काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले पुनःनिर्मित रानीपोखरीको आज उद्घाटन गरेकी छिन्। गोर्खा भूकम्पबाट क्षतिग्रस्त ३५२ वर्ष पुरानो न्हुँपोखरी राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट तयार गरिएको हो । भूकम्प गएको वर्ष विसं २०७२ माघ २ गते राष्ट्रपति भण्डारीले रानीपोखरीबाटै नेपालका सबै क्षतिग्रस्त संरचनाको पुनःनिर्माणका लागि शिलान्यास गरेकी थिइन् ।
सो अवसरमा राष्ट्रपति भण्डारीले प्राकृतिक एवं सांस्कृतिक सम्पदाले समृद्ध प्राचीन सभ्यताको उद्गमस्थलका रूपमा रहेको काठमाडौँ उपत्यकाको संरक्षण र विकासका निम्ति यो कार्य एउटा महत्वपूर्ण कोशेढुङ्गा सावित हुनेछ विश्वास व्यक्त गरिन् ।
राष्ट्रपति भण्डारीले ‘भूकम्पबाट घरबारविहीन सबैलाई घरबासको व्यवस्थासहित पुनःस्थापना गर्नेछौँ, भूकम्पबाट क्षतविक्षत भएका हाम्रा सांस्कृतिक सम्पदालाई अझ बलियो र मौलिक स्वरूपमै पुनःर्निर्माण गर्नेछौँ’ भन्ने अठोट र प्रण पूरा हुन लागेकामा खुशी व्यक्त गर्दै बाँकी संरचना चाँडै बन्ने अपेक्षा व्यक्त गरिन् ।
कान्तिपुरका तत्कालीन राजा प्रताप मल्लले निर्माण गरेको रानीपोखरीको आफ्नै ऐतिहासिक, सांस्कृतिक र पर्यावरणीय महत्व छ । आफ्ना दिदीबहिनी नहुने दाजुभाइले भाइटीका लगाउने महत्वपूर्ण तीर्थस्थलका रूपमा यहाँ रहेको बालगोपालेश्वर मन्दिर विगतको गुम्बज शैलीबाट प्रताप मल्लकालीन ग्रन्थकूट शैलीमा पुनःनिर्माण भएको छ ।