धार्मिक क्षेत्र खोलिएको छैन । मन्दिर क्षेत्रमा मुख्य ढोकामा ताला लगाइएको छ ।

कोषका सदस्य सचिव डा. प्रदीप ढकालले धेरै भीड बढ्ने भएकाले साउनमा पशुपतिनाथ मन्दिर खोल्न सकिने अवस्था नदेखिएको बताए । साउन भगवान् शिवको प्रिय महिना मानिन्छ ।

साउनमा देशका विभिन्न भागका साथै भारतलगायत देशबाट पनि भक्तजन पशुपतिनाथ मन्दिरमा दर्शका लागि आउने गर्छन् ।

गत वर्ष पनि साउन महिनामा कोरोनाका कारण वर्षभर मन्दिर खुल्न सकेको थिएन । गत वर्ष साउनमा भक्तजनले पशुपति क्षेत्रमा आएर बाहिरबाटै पशुपतिनाथको दर्शन गरेका थिए । बाहिरबाट दर्शन गर्नसमेत भक्तजनको भीड लागेको थियो ।

विक्रम संवत् २०७६ चैत पहिलो हप्तादेखि मंसिर मसान्तसम्म पशुपतिनाथ मन्दिर भक्तजनका लागि पूर्णरूपमा बन्द गरिएको थियो । गत पुस १ गतेदेखि बिहान ६ बजेदेखि मध्याह्नसम्म खुला गरिएको थियो । महाशिवरात्रिदेखि भने पशुपतिनाथ मन्दिर साविकअनुसार नै खोल्न थालिएको थियो । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय