काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले स्रष्टा प्रेमनाथ अधिकारीको गीति एल्बमको ‘फर्किन् मेरी आमा’ को आज लोकार्पण गरेका छन् । सो गीति एल्बमको प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा विमोचन गर्दै प्रधानमन्त्री ओलीले नेपाली परम्परा र नेपाल एकीकरणका क्रममा पनि गीतका माध्यमले जनतालाई एक सूत्रमा बाँध्ने काम गर्न थालिएकामा खुशी व्यक्त गर्दै यसका पक्षमा जनतालाई निरन्तर जागरुक र सचेत गराउन आग्रह गरे ।
“सधैँ सत्यका पछि लाग्नुपर्छ । यस क्रममा एक्लै भए पनि सत्यका पछि लाग्दा अन्ततः सत्यकै विजय हुन्छ” प्रधानमन्त्री ओलीले भने, “अतिक्रमणमा परेको नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा फिर्ता भएरै छाड्नेछ ।” वर्तमान सरकारकै कार्यकालमा उक्त भूमिलाई नेपालको नक्शामा समावेश गर्ने गरी संविधान संशोधन गराइएको थियो ।