जनकपुरधाम- कोरोना संक्रमितको संख्या निरन्तर बढेपछि जिल्ला प्रशासन कार्यालय धनुषाले निषेधाज्ञाको समयावधि पुनः एक हप्ताका लागि थपेको छ ।

आइतबार प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले जिल्लाभरी कोरोना संक्रमणको जोखिम बढ्दै गएको र समुदायस्तरमा फैलिरहेकोले निषेधाज्ञाको समयावधि भदौ २८ गते राति १२ बजेसम्मका लागि थप गरिएको बताए । यसअघि जारी गरिएको निषेधाज्ञा आइतबार राति १२ बज सकिँदै थियो ।

प्रशासनको सूचनाअनुसार खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्यास, तरकारी, फलफूल, दूधडेरी, हार्डवेयर, कपडा पसल लगायतका पसल व्यवसाय आवश्यक जनस्वास्थ्य र सुरक्षा मापदण्ड पूरा गरी दिउँसो २ बजेसम्म सञ्चालन गर्न पाइने छ । सोको अनुगमन जनकपुर उद्योग वाणिज्य संघले गरी दैनिक विवरण जिल्ला प्रशासन कार्यालय धनुषामा बुझाउनुपर्ने छ  । यस्तै अत्यावश्य बाहेकका सम्पूर्ण पसलहरु शनिबार भने पूर्णरुपमा बन्द गर्नुपर्नेछ ।

त्यस्तै होटेल तथा रेस्टुरेन्टको हकमा पीसीआर नेगेटिभ भएका व्यक्ति मार्फत होम डेलेभरी गर्न पाइने छ भने टेक अवेको सुविधा पनि दिइएको छ ।

सैलुन, ब्युटीपार्लर, हटिया, सब्जीमण्डी, जिमखाना, सिनेमा हल, पार्टीप्यालेस तथा सपिङ्ग मलहरु बन्द रहनेछन् ।

सार्वजनिक निजी सवारी साधन अर्को सूचना नभएसम्मका लागि सञ्चालन नगर्ने र मोटरसाइकल तथा सिटी रिक्साको हकमा जोर गते जोर नम्बर र विजोर गते विजोर नम्बर प्रणली अनुसार सञ्चालन गर्न पाइनेछ ।

धनुषामा आइतबारसम्ममा १ हजार ७ सय ३७ जना संक्रमित भइसकेका छन् भने एक भारतीय सहित १३ जनाको मृत्यु भएको छ ।

साभारः रातोपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय