काठमाडौं- सरकारले पाँचौं चरणको चार्टर उद्धार उडान भोलि सोमबारबाट थाल्ने भएको छ ।

कोरोना भाइरस (कोभिड–१९) का कारण विभिन्न मुलुकमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन सरकारले सोमबारदेखि १५ भदौसम्म पाँचौं चरणको चार्टर उद्धार उडान सञ्चालन गर्न लागेको हो ।

यसअघि चैतबाट रोकिएको आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान १ भदौबाट खोल्ने निर्णय भएकामा काठमाडौं उपत्यकासहित मुलुकभर कोरोना भाइरस संक्रमितको संख्या बढेपछि सरकार पूर्वनिर्णयबाट पछि हट्दै आगामी १५ भदौसम्म व्यावसायिक हवाई उडान बन्द गर्ने निर्णयमा पुगेको थियो ।

सिसिएमसी र अन्य विज्ञ सरोकारवालाको सुझावअनुरूप मन्त्रिपरिषद् बैठकले अझै आगामी १५ भदौसम्म नियमित व्यावसायिक हवाई उडान बन्द राख्ने निर्णय गरेको हो । सरकारले अबको चार्टर उद्धार उडानमा दैनिक पाँच सय जनालाई स्वदेश फर्काउने रणनीति बनाएको छ ।

चार्टर उडानका लागि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम र अर्को निजी कम्पनी हिमालय एयरलाइन्ससहित अन्य विदेशी वायुसेवा प्रयोग हुनेछन् । सरकारले पुनः थालनी गर्ने पाँचौं चरणको उद्धार उडानबाट कम्तीमा ७ हजार नेपाली स्वेदश फर्किन पाउनेछन् । नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले उद्धार उडान तालिकासमेत बनाइसकेको छ ।

युरोप र अमेरिकामा अलपत्र परेका नेपालीका लागि भने टर्किस एयरलाई अनुमति दिइएको छ । यीबाहेक कतार एयर, फ्लाई दुबई, मालिन्दो एयर, जजिरा एयरवेज, कोरियन एयर, एयर अरेबिया, इतिहाद एयरवेज र सिल्क एयरलाई पनि चार्टर उद्धार उडान अनुमति दिइएको मन्त्रालयले जनाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता कमलप्रसाद भट्टराईले अनुमति पाएका सबै वायुसेवाले अलपत्र नेपालीलाई स्वदेश फर्काउन गन्तव्य मुलुकबाट उद्धार उडान भर्ने बताए ।

अनुमति दिइएका गन्तव्यमा दुबईका लागि ८ वटा उडान, दोहाका लागि ७, क्वालालम्पुर ६, दमाम र आबुधाबी पाँच÷पाँच, कुबेत ३, रियाद र सारजाहा दुई-दुई र जेद्दा, जापान, कोरिया र अस्ट्रेलिया एक-एक गरी ४३ वटा उडान रहेका छन् ।
सरकारले यसअघि ३ सय २३ वटा चार्टर उद्धार उडानबाट ५० हजार ६ सय ६२ जना नेपालीलाई स्वदेश फर्काइसकेको छ । अझै लाखौं नेपाली फर्किने प्रतीक्षामा रहेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको तथ्यांकअनुसार गत ११ चैतदेखि ६ साउनसम्मको लकडाउनकै बीचमा १५ हजार ६ सय जना बाहिरिएका थिए ।

त्यति मात्र नभएर लकडाउनकै अवधिमा आन्तरिकतर्फ ७ हजार ६९ वटा उडान भएका थिए । सो अवधिमा ९ हजार ३६ जनाले काठमाडौंबाट विभिन्न गन्तव्यमा यात्रा गरेका थिए । सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय व्यावसायिक उडान बन्द गर्दा गर्दै पनि अहिलेसम्म विभिन्न माध्यम प्रयोग गरी ठूलो संख्यामा नेपालीहरू स्वदेश फर्किएका छन् भने त्यही आधारमा विदेश पनि गएका छन् ।

यस्तो छ नियम
चार्टर उद्धार उडानको टिकट बिक्री तोकिएका वायुसेवाले मात्रै गर्नु पर्नेछ । यसैगरी, स्वदेश फर्किन चाहने अलपत्र नेपालीले उड्नुभन्दा अघि पिसिआर परीक्षण गराएको प्रमाणपत्र बुझाउनुपर्ने हुन्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइसकेपछि भने उनीहरूले अनिवार्य रूपमा नेपाल सरकारले निर्धारण गरेको सम्पूर्ण स्वास्थ्य प्रोटोकल पालना गर्नु पर्नेछ । मधुजंग पाण्डे/राजधानी डेली

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय