सुनसरी- जिल्ला प्रहरी कार्यालय सुनसरीले छोराको हत्या गरेको आरोपमा ११ वर्षपछि बुवालाई पक्राउ गरेर सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा सुनसरी भोक्राहा नरसिंह गाउँपालिका–१ का करिम मियाँ रहेको सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले बताए । भोक्राहा नरसिंह गाउँपालिकामा विक्रम संवत् २०६६ सालमा ३ महिनाको छोराको घाँटी थिची हत्या गरेर मियाँ ११ वर्षदेखि फरार रहेका थिए ।

छोरा दिलसाह मियाँको हत्या अभियोगमा फरार रहेका ५१ वर्षीय बुनिया भन्ने करिम मियाँलाई प्रहरीले पक्राउ गरेर मंगलवार सार्वजनिक गरेको हो ।

माइतीघरमा बस्दै आएकी कान्छी पत्नी अजिरन खातुनलाई लिन विक्रम संवत् २०६६ मंसिर २२ गते ससुराली घरमा गएका मियाँले पत्नीसँग वादविवाद भएपछि छोराछोरीलाई लिई घर फर्कंदै गर्दा बाटोमा पत्नीलाई कुटपिट गरी बेहोस बनाएको र छोराछोरीलाई घाँटी थिची केराबारीमा फालिदिएपछि ३ महिनाको छोरा दिल साहको मृत्यु भएको भन्दै उजुरी परेको थियो ।

मियाँकै कान्छी पत्नी अजिरनले जिल्ला प्रहरी कार्यालय सुनसरीमा घटनाबारे उजुरी दिए पनि मियाँ भागेपछि पक्राउ परेका थिएनन् । घटनापछि नेपालका विभिन्न ठाउँमा लुकीछिपी बस्दै आएका मियाँलाई प्रहरीले कात्तिक १७ गते इनरुवाबाट पक्राउ गरेको हो । पक्राउ परेका मियाँका विषयमा थप अनुसन्धान शुरू भएको सुनसरी प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय