–गोपालप्रसाद बराल
महोत्तरी- मिथिलामा दाजुभाइ दिदीबहिनीबीच प्रेम र समर्पणको प्रतीक मानिने सामाचकेवा पर्व अहिले उत्कर्षमा छ । मिथिलाका गाउँनगर बस्तीका चोक अचेल सामा चकेवाका कर्णप्रिय गीतले गुञ्जिरहेका छन् । मिथिलानी (मिथिलाका नारी) ले दाजुभाइको सौर्य वृद्घिको कामनासहित मनाउने यो लोकपर्व कात्तिक शुक्ल पञ्चमीका दिन शुरु भई पूर्णिमाका दिन समापन गरिने परम्परा छ ।
छठपर्वको खरना (कात्तिक शुक्ल पञ्चमी) का दिन शुरु भएको यो पर्व अहिले समापनको नजिक पुगेको छ । यसपाली यही मङ्सिर ४ गते शुरु गरेका यो पर्व पूर्णिमा तिथिको दिन आउने सोमबार मिथिलानीले समापन गर्नेछन् । बोलीचालीमा सामा भनिने ११ दिनसम्म मनाइने यो पर्व समापनको केही दिन बाँकी हुँदा मिथिलानी आफ्ना दाजुभाइलाई डाक्न अहिले व्यस्त छन् । पर्वको समापनमा दाजुभाइबाट सामाचकेवा खेलका माटाका आकृति घुँडामा राखेर फुटाउन लगाउने विधि र उनीहरुलाई मिष्टान्न परिकार खुवाउने परम्पराले दिदीबहिनी आफ्ना दाजुभाइलाई डाक्न अहिले व्यस्त भएका हुन् ।
“हमर भाइ अई बेर जरुर आओत, ऐखने हम वात कैलिय” (मेरा भाइ यसपाली सामा समापनमा अवश्य आउने छन्, मैले उनलाई खबर गरिसकेकी छु) सामा समापनको तयारीमा जुटेकी महोत्तरीको भङ्गाहा नगरपालिका–४ थारुटोल बनराकी आशवती चौधरी (थारु) भन्छिन् ।