एजेन्सी— इन्डियन प्रिमियर लीग (आईपीएल) का बाँकी खेलहरू संयुक्त अरब अमिरात (यूएई) मा खेलिने सहमति बनेको छ ।
सेप्टेम्बर र अक्टोबरबीचमा यी खेलहरू खेलिनेछन् ।
यसको आधिकारिक घोषणा बीसीसीआईले गरिसकेको भने छैन । तर भारतीय सञ्चारमाध्यमहरूले स्रोतको हवाला दिँदै यूएईमा पहिले पनि आईपीएल गराइएकाले त्यहीँ नै खेल आयोजना गरिने प्रबल सम्भावना रहेको खबर दिएका छन् ।
यस विषयमा अन्तिम निर्णय लिनका लागि बीसीसीआईले शनिवार बैठक गर्ने भएको छ । त्यसमा नयाँ भेन्यु र मितिको घोषणा गरिनेछ ।
इंग्ल्यान्ड र भारतबीच अगस्ट ४ देखि चारवटा टेस्ट म्याचको शृंखला शुरू हुँदैछ । दोस्रो र तेस्रो टेस्टमा नौ दिनको अन्तर छ । त्यस ग्यापलाई घटाएर चार दिनमा झार्ने हो भने आईपीएलका लागि बढी दिन उपलब्ध हुनेछ ।
इंग्ल्यान्ड क्रिकेट बोर्ड र बीसीसीआईले यस विषयमा सहमति गर्ने भएका छन् ।