काठमाडौं- नेपालमा ११ वर्षदेखि १६ वर्षबीचका बालिकामाथि सबैभन्दा बढी बलात्कार हुने गरेको पाइएको छ। नेपाल प्रहरीको तथ्यांकअनुसार साउनयता मात्रै यो उमेर समूहका २८१ जना बालिकामाथि बलात्कार भएको छ।

साउनदेखि मंसिर २५ गतेसम्म ७२० जनामाथि बलात्कार भएको छ। यीमध्ये ४४६ जना बालिका र २५५ जना महिला छन्। अर्थात् बलात्कारपीडितमध्ये ६२ प्रतिशत बालिका छन्।

नेपालमा बलात्कृत हुनेमध्ये १० वर्षमुनिका बालिकाको संख्या पनि भयावह रुपमा ठूलो छ। साउनयता मात्रै १० वर्षमुनिका ८१ बालिकामाथि बलात्कार भएको पाइएको छ।

नेपाल प्रहरीको तथ्यांकअनुसार प्रदेश नं १ मा २० र १९ लुम्बिनी प्रदेशमा १९ जना यो उमेर समूहका बालिका बलात्कृत भएका छन्। सबै प्रदेशमा यो उमेर समूहका बालिकामाथि बलात्कारका घटना भएका छन्।

त्यस्तै ११ देखि १६ वर्षसम्मका बालिका पनि प्रदेश १ मै सबैभन्दा धेरै ६० जना बलात्कृत भएका छन्।

१७ र १८ वर्षका जम्मा १०३ जना बलात्कृत भएको प्रहरीको तथ्यांक छ। १९ देखि २५ वर्षका ११९ जना, २६ देखि ३५ वर्षका ८५ जना, ३६ वर्षदेखि ४५ वर्षका २८ जना र ४६ वर्षदेखि ५९ वर्षसम्मका १४ जना महिला बलात्कृत भएका छन्।

बितेका ५ महिनामा ६० वर्षमाथिका महिलासमेत बलात्कृत भएको पाइएको छ। प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार बलात्कृत भएका ९ जना महिला ६० वर्षमाथिका छन्।

गत आर्थिक वर्षमा २ हजार १ सय ६७ जनामाथि बलात्कार भएको थियो। जसमध्ये १ हजार ३ सय ९३ जना बालिका थिए।

गत वर्ष १० वर्षभन्दा कमका २७३ जना बालिका बलात्कृत भएको प्रहरीको तथ्यांक छ। यस्तै ११ वर्षदेखि १६ वर्षसम्मका ८०१ तथा १७ र १८ वर्षका ३१९ बालिका बलात्कृत भएका थिए। १९ वर्षदेखि २५ वर्षका ३९२, २६ वर्षदेखि ३५ वर्षका २१७ जना महिला बलात्कृत भएका थिए। ३६ देखि ४५ वर्षसम्मका ८८ र ४६ देखि ५९ वर्षसम्मका ४९ जना महिला बलात्कृत भएका थिए।

गत वर्ष ६० वर्षभन्दा माथिका २५ जना वृद्धा बलात्कृत भएका थिए।

गाउँमै लुकाइन्छ बलात्कारका घटना
बलात्कारका कतिपय घटना लुकाउने गरेको पाइएको छ। धेरै घटनामा महिलाले बेइज्जतीको डरले महिलाले बाहिर ल्याउन नसक्ने र कतिपय घटना परिवार र गाउँसमाजले ढाकछोप गर्ने गरेको पाइएको हो।

गत भदौ २४ गते मोरङमा बलात्कृत युवतीको घटना पनि गाउँमै मिलाएको खुलेको छ। युवतीका परिवारलाई ५ लाख रुपैयाँ दिएर गाउँलेहरुले गुपचुप पारेका थिए।

तर, २१ वर्षीय युवतीलाई बलात्कार गरेर फरार भएका युवकलाई प्रहरीले पक्राउ गरेपछि घटना मिलाउनका लागि ५ लाख रुपैयाँ दिएको खुलेको हो।

मिलापत्र गराउने कार्यमा संलग्न ६ जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ।

यसअघि बैतडीमा पनि १८ वर्षीया किशोरी बलात्कारको घटना गाउँमै मिलापत्र गराएको खुलेको थियो।

मिलापत्र गराउने कार्यमा संलग्न वडाध्यक्ष सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको थियो। गत जेठमा बलात्कारमा परेकी किशोरीलाई १ तोला सुन दिने सर्तमा गाउँमै तमसुक गरेको खुलेको थियो।

उता सप्तरीमा सामूहिक बलात्कारमा परेकी एक युवतीले गाउँमै मिलापत्र गराउँदा प्राण त्यागिन्।

साभारः नेपालखबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय